बैंक तथा वित्तीय संस्थामा कति पैसा छ ?
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब ७५ अर्ब पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो समय निक्षेप बढ्ने क्रम बढिरहेको हो । कात्तिक दोस्रो हप्तासम्म वाणिज्य बैंकले मात्रै ६७ खर्ब १७ अर्ब निक्षेप संकलन गरेका छन् । यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले ५६ खर्ब ३५ अर्ब कर्जा प्रवाह गरेका छन् । वाणिज्य बैंकहरु मात्रै ५० खर्ब १२ अर्ब कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकका अनुसार विकास बैंक तथा फाइनान्सले यो अवधिमा ७ खर्ब ५८ अर्ब निक्षेप संकलन गरेका छन् । उनीहरुले कर्जा प्रवाह भने ६ खर्ब २३ अर्ब गरेको तथ्यांकले देखाउँछ । यो अवधिमा बैंकिङ क्षेत्रमा कायम रहेको निक्षेप तथा कर्जा अनुपात (सीडी रेसियो) भने ७४.२५ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा दिनसक्ने क्षमता अझै पनि धेरै रहेको रहेपनि कर्जा प्रवाह सुस्त छ । पछिल्लो समय कर्जाको माग निरन्तर घट्दो क्रममा रहेको छ । बैंकहरुले कर्जाको लागि निर्धारण गर्ने औसत आधार दर महिनैपिच्छे घट्दै आएको छ । कात्तिक महिनाको लागि बैंकहरुको औसत ब्याजदर ५.६७ प्रतिशत निर्धारण भएको छ । यो ब्याजदर निकै कम हो । यसमा निश्चित प्रतिशत प्रिमियम थप गरेर बैंकहरुले कर्जा लगानी गर्दै आएका छन् । पछिल्लो समय आधार दरमा निकै न्युनमात्रै प्रिमियम थप गरेर बैंकहरुले कर्जा लगानी गर्दै आएका छन् । तर पनि कर्जा प्रवाह बढ्नै सकेको छैन । खासगरी जेनजी आन्दोलनमा निजी क्षेत्रका घरनामाथि छानिछानि आक्रमण भएपछि लगानीकर्ताहरु त्रसित बन्दै आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघसहितका निजी क्षेत्रका छातासंगठनले शान्ति सुरक्षाको प्रत्याभुति र लगानीकर्ताको मनोबल उठाउने खालका कार्य गर्न सरकारलाई बारम्बार आग्रह गर्दै आएका छन् । बैंक तथा वित्तीय संस्थाहरूबाट तत्काल ठूलो मात्रमा कर्जा प्रवाह हुने स्थिति नदेखिएपछि राष्ट्र बैंकले लामो समयका लागि निक्षेप तानिरहेको छ । पछिल्ला दिनहरूमा बजारमा कर्जाको माग धेरै बढ्न नसक्दा बैंक, वित्तीय संस्थाहरूमा लगानी योग्य रकम थुप्रिरहेको छ । यसैलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले लामोसमयका लागि मौद्रिक उपकरणको प्रयोग गरिरहेको छ । नेपाल राष्ट्र बैंकले आइतवार ४० अर्ब निक्षेप १ सय ७५ दिनका लागि खिचेको थियो भने अघिल्लो साताको बुधबार पनि राष्ट्र बैंकले बजारबाट १ सय ७५ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब रुपैयाँ उठाएको थियो । त्यसअघि राष्ट्र बैंकले यतिधेरै अवधिका लागि पछिल्ला वर्षहरूमा निक्षेप उठाएको थिएन । बैंकहरूले तत्काल कर्जा प्रवाह गर्ने छाटकाट नदेखाएपछि राष्ट्र बैंक दीर्घकालिन रुपमै निक्षेप व्यवस्थापनमा लागेको राष्ट्र बैंकका अधिकारीहरुले बताउँदै आएका छन् ।
सन नेपाल लाइफको आई.एस.ओ/आई.ई.सी २७००१ः२०२२ प्रमाणपत्र नवीकरण
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यूकेएएसबाट मान्यता प्राप्त एमटिभो लिमिटेड यूकेबाट आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ को प्रमाणपत्रमा निरन्तरता प्राप्त गरेको छ । कम्पनीले गत महिना गराएको सम्परीक्षणमा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित व्यवस्थापन गरेकोले सो प्रमाणत्र नवीकरण भएको हो । यस मानकले कम्पनीले अन्तराष्ट्रिय मापदण्डमा परिभाषित असल अभ्यासहरूको पालना गरेको छ भन्ने कुरा स्पष्ट पार्दछ । कम्पनीले जोखिममा आधारित जीवन बीमा ब्यवसाय प्रणाली तथा संस्थागत सुशासन सम्बन्धी नियामकीय ब्यवस्था प्रभावकारी किसिमबाट पालना गर्न अन्तराष्ट्रिय मापदण्डको आधारमा आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ सम्परीक्षण नवीकरण गरेको हो । नेपालको बीमा ब्यवसायमा यसरी अन्तराष्ट्रिय मापदण्ड आइ.एस.ओ÷आई.ई.सी २७००१ः२०२२ प्राप्त गर्ने पहिलो र एकमात्र जीवन बीमा कम्पनी हो । आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ को नवीकरण मान्यता प्राप्त गरेसँगै कम्पनीले निरन्तर रुपमा यसको पालना र अभ्यासहरुबाट कम्पनीको सूचना सुरक्षा प्रणाली निरन्तर मजबुत बनाउँदै लाने प्रतिबद्धता जाहेर गरेको छ ।
सरकारले १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदै, कात्तिक २० गते निष्काशन
काठमाडौं । सरकारले १० अर्ब रुपैयाँ ऋण उठाउने तयारी गरेको छ । सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ४ वर्षका लागि १० अर्ब रुपैयाँको ‘विकास ऋणपत्र-२०८६’ बिक्री गर्न लागेको हो । कार्यालयले कात्तिक १९ गते बोलकबोल मार्फत बिक्री गरी कात्तिक २० गते निष्काशन गर्ने जनाएको छ । इच्छुक खरिदकर्ताले बोलकबोल पेस गर्न सक्ने छन् । उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरूले भाग लिन सक्नेछन् ।