सांग्रिला डेभलपमेन्ट बैंकले मुस्ताङको स्वास्थ्य केन्द्रलाई दियो अक्सिजन कन्सेन्ट्रेटर
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङ गाउँमा रहेको स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेको छ । जोमसोम शाखाका प्रबन्धक टासी थकालीले स्वास्थ्य केन्द्रकी अनमी आशमाया परियार तथा वडा सदस्य वीरप्रसाद थकालीलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै शाखा प्रबन्धक थकालीले सांग्रिला बैंकले हरेक वर्ष विभिन्न संघ–संस्थामा स्वास्थ्य तथा शैक्षिक सामग्री र छात्रवृत्ति वितरण गर्दै आएको र यो क्रम भविष्यमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे । अनमी परियारले अक्सिजन कन्सेन्ट्रेटर विशेषगरी दम र निमोनिया जस्ता श्वासप्रश्वाससम्बन्धी समस्याका बिरामीको उपचारमा महत्वपूर्ण सहयोग पुग्ने बताउँदै बैंकलाई धन्यवाद दिइन् । त्यसैगरी वडा सदस्य थकालीले स्याङ स्वास्थ्य केन्द्रको आवश्यकता पहिचान गरी स्वास्थ्य सामग्री प्रदान गरेर सांग्रिला बैंकले नागरिकको स्वास्थ्य सेवामा उल्लेखनीय योगदान गरेको बताए । हाल सांग्रिला डेभलपमेन्ट बैंकले १०९ शाखा र ३० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र उत्कृष्ट आन्तरिक प्रणालीलाई पालना गर्दै आएको बैंकले आगामी दिनमा समुदाय–मैत्री सेवाहरू विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।
नागरिक लगानी कोष र हिमालयन बैंकबीच सेयर प्रत्याभूति सम्झौता
काठमाडौं । नागरिक लगानी कोषले हिमालयन बैंकको थप सार्वजनिक निष्कासन (एफपिओ) को प्रत्याभूति गर्ने भएको छ । सो सम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले हस्ताक्षर गरेका हुन् । सम्झौतासँगै बैंकले जारी गर्ने ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ सेयरको प्रत्याभूति कोषले गर्ने भएको छ । सम्झौता भएको मितिबाट तीन महिनासम्म अवधि कायम रहने छ ।
मन्जुश्री फाइनान्सले सुरु गर्यो ‘इन्स्टा फन्ड ट्रान्सफर’ सेवा, अब अन्तरबैंक रकमान्तर निःशुल्क
काठमाडौं । मन्जुश्री फाइनान्सले डिजिटल सेवामा नवीनतम सुधार गर्दै ‘इन्स्टा फन्ड ट्रान्सफर’ मार्फत निःशुल्क अन्तरबैंक रकमान्तर सेवा सुरु गरेको छ । ग्राहकको डिजिटल बैंकिङ अनुभवलाई सहज, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यसहित ल्याइएको यो सुविधा मन्जुश्री स्मार्ट मोबाइल बैंकिङ एप अन्तर्गत उपलब्ध हुनेछ । यसमार्फत एनपीएसमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्थामा सजिलै रकम ट्रान्सफर गर्न सकिने कम्पनीले जनाएको छ । मन्जुश्री फाइनान्सले ग्राहकको विश्वास र सन्तुष्टिलाई प्राथमिकता दिँदै निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ कर्जासुविधा प्रदान गर्दै आएको छ । हालसम्म २७ शाखा र १ बिस्तारित काउन्टरमार्फत सेवा दिइरहेको मन्जुश्रीले १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरूको सेवा गरिरहेको छ ।