बीमालाई सामाजिक अभियानका रूपमा अगाडि बढाउँदै सानिमा रिलायन्सका म्यानेजर रिजाल

काठमाडौं। नेपालजस्तो विकासशील मुलुकका लागि बीमा गरिबी घटाउने सबैभन्दा प्रभावकारी माध्यम हो । यसले आकस्मिक जोखिमको समयमा आर्थिक सहारा प्रदान गर्दै गरिबी न्यूनिकरणमा महत्वपूर्ण भूमिका खेल्छ।  यही चेतनालाई आत्मसात गर्दै बुटवलका सुवास रिजालले बीमालाई महाअभियानका रूपमा अगाडि बढाइरहेका छन् । बुटवलबाट जीवन बीमा व्यवसाय गरिरहेका सुवास रिजाल विगत ७ वर्षदेखि कार्यरत छन् । कपिलबस्तुमा १० सन्तानमध्ये नवौँ सन्तानका रूपमा जन्मिएका रिजालले स्नातकोत्तर तहसम्मको अध्ययन गरेका हुन् । कपिलबस्तुबाट माध्यमिक, प्लस टु पोखरा, स्नातक पोखरा, र त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका हुन् । अध्ययनपछि कोरियामा ५ वर्ष काम गरेर फर्किएका उनले बीमा अभिकर्ताको पेशालाई व्यवसायिक रूपमा अगाडि बढाइरहेका छन् । उनको बीमामा लाग्नुको पृष्ठभूमि भने मार्मिक छ । आज भन्दा ७ वर्षअघिको कुरा हो, पाल्पाको सिद्धबाबा नजिकै ठुलो पहिरो गएको दिन उनी पनि यात्रामा थिए । यस क्रममा एक जना डाक्टर र उनकी श्रीमती घटनास्थलमै मृत्यु भए । यस घटनाले उनलाई रातभर निद्रा लाग्न दिएन । जीवन अनिश्चित रहेको अनुभूति भएपछि उनले निर्णय गरे, अनिश्चिततालाई रोक्न सकिँदैन, तर त्यसबाट हुने जोखिम न्यून गर्न सकिन्छ । उनी सानिमा रिलायन्सको बुटवल शाखामा गएर आफ्ना एक वर्षीय बच्चा, श्रीमती, र आफ्नै बीमा गरी यस पेशामा प्रवेश गरे । यस क्रममा कम्पनीका क्षेत्रीय कार्यालयका प्रवन्धक जयदेव गौतम र शाखा प्रमुख प्रकाश गौतमसँग बीमाबारे धेरै सिक्ने मौका पाए । कोभिड–१९ अघि करिब एक महिनाको आएजाने क्रममा उनले आफ्नो बीमा मात्र गरेनन्, अभिकर्ता बनेर व्यवसायिक रूपमा अगाडि बढ्न पनि प्रेरणा पाए । यसपछि उनी बीमा अभिकर्ता पेशालाई सामाजिक कामको रूपमा अंगालेर अगाडि बढ्ने दृढताका साथ लागे। २०–२५ दिनको उक्त बसाइले उनलाई पेशामा लाग्ने हौसला दिएको थियो । रिजाललाई अभिकर्ता पेशा अन्य व्यवसाय जस्तै महत्वपूर्ण लाग्छ । कसैले सामान ६ सयमा खरिद गरी १ हजारमा बेचेको नाफा कसैले टिप्पणी गर्दैन, तर बीमा व्यवसायमा नियम अनुसारको कमिशनमाथि आलोचना हुँदा उनलाई दुख लाग्छ । सुरुवाती चरणमा उनले बुटवलका ठूला व्यक्तिको ठूला बीमा गराए । तर क्षेत्रीय र शाखा प्रमुखले भने, 'यदि समाजमा चिनिन चाहनुहुन्छ र साच्चिकै समाजसेवा गर्नु छ भने ग्रामीण बस्तीका व्यक्तिलाई बीमा गराउनुहोस् । यसले पुण्यको काम हुन्छ ।' यसपछि उनी आफ्नै जन्मस्थल कपिलबस्तुको ग्रामीण बस्तीमा पुगे । ठूला व्यक्तिबाट बीमा गराउँदै आएका रिजाल गरिब व्यक्तिका छोराछोरीको बीमा गर्न पुगे । तत्कालिन अवस्थामा उनी सानिमा लाइफको सबैभन्दा धेरै पोलिसी जारी गर्ने अभिकर्ता बने। यसरी उनले बीमालाई अभियानको रूपमा अगाडि बढाए । यस क्रममा उनलाई तीतो–मिठा अनुभव पनि भए । कोभिड–१९ अघि एउटा आफन्तलाई बीमाको प्रस्ताव राख्दा स्वीकार भएन। पछि उक्त