बैंकिङ क्षेत्र सुधारका लागि उपसमिति गठन राष्ट्र बैंकको ऐतिहासिक पहल : सिबिफिन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकद्वारा हालै गठन गरिएको बैंकिङ क्षेत्र सुधारसम्बन्धी उपसमितिलाई स्वागत गरेको छ । सिबिफिनले गभर्नरको विशेष पहलमा बैंकिङ क्षेत्रका संरचनात्मक समस्या र चुनौतीहरूको गहिरो अध्ययन गर्दै ठोस सुझाव पेश गर्ने उद्देश्यले राष्ट्रियस्तरमा गठन गरिएको यस उपसमितिलाई 'नेपालको बैंकिङ इतिहासमै एक ऐतिहासिक कदम' को रूपमा व्याख्या गरेको छ । सिबिफिनका अनुसार गभर्नरले समसामयिक बैंकिङ समस्याको जडसम्म पुग्न, व्यवस्थापन र सुपरिवेक्षणलाई थप प्रभावकारी बनाउन, अघिल्ला नीतिहरुको समीक्षा गर्दै वर्तमान वित्त नीतिलाई समयसापेक्ष मौद्रिक नीतिमा रूपान्तरण गर्न थालेका पहलहरू मुलुकलाई आर्थिक सुधार र दिगो विकासको दिशामा लैजान मद्दत गर्नेछन् । उपसमितिमा केन्द्रीय बैंक बाहिरका प्रतिष्ठित विषयविज्ञहरू, निजी क्षेत्रका अनुभवी प्रतिनिधिहरू समेत समावेश गरिएको उल्लेख गर्दै सिबिफिनले यसले नियामकीय सुधार, प्रणालीगत परिवर्तन र नीति निर्माणमा बलियो आधार तयार गर्ने विश्वास व्यक्त गरेको छ । सिबिफिनले उपसमितिका अध्ययन, अनुसन्धान, संवाद र सुझाव प्रक्रियामा पूर्ण समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्र बैंकले अघि सारेका दीर्घकालीन योजनाहरूको कार्यान्वयनमा पनि आफू अभिन्न साझेदारको भूमिकामा रहने स्पष्ट पारेको छ ।

कामना सेवा विकासले दृष्टीविहीनलाई प्रदान गर्‍यो वित्तीय साक्षरता

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले सर्वोदय परियोजना, समावेशी अक्षर र अनुसन्धानसँगको सहकार्यमा दृष्टिविहीन व्यक्तिहरूलाई लक्षित गर्दै विशेष वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । शनिबार काठमाडौंका विभिन्न स्थानमा रहेका ४० जना भन्दा बढी दृष्टिविहीन सहभागी रहेको कार्यक्रममा बचतको महत्व, बजेट निर्माण, आर्थिक अनुशासन, डिजिटल कारोबार तथा साइबर सुरक्षा जस्ता विषयमा जानकारी दिइएको थियो । कार्यक्रमको नेतृत्व बैंकका ब्राण्डिङ तथा सीएसआर विभाग प्रमुख सुशिल पौडेलले गरेका थिए । कार्यक्रममा सहभागी दृष्टिविहीन कृष्ण खत्री अविरलले वित्तीय जानकारीको अभावमा विगतमा बैंकिङ सेवाबाट वञ्चित हुनुपरेको अनुभव सुनाउँदै अब भने आफैँ बैंकिङ सेवा प्रयोग गर्ने आत्मविश्वास जागेको बताए। अर्का सहभागी बिक्रम पथरियाले सानो बचतले ठूलो सम्भावना बोकेको अनुभूति भएको बताए । सर्वोदय परियोजनाका सौगात वाग्ले, जो स्वयं दृष्टिविहीन छन्,ले मोबाइल बैंकिङ, एटीएम कार्ड लगायतका सेवाहरू दृष्टिविहीनहरूले पनि समान रूपले उपयोग गर्न पाएकोमा कामना सेवा विकास बैंकलाई धन्यवाद दिएका थिए । कामना सेवा विकास बैंकले दृष्टिविहीन व्यक्तिहरूलाई लक्षित गर्दै ‘स्वाभिमान बचत खाता’ सञ्चालनमा ल्याएको छ । यो खातामार्फत दृष्टिविहीन ग्राहकले अतिरिक्त कागजात वा साक्षीको आवश्यकता बिना नै खाता खोल्न सक्ने छन् । साथै, खातासम्बन्धी जानकारी ब्रेल लिपीमा उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।