भूमि मन्त्री अधिकारीको स्पष्टिकरण : घुस लिएको छैन, चरित्र हत्या गर्न खोजियो
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने कार्यका लागि घुस लिएको बारे सार्वजनिक अडियो आफूसँग सम्बन्धीत नभएको स्पष्टिकरण दिएका छन् । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री अधिकारीले सार्वजनिक अडियोमा बोल्ने मान्छेहरु आफू र आफ्नो मन्त्रालयसँग सम्बन्धित नरहेको जिकिर गरेका हुन् । उनले कर्मचारी सरुवा र जग्गा व्यक्तिका नाममा दर्ता गर्ने कार्य आफूले कुनैपनि घुस नलिएको जिकिर गरे । विचौलियाको काम अस्वीकार गरेपछि आफ्नो अभिष्ट पुरा गर्नको लागि चरित्र हत्या गरिएको जिकिर गरे । उनले पोखराको सुजन लामाले कर्मचारीको सरुवा रोक्नको लागि मन्त्रालय आएपनि आफूले अस्वीकार गरेको पनि उल्लेख गरे । उनले भने, ‘मन्त्रालय र मसँग जोडिएर आएको अडियो सार्वजनिक भएको छ । उक्त अडियोमा बोल्ने व्यक्तिहरु मेरो सरोकारवाला छैनन् । सञ्चारमाध्यमले यसबारे गम्भीर भइदिनुहोला । जग्गाजमिन र सरुवाको विषयमा उजरी आएको सम्बन्धमा तत्काल हुन्छ नभए नियमित तरिकाले जान्छ । मन्त्रीमा भ्रष्टाचार गरेर खायो भनेर आएको छ । मेरो छोराको नाम पनि छन् । त्यहाँ मेरो चरित्र हत्या गर्न गरेको कुप्रयास हो । मैले भनेको नमानेपछि आफ्नो अभिष्ट पुरा गर्नको लागि मेरो र मेरो परिवारको चरित्र हत्या गर्ने प्रयास गरिएको छ ।’ मन्त्री अधिकारीमाथि पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने प्रयासमा एक समूहसँग घुस लिएको दाबीसहितको अडियो सार्वजनिक भएको थियो । मन्त्री अधिकारीलाई छोरामार्फत ३२ लाख रुपैयाँ लिएको दाबी गरिएको छ भने मन्त्री गुप्ताले ३५ लाख लिएको सुनिन्छ । यसअघी तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले समेत मन्त्री अधिकारीको नाम बोलेका थिए ।
सम्पदा लघुवित्त नवौं वर्ष प्रवेशमा देशभर दर्जनौं सामाजिक कार्यक्रम सम्पन्न
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले सेवाको आठौं वर्ष पूरा गरी नवौं वर्ष प्रवेशको अवसरमा देशभर विभिन्न शाखाहरूबाट सामाजिक उत्तरदायित्वअन्तर्गत दर्जनौं कार्यक्रम सम्पन्न गरेको छ । साउन १ गते स्थापना दिवसका अवसरमा सम्पदाले केन्द्रिय कार्यालय बन्दिपुर–१, डुम्रेमा रक्तदान कार्यक्रम आयोजना गर्यो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलले सभापतित्व गरेका थिए भने बन्दिपुर गाउँपालिका–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठ प्रमुख अतिथि थिए । कार्यक्रममा ४० पोका रगत संकलन गरिएको थियो । त्यसैगरी, बरियारपुर शाखा (बारा) मा नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा ८० जनाको सहभागिता रहेको कार्यक्रममा ४१ पोका रगत संकलन भयो । बुधबारे शाखा (झापा) ले बौद्धशान्ति–१, इलामेली टोलका समूहलाई पञ्चेबाजा सहयोग हस्तान्तरण गरी संस्कृतिक संरक्षणमा योगदान पुर्यायो । लोहारपट्टी (महोत्तरी), सन्तपुर र राजपुर (रौतहट), बहुअरी (पर्सा) लगायतका शाखाहरूले स्थानीय मन्दिर, मस्जिद र प्रहरी चौकीहरूमा पंखा वितरण गरे । खोलाकोछेउ शाखा (कास्की) ले रुपा गाउँपालिका–६ स्थित घिमिरे गाउँमा सडक दुर्घटना सचेतना बोर्ड जिल्ला प्रहरी कार्यालयको समन्वयमा हस्तान्तरण गर्यो । ईमिलिया (कपिलवस्तु), चोरमारा (नवलपुर), घैरुङ (गोरखा) शाखाले ११० सदस्यलाई विभिन्न फलफूलका बिरुवा वितरण गरे । दुर्गौली (कैलाली) शाखाले स्वास्थ्य सामाग्री, समनपुर र नयाँमिल शाखाहरूले अनाथालयमा खाद्यान्न, मदनचोक (बाँके) ले विद्यालयमा झोला तथा शैक्षिक सामग्री, भैरहवा (रुपन्देही) ले एसईईमा उत्कृष्ट अंक ल्याएका सदस्यका छोराछोरीलाई सम्मान–पुरस्कार, र सेमजोङ (धादिङ) शाखाले प्रहरी कार्यालयमा पानी फिल्टर सामाग्री वितरण गरेका छन् । साथै, सम्पदाका १५५ वटै शाखा कार्यालयहरूले समाजसेवी, राजनीतिक प्रतिनिधि लगायतको उपस्थितिमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरी शुभकामना आदान–प्रदान गरेका छन् । संस्थाका अनुसार, नवौं वर्षको प्रारम्भसँगै सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरूलाई अझ सुदृढ रूपमा अघि बढाउने योजना समेत बनाइएको छ ।
माछापुच्छ्रे क्यापिटलले गर्यो श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग
काठमाडौं । माछापुच्छ्रे क्यापिटलले काठमाडौं महानगरपालिका–७, कुमारीगालस्थित श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई ३ थान कम्प्युटर सहयोगस्वरूप हस्तान्तरण गरेको छ । मंगलबार एक समारोहमा माछापुच्छ्रे क्यापिटलका अध्यक्ष विश्वम्भर न्यौपाने र प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकारले विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद नेपाललाई कम्प्युटर हस्तान्तरण गरेका थिए । प्रधानाध्यापक नेपालले सहयोगप्रति आभार प्रकट गर्दै कम्प्युटर सहयोगले विद्यालयको डिजिटल शिक्षामा पहुँच विस्तार गर्न र शैक्षिक स्रोत अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । साथै, सामुदायिक शिक्षाको प्रवर्द्धनमा यस्ता पहल निरन्तर हुनुपर्ने अपेक्षासमेत व्यक्त गरे ।