फर्स्ट माइक्रोफाइनान्सको नाफामा सामान्य सुधार, जगेडा कोषमा १०२ प्रतिशतले बढ्यो रकम
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा १४ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको तुनलामा १.२९ प्रतिशतले बढी हो । संस्थाले अघिल्लो वर्षको सो अवधिमा १३ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी १८.१० प्रतिशतले बढेर २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कूल सञ्चालन आम्दानी १४.३० प्रतिशतले बढेर २९ करोड ३८ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ३.२९ प्रतिशतले बढेर २२ करोड ५१ लाख रुपैयाँ पुगेको छ । गत असार मसान्तसम्ममा लघुवित्तको वार्षिक प्रतिसेयर आम्दानी १६.१४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३१.९५ रुपैयाँ र पीई रेसियो ५०.९९ रहेको छ । हाल ८७ करोड ६८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २८ करोड १ लाख रुपैयाँ सञ्चित रहेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १०२.५२ प्रतिशतले बढी हो । त्यस्तै, गत असार मसान्तसम्म संस्थाले ८ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी ८ अर्ब ६० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा क्रमशः ४८.०२ र ६४.४० प्रतिशतले बढी हो ।
पुँजीगत लाभकर गणना गर्न मेरो सेयरमा थपियो नयाँ सुविधा, आजैदेखि सञ्चालनमा ल्याइने
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग (सिडिएससी)ले सञ्चालनमा ल्याएको मेरो सेयर प्रणालीमा धितोपत्रको स्वामित्व (अर्थात सेयर होल्ड गरेको) अवधि गणना गर्ने सुविधा थपिएको छ । आजदेखि पुँजीगत लाभकरमा नयाँ व्यवस्था लागू भएसँगै सिडिएससीले सोको गणनाको गर्नको लागि उक्त सुविधा थप गरेको हो । उक्त सुविधा आज(साउन ३ गते) बेलुका ७ बजेदेखि सञ्चालनमा ल्याइने भएको छ । यससँगै, मेरो सेयरको मोवाईल एप प्रयोग गर्ने लगानीकर्ताले प्लेस्टोर मार्फत मेरो सेयर एप अपडेट गरि उक्त सेवा प्रयोग गर्न सिडिएसले आग्रह गरेको छ । साथै, यो सम्बन्धी थप जानकारी लिन परेमा लगानीकर्ताले सिडिएसको वेवसाइट तथा आफ्नो राफसाफ सदस्यलाई वा सिडिएसमा सम्पर्क गर्न सक्नेछन् । सरकारले नयाँ आर्थिक वर्षदेखि पुँजीगत लाभकर न्युनतम ५ प्रतिशत र अधिकतम ७.५० प्रतिशत लागू गर्ने व्यवस्था गरेसँगै आजदेखिको कारोबारमा उक्त व्यवस्था लागू हुने भएको छ । यो व्यवस्थासँगै अल्पकालीन लगानीकर्ता (अर्थात ३६५ दिनसम्म सेयर होल्ड गर्ने) ले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने छ । र, त्यो भन्दा बढी अवधि होल्ड गर्ने दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत नै लाभकार तिर्नुपर्ने छ । यसअघि दुबै किसिमका लगानीकर्तालाई एउटै अर्थात ५ प्रतिशत मात्रै पुँजीगत लाभकर लाग्दै आएको थियो । ‘२०७८ साउन १ गतेदेखि हुने सम्पूर्ण कारोबारहरूमा विक्रीकर्ता बासिन्दा प्राकृतिक व्यक्तिले धितोपत्रको विक्री कारोबारमा लाग्ने पुँजीगत लाभकर गणना गर्नका लागि