व्यक्ति कोभिड–१९ मा संक्रमित भए र उपचारमा २०–३० लाख खर्च भए पनि ज्यान गयो। यसले उनलाई बीमामा लाग्ने प्रेरणा दियो । रिजाल बुटवलको स्वागतम बचत तथा ऋण सहकारी संस्थामा कोषाध्यक्ष पनि थिए । त्यहाँ ऋण समितिका सदस्यको काकीलाई बीमाको प्रस्ताव राख्दा केही दिन पर्खन अनुरोध भयो । दुर्भाग्यवश, उनी बुटवल–भैरहवा जाँदै गर्दा दुर्घटनामा मृत्यु भए । रिजाल भन्छन्, 'किड्नी फेल भएर बाटा–बाटामा हिँडिरहेको देख्दा मलाई लाग्छ, यदि ति व्यक्तिलाई समयमा बीमा गराउन सकिएको भए यस्तो दिन भोग्नुपर्दैनथ्यो ।' तराइका ग्रामीण क्षेत्रमा मानिसहरू दैनिक पान, चुरोट, रक्सी सेवन गर्छन् । यदि तिनीहरूले केवल भोला खान रोक्न सक्थे भने ५ लाखको बीमा गर्न सक्थे। उनी गाउँ–गाउँ गएर यस चेतना फैलाइरहेका छन् । अर्घाखाचीका पहाडी क्षेत्रका गाई–बाख्रा पालन गर्ने कृषकलाई बाख्राको मूल्य बराबरको बीमा गराउन सुझाउँछन्, जसले बालबालिकाको उच्च शिक्षा सहज बनाउँछ । अभियानका क्रममा उनले गाउँ–गाउँमा मात्रै काम गरेका छैनन्, त्यहाँका नयाँ अभिकर्ता बनाएर ठूला टिम पनि निर्माण गरेका छन् । हजारौंलाई बीमा गराइसकेका, सयौं अभिकर्ता तयार पारेका रिजाल २०२२ मा एमडिआरटी क्वालिफाइ भएको र २०२३ मा उनकी श्रीमती राधिका पोखरेल पनि क्वालिफाइ भएकी छन् । बीमाबाट अहिलेसम्म एउटा पनि दाबी परेको छैन । यसले उनलाई एजेन्सी म्यानेजर बनाउने प्रोत्साहन दिएको छ। उनी मासिक ४–५ लाख आम्दानी गर्दै आफ्नै टिम निर्माणमा लागेका छन् । कोरियामा ५ वर्ष काम गरेर फर्किए पनि नेपालमा राम्रो आम्दानी गर्न सक्नुले उनलाई थप हौसला दिएको छ । बीमाको महत्व रिजालले सहरीदेखि ग्रामीण क्षेत्रसम्म एजेन्सी निर्माण गरिसकेका छन् । लक्ष्य नेपालभर एजेन्सी फैलाउनु हो । मानिसहरूले अनावश्यक खर्च बढी गर्ने तर बीमा गर्न पैसा नभएको प्रवृत्ति देखिएको छ । बीमामा प्रारम्भमा धेरै नकारात्मकता थियो, अभिकर्ताले शुल्क बुझाए पनि कम्पनीमा नगएको घटना सुन्न पाइन्थ्यो । यसले मानिसलाई बीमाप्रति नकारात्मक बनाएको थियो । गाउँ–गाउँमा जाँदा केही बीमितले विरोध पनि गरे । उनी भन्छन्, 'कतिपय गल्ती अरूले गरे पनि मैले जवाफ दिनुपर्छ । गल्ती स्वीकार गरेर बाँकी कुरा बुझाउनुपर्छ ।' बीमाले गाउँ–गाउँमा रुपान्तरण ल्याउने एकमात्र विकल्प हो । कतिपय परिवारमा ५ कक्षा भन्दा माथि पढेका छैनन् । अभिकर्ता बनाउने योग्यता नभए पनि उनी बीमाको अभियान मार्फत सबैलाई बीमाको दायरामा ल्याएर आर्थिक र सामाजिक अवस्था सुधार्ने प्रण गरेका छन् । उनले विद्यालय र क्लबसम्म पुगेर बीमाबारे जागरूकता फैलाइरहेका छन्।  परिवारमा सदस्य विरामी हुँदा चन्दा उठाउनुपर्ने अवस्था छ भने बीमा गरे जोखिम न्यून गर्न सकिन्छ । रिजाल भन्छन्, 'यदि सबैलाई बीमा गर्ने हो भने समाजमा क्रान्ति आउँछ । समयमा बीमा गर्दा बचत क्षमता बढ्छ । कमाएको निश्चित रकम बीमा मार्फत बचत गर्दा गरिबी दर घट्छ । त्यसैले हामी गरिब बस्तीमा पुगेर यो महाअभियान अगाडि बढाइरहेका छौं ।'

