बेष्ट फाइनान्स नेपाल पे कार्डमा आवद्ध, एनसीएचएलसँग प्रिन्सिपल मेम्बरसिप सम्झौता

काठमाडौं । बेष्ट फाइनान्स लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस एनसीएस तथा नेपाल पे कार्ड को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा बेष्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बीएन घर्ती र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । नेपालकै पहिलो डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्डको पूर्वाधार तयार भएसँगै, एनसीएचएलले बैंक तथा वित्तीय संस्थाहरुलाई उक्त प्रणालीमा आवद्ध हुन आग्रह गरेको थियो । सोही अनुरूप बेष्ट फाइनान्सले नेपाल पे कार्ड इस्यु र अक्वायर गर्ने प्रक्रियामा अग्रसरता देखाएको हो । नेपाल पे कार्ड पूर्वाधारको व्यावसायिक सञ्चालन (कमर्सियल रोलआउट) पश्चात बेष्ट फाइनान्सले आफ्ना ग्राहकहरूलाई नेपाल पे कार्ड सेवा प्रदान गर्न सक्नेछ । एनपीएस एनसीएस प्रणालीले विभिन्न कार्ड स्विचहरूबीच अन्तरसंयोजन सुनिश्चित गर्दै, डोमेस्टिक कार्ड कारोबारको राउटिङ र सेटलमेन्टका लागि एकीकृत कार्ड स्विचको रूपमा काम गर्नेछ । यसको कार्यान्वयन पश्चात कार्ड कारोबार लागत घटाउने, डाटा स्थानीयकरण सुनिश्चित गर्ने तथा डिजिटल इकोसिस्टममा नवीनतम प्रविधिको विकास र प्रवर्द्धन हुने विश्वास लिइएको छ । बेष्ट फाइनान्सको यस कदमले डिजिटल कारोबारलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।

कान्तिपुर फर्मास्यूटिकल्सको आईपीओ आउँदै, एलिट क्यापिटलसँग सहकार्य

काठमाडौं । आईपीओ निष्कासनको पाइपलाईनमा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको सेयर अण्डरराईटिग (धितोपत्र प्रत्याभूति)का लागि एलिट क्यापिटल लिमिटेडले जिम्मेवारी लिएको छ । मंगलबार एलिट क्यापिटल र कान्तिपुर फर्मास्यूटिकल्सबिच यस सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको हो ।  एलिटले कान्तिपुरको १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता साधारण सेयरको प्रत्याभूति गरेको हो । यससम्बन्धि सम्झौतामा मंगलबार कान्तिपुर फर्मास्यूटिकल्सका प्रबन्ध सञ्चालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरे । कान्तिपुर फर्मास्यूटिकल्सले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । यसको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । ६३ करोड चुक्तापूँजी भएको सो कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १७ लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया शुरु गरेको छ ।  

स्ट्यान्डर्ड चार्टर्ड बैंकले पायो लगातार छैटौं पटक ‘ट्रिपल ए’ रेटिङ

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले लगातार छैटौं पटक ‘ट्रिपल ए’ रेटिङ प्राप्त गरेको छ । आइसीआरए नेपालले बैंकको दीर्घकालीन वित्तीय दायित्व पूरा गर्ने क्षमतालाई अत्यन्त सुरक्षित ठहर गर्दै यस वर्ष पनि ‘ट्रिपल ए’  रेटिङ प्रदान गरेको हो । ‘ट्रिपल ए’  रेटिङ प्राप्त गर्नुलाई सबैभन्दा कम क्रेडिट जोखिम भएका अत्यधिक विश्वसनीय वित्तीय संस्थाको सूचक मानिन्छ । आइसीआरए नेपालले दिएको मूल्याङ्कन विवरणमा बैंकको पूँजी सुदृढता, परिसम्पत्ति गुणस्तर, जोखिम व्यवस्थापन अभ्यास र बजार प्रतिस्पर्धात्मकतालाई उच्च प्रशंसा गरिएको छ ।  २०८२ सालको मध्य अप्रिलसम्म बैंकको पूँजी जोखिम भारित सम्पत्तिको अनुपात १७.४४ प्रतिशत र टियर-१ पूँजी १५.१५ प्रतिशत रहेको छ, जुन नियामक निकाय नेपाल राष्ट्र बैंकद्वारा तोकिएको ११ प्रतिशत र ८.५ प्रतिशतको न्यूनतम सीमाभन्दा धेरै उच्च हो । बैंकको कुल खराब कर्जा अनुपात १.४४ प्रतिशत मात्र रहेको छ । बैंकको कडाइका साथ पालना गरिने कर्जा प्रवाह मापदण्ड, सशक्त जोखिम व्यवस्थापन प्रणाली र प्रतिस्पर्धी कर्जा दर प्रस्ताव गर्ने क्षमताले बैंकको सम्पत्ति गुणस्तर सुदृढ राख्न मद्दत पुर्यारएको आइसीआरएले जनाएको छ । बैंकको १९८७ देखि निरन्तर सञ्चालन हुँदै आएको लामो अनुभव, करिब ७० प्रतिशत स्वामित्व रहेको अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड चार्टर्ड समूहको मातृसहयोग, र उच्च अनुपातमा कम लागतको निक्षेप संकलन गर्न सक्ने क्षमताका कारण पनि बैंकले उद्योगमै सबैभन्दा कम कोष लागत कायम राख्न सफल भएको उल्लेख छ। बैंकको सीईओ तथा हेड अफ कभरेज गोरख राणाले भने, 'हामीले छैटौं पटक ‘ट्रिपल ए’   रेटिङ प्राप्त गर्नु भनेको हाम्रो स्थायित्व, उत्कृष्ट सेवा र सरोकारवालाप्रति समर्पणको स्पष्ट प्रमाण हो ।'