ग्लोबल आइएमई क्यापिटलको सीईओमा मन्दिप लुइटेल नियुक्त
काठमाडौं । ग्लोबल आइएमई क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मन्दिप लुइटेल नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकको मर्चेन्ट बैंकिङ्ग व्यवसाय गर्ने सहायक कम्पनी (मर्चेन्ट बैंकर) उक्त क्यापिटलमा लुइटेल करार सेवामा सीईओमा नियुक्त भएका हुन् । पुस २९ गते बसेको कम्पनीको सञ्चालक समितिले माघ १ गतेदेखि लागू हुने गरी लुइटेललाई आगामी ४ वर्षको लागि उक्त पदमा नियुक्त गरेको हो । राजविराज, सप्तरी निवासी निज लुइटेल यसअघि सानीमा क्यापिटलमा इन्भेष्टमेन्ट बैंकिङ्गको प्रमुखको रुपमा दोस्रो वरियतामा रही विगत साढे ६ वर्षदेखि कार्यरत थिए । भारतको पुनेबाट एमबीए गरेका लुइटेलले काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङ्गमा स्नातकोत्तर तहको योग्यता पनि हासिल गरेका छन् । भारतको मुम्बईस्थित आइसीआइसी बैंकमा करिब डेढ वर्ष क्यापिटल मार्केट/स्ट्रक्चर्ड फाइनान्स ग्रुपमा म्यानेजर भई काम गरेका निज लुइटेलले नेपालका पुँजी बजारको बारेमा विशेष दखल राख्छन् ।
अधिकांश लघुवित्तले डाकेनन् साधारण सभा, दर्जन बढी कम्पनीले देखाए समस्या
काठमाडौं । चालु आर्थिक वर्षमा अघिकांश सूचीकृत कम्पनीहरुले समयमा वार्षिक साधारण सभा गर्न सकेनन् । लेखापरीक्षण तथा वित्तीय विवरण स्वीकृतिमा ढिलाई, मर्जर लगायत विभिन्न कारणले गर्दा कम्पनीहरुले आर्थिक वर्ष २०७९/८० को साधारण सभा पुस मसान्तसम्म गर्न असफल भएका हुन् । समयमा सभा गर्न नसकेका कम्पनीहरुमध्ये १८ वटा कम्पनीहरुले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मार्फत सभा गर्न नसक्नुको कारण पनि खुलाएका छन् । जसमध्ये अधिकांशले लेखापरीक्षणको काममा ढिलाई भएकोले सभा बोलाउन ढिला भएको जानकारी गराएका छन् । नेप्सेमा जानकारी गराएका कम्पनीहरुमध्ये अधिकांश लघुवित्त संस्थाहरु रहेका छन् भने त्यसपछि हाइड्रोपावर कम्पनीहरु रहेका छन् । सभा गर्न नसक्नुको कारण खुलाउँदै उनीहरुले सभाको समयावधि बढाउनसमेत माग गरेका छन् । कम्पनीहरुले कम्तीमा पनि तीन महिनाको समय थप्न कम्पनी रजिष्टार कार्यालयलाई आग्रह गरेका छन् । पुस मसान्तसम्म सभा गर्न नसकेको स्वाभिमान लघुवित्त वित्तीय संस्थाले पनि आर्थिक वर्ष २०७९/८० को वार्षिक साधारण सभाको म्याद थपेको छ । संस्थाले उक्त वर्षको वित्तीय विवरण लेखापरीक्षण गर्ने कार्य सम्पन्न भई नेपाल राष्ट्र बैंक समक्ष पुर्व स्वीकृति तथा सहमतिको लागि प्रकृयामा रहेको भन्दै सभाको म्याद आगामी अर्थात २०८० चैत मसान्तसम्म सम्पन्न गर्ने जानकारी गराएको छ । आइएमई लाइफ इन्स्योरेन्सले पनि चालु आवको वार्षिक साधारण सभा पुस मसान्तभित्रमा गर्न नसकेको जानकारी गराएको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक वित्तीय विवरणको लेखापरीक्षण गर्ने कार्य बाह्य लेखापरिक्षकबाट सम्पन्न भई अन्तिम स्वीकृतिका लागि नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने काम भइरहेकोले तोकिएको समयमा सभा गर्न नसकेको जानकारी गराएको छ । साथै, उक्त विवरण प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीले सक्दो छिटो गर्ने