महालक्ष्मी विकास बैंकले 'महालक्ष्मी माघ महोत्सव' सञ्चालन गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रवर्द्धन र ग्राहक सुविधा अभिवृद्धिका लागि 'महालक्ष्मी माघ महोत्सव' सञ्चालन गर्ने भएको छ । बैंकले प्रत्येक वर्षको माघ महिनालाई डिजिटल कारोबार प्रवर्द्धन महिना घोषणा गरेको छ । हाल बैंकको दैनिक कुल कारोबारमा डिजिटल कारोबारको हिस्सेदारी औसतमा ८० प्रतिशत रहेको छ । यसलाई अझ बढावा दिन बैंकले 'महालक्ष्मी स्मार्ट साथी' मोबाइल एपमार्फत विभिन्न आकर्षक सुविधा थप गरेको छ।  ग्राहकहरूले एपमार्फत मुद्धती खाता खोल्दा व्यक्तिगत मुद्धतीमा प्रदान हुने ब्याजदर भन्दा ०.२५ प्रतिशत बढी ब्याज पाउने छन् । साथै, भर्चुअल र साधारण क्रेडिट कार्डको वार्षिक शुल्कमा १०० प्रतिशत छुट, डेबिट कार्ड जारी र मोबाइल बैंकिङ दर्ता गर्दा १०० प्रतिशत छुट प्राप्त हुनेछ । ग्राहकहरूले मोबाइल एपबाट फार्मेसी बिल भुक्तानी गर्दा बिल रकमको २० प्रतिशत वा २०० रूपैयाँसम्म क्यासब्याक पाउनेछन् । अडियो मार्फत भुक्तानी पुष्टि गर्ने 'कोइली' सेवा दर्ता गर्दा कुनै शुल्क लाग्ने छैन । यो अभियान २०८२ साल माघ महिनाका लागि मात्र लागू हुनेछ । बैंकले यस अभियानमार्फत डिजिटल बैंकिङ पहुँच विस्तार, नगद रहित कारोबार बढाउने र प्रत्यक्ष बैंक उपस्थितिको आवश्यकता न्यून गर्ने उद्देश्य राखेको छ । 'सबल बैंक, सफल सहकार्य'को नारासहित बैंकले देशभर १०३ शाखा कार्यालय र करिब ८ लाखभन्दा बढी ग्राहकलाई गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । यस अघि बैंकले भारतीय भुक्तानी सेवा प्रदायक जस्तै फोनपे, भिमपे, यु.पि.आई र गुगलपे मार्फत क्युआर कोड भुक्तानी सुविधा पनि उपलब्ध गराइसकेको छ ।

इन्फिनिटी लघुवित्तको ९औं साधारण सभा सम्पन्न, सञ्चालक समिति निर्विरोध निर्वाचित

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ९औं वार्षिक साधारण सभा बुधबार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैंडाकोटस्थित सहमति संस्थान, विजय चोकमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विष्णु कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न साधारण सभामा कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानीश्वर पन्तले सभा सञ्चालन गर्दै उपस्थित सञ्चालक, अतिथि तथा सेयरधनीहरूलाई स्वागत गरेका थिए । सभाले आर्थिक वर्ष २०८१/८२ सम्मको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, मर्जर तथा एक्विजिसनसम्बन्धी प्रस्तावहरू पारित गरेको छ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्तिसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरिएको छ। यसैगरी, निर्वाचन अधिकृत कृष्ण प्रसाद खनालका अनुसार आगामी कार्यकालका लागि विष्णु कुमार घिमिरे, रामकृष्ण डंगोल, रमेश कर्मचार्य तथा शशी तिमल्सिनालाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरिएको छ। सभाको अन्त्यमा उपस्थित सम्पूर्ण सञ्चालक, अतिथि तथा सेयरधनीहरूप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी संस्थाले दिएको छ।

प्रभु बैंकको साधारण सभा सम्पन्न, वित्तीय विवरण सर्वसम्मत पारित

काठमाडौं । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा बुधबार बबरमहलस्थित प्रधान कार्यालयमा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा बसेको सभाले विभिन्न प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ । सभाले सञ्चालक समितिको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू पारित गरेको छ । साथै, बैंकका सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको सोही आर्थिक वर्षको एकीकृत वित्तीय विवरण पनि पारित गरिएको छ । वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सबै प्रस्तावहरू सर्वसम्मत रूपमा अनुमोदन भएका हुन् । प्रभु बैंकले हाल देशभर ३१२ शाखा, ६८ एक्सटेन्सन काउन्टर र २६९ एटीएममार्फत ३७ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिसहित गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ । साधारण सभाको अवसरमा बैंकले प्रगतिका लागि शुभकामना व्यक्त गर्ने सेयरधनी, सञ्चारकर्मी तथा सरोकारवाला सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।