काठमाडौंको बालाजु पार्कमा जडान ग्राउण्डवाटर रिचार्ज प्रणाली हस्तान्तरण
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १६ बालाजु पार्कमा जडान गरिएको ग्राउण्डवाटर रिचार्ज प्रणाली काठमाडौं महानगरपालिकाकी उपमेयर सुश्री सुनिता डंगोललाई हस्तान्तरण गरिएको छ । उक्त हस्तान्तरण कार्य कोका-कोला बेभरेज नेपाल, सेन्टर फर इन्टिग्रेटेड अरबन डेभलपमेन्ट (सिआइयुडी) र वाटरएड नेपालले संयुक्त रुपमा गरेको हो । सन् २०२३ को अक्टोबरमा औपचारिक रूपमा सुरु भएको उक्त परियोजना माघ ५ गते सम्पन्न भएको हो । यस रिचार्ज प्रणालीमा २१ वटा फिल्टर चेम्बर, २१ वटा रिचार्ज इनार, दुई डिस्टिलिङ चेम्बर, ७५ फिटको रिचार्ज ट्रेन्च र सात बाँसको चेक ड्यामहरू रहेका छन् । उक्त परियोजना सिआइयुडीको प्राविधिक सहयोग र बोटलर्स नेपाल तराई लिमिटेडको आर्थिक सहयोगमा सम्पन्न भएको हो । यस प्रणालीले वार्षिक ३० हजार किलो लिटर पानी रिचार्ज गरी यस क्षेत्रको जमिनमुनिको पानी (ग्राउण्ड वाटर) को मात्रा बढाउन मद्दत गर्ने अनुमान गरिएको छ भने यी रिचार्ज संरचनाहरू ‘ग्राउन्डवाटर रिचार्ज इन बालाजु पार्क एरिया इन द काठमाडौँ मेट्रोपोलिटान सिटीः एड्रेसिङ इन्क्रिज्ड अर्बन वाटर डिमाण्ड’ नामक परियोजनाका मुख्य आउटपुटहरु हुन् । यस परियोजनाको मुख्य उद्देश्य बालाजु पार्क क्षेत्रको पानीको मात्रालाई कायम राख्दै त्यहाँका ढुङ्गेधारा, प्रसिद्ध बाईस धारा र सामुदायिक इनारको स्रोतलाई पुनर्जीवित गर्नु मात्र नभई पानीको चरम अभाव सामना गर्न आवश्यक पर्ने यस्ता पहलका लागि अन्य समुदाय र स्थानीय निकायलाई जिम्मेवार बनाउने समेत अपेक्षा गरिएको छ । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफ्नो धारणा व्यक्त गर्दै भन्नु भयो, ‘काठमाडौँ जस्ता सहरका लागि कृत्रिम ग्राउण्डवाटर रिचार्ज अत्यावश्यक भएकाले आगामी दिनमा पनि यस्तै किसिमका रचनात्मक रिचार्ज पहलहरु कायम राख्ने प्रतिबद्धता व्यक्त गरिन् । काठमाडौं जस्तो सहरमा ग्राउण्डवाटर रिचार्ज अत्यावश्यक भएको तर भवन र सडक निर्माणका कारण प्राकृतिक रिचार्ज जोनहरूमा पनि अहिले पानीको मात्रा घट्दै गएको उनले बताइन् । काठमाडौं उपत्यकाका बासिन्दाका लागि पहिले देखि नै खानेपानीको प्रमुख स्रोत भनेको ग्राउण्डवाटर हो । ढुङ्गेधारा, इनार र कुवाहरू मुख्य पानीका श्रोतहरू हुन्, जुन उपत्यकामा जताततै देख्न सकिन्छ । तर पछिल्लो दुई दशकदेखि चलेको ग्राउण्डवाटरको अत्यधिक उत्खनन, अव्यवस्थित भवन र सडक निर्माणले उपत्यकाको ग्राउण्डवाटरको मुहानलाई प्रभावित गरेको छ । वर्षाको प्याटर्नमा भएको परिवर्तन तथा छोटो अवधिमा नै हुने व्यापक वर्षाले ग्राउण्डवाटर रिचार्ज हुने प्राकृतिक प्रक्रियामा पनि केही प्रभाव पारेको छ ।
भेष्पा अप्रिलिया किन्नेले ६० प्रतिशतसम्म फाइनान्स सुविधा पाउने
काठमाडौं । भेष्पा अप्रिलिया नेपालले आफ्ना ग्राहकहरुलाई सरल फाइनान्स सुविधा उपलब्ध गराउने भएको छ । जसको लागि भेष्पा अप्रिलियाले हुलास फिनसर्भ हायर पर्चेजसँग साझेदारी गरेको हो । नेपालका लागि भेष्पा अप्रिलिया स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्पका अनुसार ग्राहकले स्कुटरको मूल्यको ६० प्रतिशतसम्म फाइनान्स गर्न सकिने र सो कर्जाको भुक्तानि अवधि ६ देखि २४ महिनासम्म रहनेछ । यो सुविधा देश भेष्पा अप्रिलिया स्कुटरका शोरुमहरुमा उपलब्ध रहनेछ । डेल्टा अटोकर्पका सीईओ तथा निर्देशक विजय महत्तो भन्छन्, ‘डेल्टा अटोकर्पले भेष्पा अप्रिलिया स्कुटर खरिदकर्ताहरुलाई नयाँ फाइनान्स सुबिधा प्रदान गर्न हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडसंग साझेदारी गरेको छ, यस सहकार्यले हाम्रा ग्राहकहरुलाई समग्रमा सजिलो फाइनान्स सुविधा सुनिश्चित गर्दछ ।’ हुलास फिनसर्भ हायर पर्चेजका महाप्रबन्धक समिर ठाकुरले सरल फाइनान्स सुविधाले ग्राहकका लागि फाइनान्समा स्कुटर खरिद गर्न मद्दत पुर्याउने बताए ।
इक्रा नेपालमा रेटिङ गराउँदै आएको नागरिक लगानी कोष एकाएक किन बाहिरियो ?