समेत बताएको छ । पुस मसान्तसम्म सभा गर्न नसकेको एक्सेल डेभलपमेन्ट बैंकले पनि आगामी चैतसम्ममा गर्ने बताएको छ । गत आर्थिक वर्षको वित्तीय विवरणहरु राष्ट्र बैंकमा स्वीकृत प्रकृयामा रहेको भन्दै बैंकले सो जानकारी गराएको हो । सिन्धु विकास बैंकले पनि गत आवको वार्षिक वित्तीय विवरणको बाह्य लेखापरिक्षण गर्ने काम बाँकी भएकाले आगामी चैतसम्ममा सभा गर्ने निर्णय गरेको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले पनि वार्षिक साधारण सभाको लागि तीन महिना अर्थात चैत मसान्तसम्म समय थप्न कम्पनी रजिष्ट्रार कार्यालयसँग आग्रह गरेको छ । त्यस्तै, आशा लघुवित्त वित्तीय संस्था, एनएमबि लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाले पनि गत आवको साधारण सभा चैतसम्म सम्पन्न गर्ने जानकारी गराएका छन् । वित्तीय विवरणहरु स्वीकृतिको प्रक्रियामा रहेको भन्दै यी संस्थाहरुले साधारण सभाको समय थप्न आग्रह गरेका हुन् । यता धौलागिरी लघुवित्त वित्तीय संस्था र मल्टीपर्पस फाइनान्सले भने वार्षिक प्रतिवेदनसहितको विवरण पेश गर्न ढिलोमा चैत मसान्तसम्मको समयाअवधि थप आग्रह गरेको छ । मनकामना स्मार्ट लघुवित्तले पनि चैतसम्मको म्याद थप्न आग्रह गरेको छ । समता घरेलु लघुवित्त वित्तीय संस्थासँग गाभिने प्रकृयामा रहेका कारण सभा बोलाउन ढिलो भएको भन्दै संस्थाले तीन महिनासम्मको समयावधि थप्न आग्रह गरेको हो । पुससम्म सभा गर्न नसकेको पिपुल्स हाइड्रोपावर कम्पनीले पनि म्याद थप्न आग्रह गरेको छ । तर कहिलेसम्म समय सीमा थप्ने भन्ने विषयमा भने कम्पनीले स्पष्ट खुलाएको छैन । अपर हेवाखोला हाइड्रोपावर कम्पनीलाई वार्षिक साधारण सभा गर्न समस्या भएको छ । गत असारमा आएको बाढीले अपर हेवाखोला साना जलविद्युत् आयोजनामा क्षति पुर्याएसँगै कम्पनीलाई आगामी वार्षिक साधारण सभा गर्न समस्या भएको हो । त्यस्तै, शुभम पावरलाई पनि वार्षिक साधारण सभा गर्न समस्या भएको छ । गत असार २ गते आएको बाढीले कम्पनीले सञ्चालनमा ल्याएको तल्लो पिलुवा खोला साना जलविद्युत् आयोजनामा क्षति पुर्याएसँगै कम्पनीलाई आगामी वार्षिक साधारण सभा गर्न समस्या भएको हो । उक्त बाढीले क्षति पुर्याएको र सोको पुनः निमार्ण कार्य तीव्र गतिमा भइ रहेको तथा बीमा दावीको टुङ्गो लागि नसकेकोले दुबै कम्पनीले म्याद थप गरिदिन माग गरेका छन् । कम्पनीहरुले आगामी ३ महिना थप गर्नको लागि स्वीकृति दिन कम्पनी रजिष्ट्रार कार्यालयसँग अनुरोध गरेका हुन् । त्यसैगरी, बलेफी हाइड्रोपावरले पनि पुस मसान्तसम्ममा साधारण सभा गर्न सकेन । कम्पनीले निर्माण गरी सञ्चालनमा ल्याएको माथिल्लो बेलेफी ए जलविद्युत आयोजना (३६ मे. वा) को निर्माण सम्पन्न गर्न ढिलाई भएकोले समयमै सभा गर्न नसकेको जानकारी गराएको छ । साथै, अघिल्लो दुई आर्थिक वर्ष (२०७७/७८ र २०७८/७९) को साधारण सभा २०८० साल असोज महिनामा मात्रै सम्पन्न भएको र त्यसपछि छोटो समयमा आर्थिक वर्ष २०७९/८० को लेखापरिक्षण गर्न ढिलाई भएको जानकारी गराउँदै बलेफी हाइड्रोले उक्त सभा २०८० साल माघ महिना १० गतेलाई तोकेको जानकारी गराएको छ ।
बुटवल पावरको लाभांशसँगै एफपीओ जारी गर्ने प्रस्ताव पारित
