प्रोग्रेशिभ फाइनान्स नेपालपे कार्ड स्किममा आवद्ध, एनसीएचएलसँग सम्झौता सम्पन्न
काठमाडौं । प्रोग्रेसिभ फाइनान्स लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच एनपीएस एनसीएस (नेसनल कार्ड स्वीच) तथा नेपालपे डोमेस्टिक कार्ड स्किम अन्तर्गत प्रिन्सिपल मेम्बरसिपका लागि औपचारिक सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा फाइनान्सतर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र एनसीएचएलतर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरे । एनसीएचएलले हालै आफ्नो एनपीएस एनसीएस पूर्वाधार तयार भइसकेको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालपे कार्ड इस्युइङ र अक्वायरिङ सेवाका लागि जोडिन आह्वान गरेको थियो । जस अनुसार प्रोग्रेशिभ फाइनान्सले अब नेपालपे कार्डमार्फत डोमेस्टिक कार्ड कारोबार सेवा उपलब्ध गराउने तयारी गरेको हो । नेपालपे कार्ड स्किमले डोमेस्टिक कारोबारको लागत घटाउने, डाटा लोकलाइजेसन सुनिश्चित गर्ने, र डिजिटल इकोसिस्टममा नवीन उपकरणको विकास र प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।
सिटिजन्स बैंकका ग्राहकलाई डाएमण्ड हिल रिर्सोटमा १५ प्रतिशत छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काभ्रेको पनौतीस्थित डाएमण्ड हिल रिर्सोटबीच विशेष छुटसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस समझदारीपछि बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले रिर्सोट सेवामा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । यस सहकार्यमार्फत नगद कारोबारको सट्टा डिजिटल भुक्तानी प्रणालीको प्रयोग बढाउने र ग्राहकलाई डिजिटल सेवा प्रयोग गर्न थप प्रोत्साहन दिने लक्ष्य लिइएको बैंकले जनाएको छ । सिटिजन्स बैंकले समय–समयमा यस्ता ग्राहकहित केन्द्रित सुविधाहरू ल्याउँदै डिजिटल बैंकिङ प्रवर्द्धन गरिरहेको छ । छुट सम्बन्धी विस्तृत जानकारी बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ ।
सहकारी अपचलनसँग सम्बन्धित चलचित्र ‘महाभोज’ प्रदर्शन हुँदै
काठमाडौं । सहकारी अपचलनसम्बन्धी कथामा आधारित चलचित्र ‘महाभोज’ यही जेठ ३० गतेदेखि देशभर प्रदर्शन हुनेभएको छ । निर्देशक दिनेस राउतका अनुसार यसअघि यही जेठ १५ गते प्रदर्शन गर्ने निर्णयसहित प्रचारप्रसार भए पनि सहकारीसम्बद्ध सङ्घ/संस्था र पीडितको नाममा सहर कन्द्रित विरोध कार्यक्रम हुन थालेपछि रोकिएको सो चलचित्र जेठ ३० गते प्रदर्शन हुने भएको हो । सहकारी पीडितको आन्दोलनका कारण मुलुकमा असहज परिस्थिति सिर्जना भइरहेको अवस्थामा सोही विषयमा निर्माण गरिएको चलचित्र प्रदर्शन गर्दा थप समस्या आउन सक्ने विश्लेषणसहित निर्माण समूह, वितरक र प्रदर्शकसँगको छलफलपछि नयाँ मिति तय गरिएको चलचित्रका निर्देशक राउतले स्पष्ट गरे । 'देशको बदलिदो अवस्थाका कारण केही दिनलाई प्रदर्शन रोक्दै नयाँ मिति घोषणा गरेका हौँ । चलचित्र हेर्न आउने दर्शकको सुरक्षालाई ख्याल गरी उक्त कदम उठाउन बाध्य भएका थियौँ । यद्यपि पछिल्लो केही दिनको अवस्था हेरेपछि हामी चलचित्र प्रदर्शन गर्न सक्ने अवस्थामा छौँ, महाभोज चलचित्र यही जेठ ३० गतेदेखि प्रदर्शन हन्छ', उनले भने । सो चलचित्रमा अभिनेता दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायतका कलाकारले अभिनय गरेका छन् । सहकारीको नाममा ठगिएका सर्वसाधारणको पीडा, राजनीतिक पहुँचको आडमा गरिएको दुरुपयोग र सामाजिक असमानताका विषयवस्तुलाई सशक्त रूपमा उठाइएको चलचित्रको कथा विकास सुवेदीले लेखेका हुन् । उक्त चलचित्रलाई ‘क्लकवर्क क्रियसन’ र ‘पिक्चर फ्रेम’ ले संयुक्त रूपमा निर्माण गरेको हो । रासस