लिट्मस इन्डस्ट्रिज र अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानी सम्झौता

काठमाडौं । नेपालमा विद्युतीय तार, केबल तथा कन्डक्टरको अग्रणी उत्पादक लिट्मस इन्डस्ट्रिज लिमिटेड र नेपालको पहिलो घरेलु निजी इक्विटी फन्ड अवसर इक्विटी डाइभर्सिफाइड फण्डबीच लगानीमा सहकार्य गर्ने भएको छ । परासी जिल्लामा अत्याधुनिक उद्योग स्थापना गरेर आफ्नो क्षमता विस्तार गर्ने योजना रहेको लिट्मस इन्डस्ट्रिजका लागि यो लगानी एउटा महत्वपूर्ण कोसेढुङ्गा साबित हुने कम्पनीले जनाएको छ । अवसर इक्विटीसँगको सहकार्यले लिट्मस इन्डस्ट्रिजको उत्पादन क्षमतामा वृद्धि गर्नुका साथै कम्पनीको सञ्चालनलाई सुव्यवस्थित बनाउँदै बजार उपस्थितिलाई थप मजबुत बनाउनेछ । यसका साथै उक्त लगानीले कम्पनीलाई, नवप्रवर्तन र उत्कृष्टताप्रतिको प्रतिबद्धता कायम राख्दै, ग्राहकको बढ्दो माग पूरा गर्न अझ सक्षम र सुदृढ बनाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लिट्मस इन्डस्ट्रिज लिमिटेडका प्रबन्ध निर्देशक श्री रोहित गुप्ताले साझेदारीको बारेमा आफ्नो उत्साह प्रकट गर्दै भने, ‘हाम्रो दूरदृष्टि र क्षमतामाथि अवसर इक्विटीको विश्वास हाम्रो समूह र कम्पनीको कडा परिश्रम र समर्पणको नतिजा हो । यो साझेदारीले हामीलाई हाम्रो सञ्चालन विस्तार गर्न, द्रुत गतिमा अत्याधुनिकीकरण गर्न र अन्ततः हाम्रा ग्राहकहरूलाई अझ गुणस्तरीय वस्तु र सेवा प्रदान गर्न साथै हाम्रा सरोकारवालाहरूमा कम्पनीको कुशलता र उत्कृष्टताको छापलाई अझ परिष्कृत बनाउन सक्षम बनाउनेछ ।’  

८.९९% व्याजमा घर कर्जा, १२ करोडसम्म ऋण सुविधा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ । यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको छ । वातावरणमैत्री गतिविधिहरुलाई उत्प्रेरित गर्ने उद्देश्यले बैंकले दिगो विकास लक्ष्य अनुरुप विभिन्न बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ । यस योजनाअन्तर्गत सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ्ग तथा क्रेडिट कार्ड समेत निशुल्क जारी गरिनेछ । इको-फ्रेन्डली घर/भवन र अपार्टमेन्टहरूको निर्माण गर्न, पर्यावरण-मैत्री व्यक्तिगत घर वा आवासीय अपार्टमेन्ट तथा फ्ल्याटहरू खरिद गर्नका लागि यो कर्जा लिन सकिनेछ । यसका साथै वातावरणमैत्री उपायहरू अवलम्बन गर्ने क्रममा विद्यमान भवनहरूलाई पर्यावरणमैत्रीमा स्तरोन्नति तथा इको-फ्रेन्डली भवनहरूको मर्मतसम्भारका लागि समेत यस कर्जाको उपभोग गर्न सकिनेछ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन । ग्लोबल आइएमई बैंक, सबैका लागि बैंकिङ्ग सेवा प्रदान गर्ने बैंक हो जसले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई, उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूणर् योगदान पुर्‍याउँदै आइरहेको छ ।

नेक्सजेन म्यानेजमेन्टले वैशाख ८ मा युवा नवप्रवर्द्धकको भेला गर्ने

काठमाडौं । नेक्सजेन म्यानेजमेन्टले काठमाडौंमा युवा नवप्रवर्द्धकहरुको भेला गर्ने भएको छ । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा बानेश्वरस्थित आनन्द भूमि बिजनेस सेन्टरमा कार्यक्रम आयोजना गर्न लागिएको हो । बर्सेनि दसौँ लाख युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् । देशमै सानो पुँजीमा गर्न सकिने थुप्रै कामहरु छन् । तर, सरकारी निकायको झैझमेला तथा बैंक तथा वित्तीय संस्थाबाट सही सल्लाह र सजिलै कर्जा नपाउँदा देशमा काम गर्ने वातावरण बन्न सकिरहेको छैन। त्यसैले सीप जाँगर र चाहना हुँदाहुँदै पनि बाध्य भएर युवाहरुको रोजाइ विदेश हुन गइरहेको छ । यस्तो प्रतिकुल अवस्थामा युवाहरुलाई प्रेरित गर्न र उद्योग–व्यवसाय गर्ने वातावरण बनाउने गरी नेक्सजेन म्यानेजमेन्टले युवा नवप्रवर्द्धकहरुको भेला गर्न लागेको हो । भेलामा युवाहरुको व्यावसायिक योजनाहरु प्रस्तुत हुने, छलफल गर्ने तथा सम्भाव्य देखिएका परियोजनाहरु स्थापना र सञ्चालनका लागि बैंक तथा वित्तीय संस्थासँग समन्वय गर्ने काम गरिनेछ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स सम्पति व्यवस्थापन र व्यावसायिक परामर्श दिने गरी खोलिएको कम्पनी हो । गत फागुनबाट मात्र यस कम्पनीले सेवा प्रारम्भ गरेको हो । वैशाख ८ गतेको भेलापछि नेक्सजेनले नियमित रुपमा नवप्रवर्द्धक उद्यमीहरुसँग छलफल गरी उनीहरुलाई देशमै बसेर काम गर्ने गरि कार्यक्रम सञ्चालन गर्नेछ ।