आफ्नो स्वामित्वमा रहेको कुल धितोपत्रको लागतको भारित औसत गणना गरि सो विवरण प्रदान गर्ने विद्यमान व्यवस्थालाई परिमार्जन गरि धितोपत्रको लागतको भारित औसतका साथै आफ्नो हितग्राही खातामा मौज्दात रहेको समयावधि समेत गणना गरि विक्री गरेको धितोपत्र मध्ये ३६५ दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको धितोपत्र र सो भन्दा कम अवधि स्वामित्वमा रहेको धितोपत्रको संख्या समेत खुलाई प्रदान गर्नुपर्ने व्यवस्था गरिएकोले सम्पूर्ण लगानीकर्ताहरूलाई सोही अनुसार गर्नुहुन अनुरोध गरिन्छ,’ सिडिएससीकाे विज्ञप्तिमा उल्लेख छ ।
आजदेखिको सेयर कारोबारमा तीन नयाँ नियम लागू हुने
काठमाडौं । नयाँ आर्थिक वर्ष २०७८/७९ शुरु भएसँगै दोश्रो बजारमा आज पहिलो कारोबार हुँदै छ । जहाँ आज (साउन ३ गते) देखि नै विभिन्न तीन नयाँ नियम लागू हुने भएको छ । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले आजदेखि तीन नयाँ नियम कार्यान्वयनमा ल्याउन लागेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्ड तथा सरकारले गरेको व्यवस्थालाई कार्यान्वयन गर्दै नेप्सेले आजदेखिको सेयर कारोबारमा नयाँ व्यवस्था लागू गर्ने भएको हो । जसमध्ये आजैदेखि प्रिओपन सेसनको कारोबार सीमा घटेर लागू हुने भएको छ । नियामक निकायले नियमित कारोबार हुनुभन्दा अघि (अर्थात प्रिओपन सेसन)को कारोबार सीमा घटाएर २ प्रतिशतमा झारेसँगै नेप्सेले आजदेखि कार्यान्वयनमा ल्याउन लागेको हो । यससँगै उक्त समयमा कारोबार गर्ने लगानीकर्ताले अधिकतम २ प्रतिशत मात्रै घटबढ भएर धितोपत्र किनबेच गर्न पाउने छन् । यसअघि उक्त सीमा अधिकतम ५ प्रतिशत रहेको थियो । यो नयाँ व्यवस्था कार्यान्वयन पश्चात सेयर मूल्यमा भइरहेको अस्वभाविक उतारचढाव न्युनिकरण भई प्रिओपनको कारोबार थप व्यवस्थित हुने बोर्डले जनाएको छ । अर्को, बजारमा कारोबार हुँदाको मूल्य परिवर्तन सीमा पनि घटेर आजैदेखि लागू हुँदै छ । न्युनतम मूल्य परिवर्तन एक रुपैयाँ रहेको उक्त सीमा घटेर १० पैसामा झरेको छ । यससँगै लगानीकर्ताले कुनैपनि धितोपत्र किनबेचमा न्युनतम एक रूपैयाँको मोलमोलाई न्युनतम १० पैसामा गर्न पाउने भएका छन् । न्युनतम मूल्य परिवर्तन सीमा १० पैसाँ हुँदा लगानीकर्ताले प्रतिस्पर्धी मूल्य प्राप्त गर्न सक्ने बोर्डले जनाएको छ । त्यसैगरी, पुँजीगत लाभकरमा पनि नयाँ व्यवस्था लागू भएको छ । सरकारले नयाँ आर्थिक वर्षदेखि पुँजीगत लाभकर न्युनतम ५ प्रतिशत र अधिकतम ७.५० प्रतिशत लागू गर्ने व्यवस्था गरेसँगै आजदेखिको कारोबारमा उक्त व्यवस्था लागू हुने भएको छ । यो व्यवस्थासँगै, अल्पकालीन लगानीकर्ता (अर्थात ३६५ दिनसम्म सेयर होल्ड गर्ने) ले ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने छ । र, त्यो भन्दा बढी अवधि होल्ड गर्ने दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत नै लाभकार तिर्नुपर्ने छ । यसअघि दुबै किसिमका लगानीकर्तालाई एउटै अर्थात ५ प्रतिशत मात्रै पुँजीगत लाभकर लाग्दै आएको थियो ।