काठमाडौं । सन् २०२० देखि रेटिङ एजेन्सी इक्रा नेपालमा रेटिङ गराउँदै आएको नागरिक लगानी कोष एकाएक बाहिरिएको छ । इक्रा नेपालले सार्वजनिक गरेको सूचना अनुसार उक्त कम्पनीले हालै रेटिङ विथड्र गरेको हो । २०२० नोभेम्बरमा पहिलो पटक रेटिङ गराएको कम्पनीले हालसम्म निरन्तर उक्त एजेन्सीमा रेटिङ गराइरहेको थियो । इक्रा नेपालको तथ्यांकअनुसार यो अवधिमा कम्पनीले दुई पटकसम्म रेटिङ गराएको देखिन्छ । जसमा दुबैपटक इक्रा एनपी इस्युआर रेटिङ ए प्लस पाएको थियो । जुन हाल मात्र फिर्ता भएको छ । विथड्र गर्नको लागि कम्पनीबाट निवेदन आएसँगै उक्त रेटिङ विथड्र गरिएको कम्पनीका विश्लेषक राजिब महर्जन बताउँछन् । क्रेडिट रेटिङ विनियम २०११ अनुसार उक्त रेटिङ फिर्ता गरिएको इक्रा नेपालका विश्लेषक राजिब महर्जन बताउँछन् । ‘उहाँहरुबाट रेटिङ चाहिँदैन विथड्र गरिदिनुस् भन्ने रिक्वेष्ट आयो, सोही बमोजिम विथड्र गरिएको हो,’ विकासन्युजसँग बोल्दै उनले भने । रेटिङ एजेन्सीले कुनैपनि कम्पनीसँग रेटिङ सम्झौता गरेपश्चात सुरुको रेटिङ गरेको तीन वर्षसम्म उक्त कम्पनीको अनुगमन गर्नैपर्छ भन्ने व्यवस्था छ । सोही समयावधि सकिएकोले पनि कोषको रेटिङ विथड्र भएको बुझिन्छ । कोषका उपनिर्देशक नारायण प्रसाद घिमिरेले पनि सम्झौता गरिएको अवधि सकिएकोले विथड्र गरिएको बताए । ‘हामीबीचको एग्रिमेन्टको अवधि गत नोभेम्बरबाट सकिएकोले विथड्र भएको हो,’ विकासन्युजसँग बोल्दै घिमिरेले भने- ‘आवश्यक भएमा अर्को पटक फेरि सम्झौता गर्न सक्छौं ।’ तर, तत्काललाई भने कोषलाई रेटिङ गराउन आवश्यक नरहेको उनको भनाई छ । ‘अहिले हामीलाई ऋण लिनु पनि छैन, हकप्रद सेयर जारी गर्नु पनि छैन, त्यसैले तत्काल रेटिङ आवश्यक छैन,’ उनले थपे- ‘आवश्यक परेमा सञ्चालक समितिको निर्णय अनुसार नै रेटिङ एजेन्सीसँग सम्झौता गर्ने छौं ।’ यदि पुनः इक्रा नेपालसँग रिटिङ गराउन चाहेमा कोषले पुनः सम्झौता गर्नुपर्ने हुन्छ । किनभने एकपटक विथड्र भइसकेपछि अर्को पटक रेटिङ गर्नको लागि दुई कम्पनीबीच पुनः सम्झौता हुनैपर्छ । जबसम्म विथड्र भएका कम्पनीले अर्को सम्झौता गर्दैनन् तबसम्म रेटिङ एजेन्सीहरुले अर्थात इक्रा नेपालले कम्पनीका कुनैपनि रिपोर्टको निगरानी नगर्ने कोषका विश्लेषक राजिब महर्जन बताउँछन् । नेपालमा हाल तीन वटा रेटिङ एजेन्सीले इक्रा नेपाल, केयर रेटिङ नेपाल र इन्फोमेरिक्स नेपालले विभिन्न कम्पनीहरूको रेटिङ गराउँदै आएका छन् । पछिल्लो एक महिनाको अवधिमा मात्रै तीन एजेन्सीबाट करिब ६० वटा कम्पनीको रेटिङ विथड्र भएको देखिन्छ । एजेन्सीका पदाधिकारीहरू रेटिङ विथड्र हुनुमा तीन वटा कारण हुन सक्ने बताउँछन् । त्यसमध्ये एउटा त सेवा मन नपराएर अर्को कम्पनीमा जानु, अर्को कम्पनीहरू आर्थिकरूपमा नाजुक भएर सूचना दिन नमान्नु र अर्को भनेका तत्काल रेटिङ गराउन आवश्यक नभएकोले पनि कम्पनीहरूले रेटिङ विथड्र गर्न सक्ने उनीहरूको भनाई छ । सम्बन्धित समाचार रेटिङबाट धमाधम बाहिरिँदै कम्पनी, वित्तीय संकट कि सूचना लुकाउने चलखेल ?