एनआईसी एशिया बैंकका सीईओ सुजित शाक्यले सम्हाले कार्यभार

काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित शाक्यले कार्यभार सम्हालेका छन् ।  गत सोमबार बैंकको सीईओमा नियुक्त भएका शाक्यले बिहीबार (आज) कार्यभार सम्हालेका हुन् । उनले नियुक्त भएकाे ३ दिनमा कार्यभार सम्हालेका हुन् । बैंक सञ्चालक समितिको कात्तिक १७ गते बसेको बैठकले सीईओमा शाक्यलाई नियुक्त गरेको थियो ।  यसअघि शाक्य नबिल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) रहेका थिए ।  उनी ४ वर्षका लागि एनआईसी एशिया बैंकको सीईओमा नियुक्त भएका हुन् । भारतको लखनउस्थित इन्स्टिच्युट अफ प्रोडक्टिभिटी म्यानेजमेन्टबाट पोस्ट ग्य्राजुएट डिप्लोमा इन बिजनेश म्यानेजमेण्ट गरेका शाक्यले सन् १९९६ मा नेपाल श्रीलङ्का मर्चेन्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेका थिए । उनले जुलाई १९९७ देखि १२ अप्रिल २००५ सम्म हिमालयन बैंक, १३ अप्रिल २००५ देखि १७ जुलाई २००७ सम्म लक्ष्मी सनराइज बैंक, १० अक्टोबर २००७ देखि २९ जुन २०१३ सम्म साबिक बैंक अफ एशिया नेपाल, ३० जुन २०१३ देखि १२ फेब्रुवरी २०१७ सम्म एनआईसि एसिया बैंकमा काम गरेका थिए ।  यस्तै, उनले १ मार्च २०१७ देखि १६ अप्रिल २०१९ सम्म साबि सिभिल बैंक,  २२ अप्रिल २०१९ देखि ५ डिसेम्बर २०१९ सम्म साबिक जनता बैंक र डिसेम्बर २०१९ देखि अगस्ट २०२० सम्म ग्लोबल आइएमई बैंकमा काम गरेको अनुभव छ । नेपाली बैंकिङ क्षेत्रमा ३ दशकको कार्यानुभव भएका शाक्यले आधा दर्जन बढी संस्थामा काम गरेर आफ्नो दख्खलता देखाइसकेका छन् । १६ अगस्ट २०२० देखि हालसम्म भने उनी नबिल बैंकको डीसीईओको रूपमा कार्यरत थिए ।   

पोखरा सहकारीको ८९ करोड रकम हिनामिना गरेको आरोपमा ७ जना पक्राउ

गण्डकी । कास्कीस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारी सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित सात जनालाई बुधबार नियन्त्रणमा लिएको छ ।      अध्यक्ष गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणी दाहाल, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, बजार प्रमुख वेदीप्रसाद सुवेदी र पूर्वसचिव एवं वर्तमान सदस्य इन्द्रप्रसाद दुवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादर बस्नेतले जानकारी दिए ।      प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले दिएको सहकारीको रकम हिनामिनासम्बन्धी छानबिन प्रतिवेदनका आधारमा निजहरूलाई पक्राउ गरिएको उनले बताए । उनका अनुसार वित्तिय विश्लेषक निर्मल गौतमको समितिले गरेको अध्ययन अनुसार सहकारीको करिब ८९ करोड रुपैयाँ हिनामिना भएको देखिएको छ ।      संस्थाका पदाधिकारी, व्यवस्थापक र कर्मचारीको मिलेमतोमा सहकारीको बचत रकम अपचलन गरिएको प्रतिवेदनले औँल्याएको छ । पक्राउ परेका व्यक्तिलाई अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।