गोर्खाज फाइनान्सको ३०औं वार्षिक साधारणसभा सम्पन्न, दीर्घसेवामा कर्मचारी सम्मान

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको ३०औं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदन, वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ । साथै आर्थिक वर्ष २०८१/८२ को अन्तिम लेखापरीक्षणका लागि एनबीएसएम एसोसियट्सलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरिएको जानकारी प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङले दिएका छन् । सभामा विभिन्न मितिमा रिक्त भई सञ्चालक समितिबाट नियुक्त गरिएका सञ्चालकहरूको नियुक्ति अनुमोदनसमेत गरिएको थियो । कार्यक्रमको अवसरमा संस्थामा २० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीहरूलाई सम्मान गरिएको छ भने ३० वर्षभन्दा बढी सेवा गरी अनिवार्य अवकाशमा गएका कर्मचारी मुकुन्द श्रेष्ठको बिदाई समेत गरियो ।

कोष र भूमि विभागबीच सम्झौता, आवास कर्जाको प्रक्रिया अनलाइनमार्फत

काठमाडौं । नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख विभागबीच अनलाइन प्रणालीमार्फत धितो रोक्का/फुकुवा गर्ने सम्बन्धमा सम्झौता भएको छ ।  उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र विभागको तर्फबाट महानिर्देशक शिवप्रसाद रेग्मीले हस्ताक्षर गरेका हुन् ।  सम्झौतापछि काठमाडौं उपत्यकामा कोषले प्रदान गर्ने आवास तथा सरल कर्जाको धितो रोक्का, फुकुवा अनलाइनबाट सम्पन्न हुने छ । यसले आवास/सरल कर्जासम्बन्धी कार्य छिटो छरितो रूपमा सम्पन्न भई सेवाग्राहीले प्रभावकारी सेवा प्राप्त गर्ने विश्वास कोषले लिएको छ ।   

सिटिजन्स बैंकको सहयोगमा कोहलपुरमा शव दाह गृह निर्माण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लुम्बिनी प्रदेशको बाँके जिल्लास्थित कोहलपुर नगरपालिका–११ मा शव दाह गृह निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ । कोहलपुरको दुदुवा र रोहिणी नदीको संगममा निर्माणाधीन यस शव दाह गृहले स्थानीय बासिन्दालाई परम्परागत दाह संस्कारको तुलनामा सुलभ, सुरक्षित र वातावरणमैत्री विकल्प प्रदान गर्ने लक्ष्य लिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले एक औपचारिक समारोहका बीच सहयोग हस्तान्तरण गरे । समारोहमा सम्बोधन गर्दै पोखरेलले सामाजिक हितका कार्यमा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै, यस्ता कार्यले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । सिटिजन्स बैंकले सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यसहित विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । बैंकले आगामी दिनमा पनि सामाजिक रूपान्तरणमा योगदान पुर्‍याउने यस्ता कार्यलाई निरन्तरता दिने जनाएको छ ।