बचतकर्ताको करोडौं रकम हिनामिना गर्ने देउराली सहकारीका अध्यक्ष पक्राउ, सीआईबीले अनुसन्धान गर्दै

काठमाडौं । देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाई पक्राउ परेका छन् । बचतकर्ताको करोडौं रकम हिनामिना गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो । काभ्रेका ३९ वर्षीय चौलागाईं असोज १६ गते (मंगलबार) नै पक्राउ परेका हुन् । सीआईबीका अनुसार चौलागाईंमाथि सहकारीको ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिना गरेको आरोप छ । यो विषयमा सीआईबीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी गराएको छ । साथै, उक्त सहकारीबाट पीडित निक्षेपकर्ताहरुले तत्काल ब्यूरोमा सम्पर्क गर्न समेत सीआईबीले अनुरोध गरेको छ ।

बहुउद्देश्यीय सहकारी संघ रुपन्देहीको अध्यक्षमा डुम्रे

काठमाडौं । बहुउद्देश्यीय सहकारी संघ लिमिटेड रुपन्देहीको अध्यक्षमा रमणी डुम्रे चयन भएका छन् । संघको प्रारम्भिक साधारण सभाले डुम्रेलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । सहकारीको सञ्चालक समितिको उपाध्यक्षमा मोतीलाल ढकाल, सचिवमा यादव कोइराला, कोशाध्यक्षमा कमला थापा र सदस्यहरुमा महेन्द्रराज शर्मा अर्याल, गुनमाया थापा र जगन्नाथ न्यौपाने चयन भएका छन् । त्यस्तै, सहकारीको लेखा समितिमा शंकर भण्डारी, प्रकाश खनाल र जितेन्द्र यादव चयन भएका छन् । प्रारम्भिक साधारण सभामा राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष तथा संविधान सभा सदस्य ओमदेवी मल्लले सहकारी क्षेत्रमा समस्या आउनुमा सिद्धान्त, मूल्य र मान्यता नबुझ्नु भएको बताउँदै सहकारीको अभियानले सरकारलाई बुझाउन नसकेको बताइन् । त्यस्तै, सभामा बोल्दै लुम्बिनी प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष गोविन्द केसीले युवाहरुको विदेश पलायन नरोक्ने हो भने मुलुकको भविष्य संकटमा पर्ने विचार व्यक्त गरेका थिए । राष्ट्रिय सहकारी विकास बोर्डका कार्यकारी सञ्चालक सन्दीप सापकोटाले बैंकर र मिटर ब्याजीको प्रवेशले सहकारीमा समस्या आएको बताएका थिए । सहकारीका अध्यक्ष तथा कार्यक्रमका सभापति रमणी डुम्रेले सहकारीको गठनले रुपन्देहीमा सहकारी अभियान नयाँ उचाईमा पुग्ने बताए ।

मल्टीपर्पस फाइनान्सले डेढ लाख कित्ता सेयर बिक्री गर्दै, मूल्य १०० रूपैयाँ मात्र

काठमाडौं । मल्टीपर्पस फाइनान्सले असोज २९ गतेदेखि अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १ लाख ४२ हजार ७७३ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने भएको हो । कम्पनीले गत साउन भदौ १० गतेदेखि भदौ ३१ गतेसम्म चुक्ता पूँजी ४५ करोड २० लाख रुपैयाँको ३५ प्रतिशत अर्थात् १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । जसमध्ये बिक्री नभएको संस्थापक समूह तर्फको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूह तर्फको ६० हजार ६५० कित्ता गरी कूल १ लाख ४२ हजार ७७३ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने कम्पनीले जनाएको छ । कम्पनीको सो सेयरमा इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले कात्तिक १३ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल मार्केट रहेको छ । लगानीकर्ताले मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।