सेयर बजारको आकारमा नयाँ रेकर्ड, नेप्से परिसूचक एक वर्ष यताकै उच्च

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१ अंकले बढेर २८ सय ९२ बिन्दुमा पुगेको छ । आज १५३ कम्पनीको मूल्य बढ्दा ९६ कम्पनीको मूल्य घटेको छ । सोमबार ३११ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ । बजारको आकारमा नयाँ रेकर्ड बनेको छ । बजारको पूँजीकृत रकम ४८ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । यसअघि ४७ खर्ब ९९ अर्बको रेकर्ड बनेको थियो । यस्तै, नेप्से परिसूचक पनि ११ महिनायताकै उच्च हो ।  साेमबार सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको ७५ करोड, बुटवल पावर कम्पनीको ५६ करोड, फस्ट माइक्रो फाइनान्स लघुवित्तको ५१ करोड र लुम्बिनी विकास बैंकको ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह १.४२, लघुवित्त १.९३, निर्जीवन बीमा १.२७ र अन्य समूह १.८४ प्रतिशतले बढेको छ । बैंकिङ ०.४८, होटल तथा पर्यटन ०.३०, जलविद्युत् ०.४६, लगानी ०.३७, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन  ०.३७, म्युचुअल फन्ड ०.१९ र व्यापार समूह ०.४३ प्रतिशतले बढेको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्री स्टार हाइड्रोपावरको ९.९९, ट्रेड टावर र सानभी इनर्जीको ९.९८ प्रतिशतले सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

मञ्जुश्री फाइनान्सको न्यूरोड शाखा स्थानान्तरण, नयाँ स्थानबाट सेवा सुरु

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको न्यूरोड शाखा काठमाडौं महानगरपालिका–२२, खिचापोखरी, न्यूरोडस्थित हालको स्थानबाट करिब ५० मिटर उत्तरतर्फ स्थानान्तरण भई आइतबारदेखि नयाँ स्थानबाट सेवा प्रवाह सुरु गरिएको छ । नयाँ शाखा कार्यालयको उद्घाटन फाइनान्सका सञ्चालक समिति अध्यक्ष सुमन प्रसाद अधिकारीले गरेका हुन् । शाखा स्थानान्तरणको उद्देश्य ग्राहक सेवा अझ सहज र प्रभावकारी बनाउने रहेको शाखा प्रमुख सन्जीब श्रेष्ठले जानकारी दिए । मञ्जुश्री फाइनान्सले हालसम्म करिब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १८.८ अर्ब रुपैयाँ कर्जा परिचालन गरिसकेको छ। फाइनान्सले निक्षेपमा प्रतिस्पर्धी ब्याजदर र सुलभ कर्जा सुविधा प्रदान गर्दै आइरहेको छ। हाल २७ वटा शाखा र १ वटा विस्तारित काउन्टरमार्फत सेवा दिइरहेको यस संस्थाले १ लाख ५० हजारभन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा पुर्‍याइरहेको छ। देशकै अग्रणी फाइनान्स कम्पनीहरूमध्ये एकको रूपमा परिचित मञ्जुश्री फाइनान्स उत्कृष्ट बैंकिङ सेवा विस्तारमा प्रतिबद्ध रहेको जनाएको छ।

जिल्ला अदालत ललितपुरबाट सहकारीको मोटरसाइकल हरायो

काठमाडौं । कस्मिक बचत तथा ऋण सहकारी संस्थाको मोटरसाइकल हराएको छ । कस्मिक सहकारी संस्थाको २२० सीसीको पल्सर मोटरसाइकल हराएको जनाएको छ ।  कस्मिक सहकारी संस्थाको नाममा दर्ता रहेको ऋणी मनोहर कार्कीको बा.प्र. ०२, ०५८ प. ८१९२ नम्बरको पल्सर २२० सीसीको मोटरसाइकल हराएकाले कसैले भेटाएमा बैंक वा प्रहरीमा सम्पर्क गराउन सहकारी संस्थाले आग्रह गरेको छ ।  मोटरसाइकलको इन्जिन नम्बर डीकेएक्ससीएसबी २१४७८ र च्यासिस नम्बर एमडीएमडी २ए१३ईएक्स३ एससीबी८२९८० कालो/रातो रंगको मोटरसाइकल रहेको सहकारीले जनाएको छ । सहकारी संस्थाको मोटरसाइकल असार २९ गते ललितपुरस्थित जिल्ला अदालत अगाडि पार्किङ गरी राखिएको अवस्थामा बेलुका ५ बजेदेखि ७.१५ बजेको समयमा मोटरसाइकल हराएको हुँदा फेला परेमा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न सहकारी संस्थाले आग्रह गरेको छ ।