काठमाडौं । बुटवल पावर कम्पनीको लाभांश र एफपीओ जारी गर्ने प्रस्ताव पारित भएको छ । आइतबार सम्पन्न कम्पनीको ३१औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश र एफपीओ जारी गर्ने दुबै प्रस्ताव पारित गरेको हो । सभाले पारित गरेसँगै सेयरधनीले चुक्ता पुँजीको पाँच प्रतिशत नगद लाभांश पाउने छन् । उक्त लाभांश कम्पनीले नेपाल सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन, २०६३ बमोजिम नेपाल सरकारको स्वीकृति लिएर सेयरधनीहरुलाई सक्दो छिटो वितरण गर्ने बताएको छ । साथै, सो सभाले कम्पनीको प्रतिसेयर एक सय रुपैयाँ दरका एक करोड कित्ता शेयरहरु प्रचलित ऐन नियम बमोजिम प्रिमियम मुल्यमा थप सार्वजनिक निष्काशन गर्ने प्रस्तावलाई पारित गरेको छ । सो प्रयोजनका लागि कम्पनीको हालको जारी पुँजी ३ अर्ब ४० करोड ९० लाख रुपैयाँलाई बढाई ४ अर्ब ४० करोड ९० लाख रुपैयाँ पुर्याउने विशेष प्रस्ताव समेत पारित गरेको छ । कम्पनीले सञ्चालन गर्दै आएका ९.४ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्रहरु नियमित रुपमा सञ्चालन भैरहेका छन् । साथै, सहायक तथा सम्वद्ध कम्पनीहरु मार्फत सञ्चालित ४ मेगावाट को खुदी जलविद्युत केन्द्र र ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत केन्द्रको सञ्चालन सुचारु रुपमा हुँदै आएको छ । खिम्ती प्रथम जलविद्युत केन्द्रको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखी नेपाल विद्युत प्राधिकरणमा गएको छ । लमजुङ जिल्ला स्थित ३० मे.वा. को न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७९ बैशाख २७ देखि संचालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणवाट निर्माण हुनु पर्ने खुदी सबस्टेशन तथा प्रशारण लाईन निर्माणमा ढिलाई भएका कारण आयोजनाले बैकल्पिक प्रशारण लाईन निर्माण गरी विद्युत आपूर्तिको व्यवस्था गरिएको छ । प्राधिकरणले यस आयोजनाबाट उत्पादित हुने विद्युत पूर्णरुपमा नलिएका कारण सो आयोजनाको आम्दानीमा प्रत्यक्ष असर पर्न गएको कम्पनीले जानकारी गराएको छ । ३७.६ मेगावाटको कावेली ए जलविद्युत आयोजनाको स्थानीय रुपमा वित्तिय लगानी जुटाएर निर्माण कार्य पुनः प्रारम्भ भई सन्तोषजनक रुपले कार्य प्रगति अगाडि बढीरहेको छ । यस आयोजनाको निर्माण कार्य २०८१ साल चैत्र मसान्तसम्म सम्पन्न गरी विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ । तीन चिनियाँ लगानी कर्ताहरुसंगको संयुक्त लगानीमा मस्र्याङदी नदीमा निर्माणको चरणमा रहेका आयोजनाहरुमा १३५ मेगावाटको मनाङ मस्र्याङदी जलविद्युत आयोजना, १३९.२ मेगावाटको तल्लो मनाङ मस्र्याङदी जलविद्युत आयोजना र ३२७ मेगावाटको माथिल्लो मस्र्याङदी दोश्रो जलविद्युत आयोजना क्यासकेड अवधारणामा (कुल जम्मा ६०१ मेगावाट) अगाडि बढाउने क्रममा छन् । मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनको कार्य सम्पन्न गरि यस आयोजनाको निर्माण कार्य चालु आर्थिक वर्षको चैत्र भित्रै शुरु गर्ने योजना रहेको छ । त्यस्तै, ७.९ मेगावाटको चिनोखोला जलविद्युत आयोजना पनि निर्माण तयारीको चरणमा रहेको छ । १७३.४७ मेगावाट क्षमताको अर्ध जलाशययुक्त मुगु कर्णाली जलविद्युत आयोजना अध्ययनकै क्रममा रहेको छ ।