आइसीएफसी फाइनान्सले ल्यायो ‘एक्सप्रेसन डेबिट कार्ड’, आफ्नै फोटो राखेर कार्ड बनाउन सकिने
काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडले ग्राहकलाई अझ व्यक्तिगत, आधुनिक र फरक बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यसहित नयाँ ‘एक्सप्रेसन डेबिट कार्ड’ सार्वजनिक गरेको छ । एससीटी युनियनपे नेटवर्कमा आधारित यस कार्डमार्फत ग्राहकहरूले आफ्नो मनपर्ने तथा यादगार फोटो कार्डमा प्रिन्ट गराएर प्रयोग गर्न सक्ने सुविधा पाउनेछन् । ग्राहकको व्यक्तित्व, रुचि र आत्मअभिव्यक्तिलाई झल्काउने गरी डिजाइन गरिएको यस कार्डले सुरक्षित, सहज तथा आकर्षक डिजिटल भुक्तानी अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । यस डेबिट कार्डको प्रयोगमार्फत एटीएम सेवा, किनमेल तथा विभिन्न डिजिटल भुक्तानी सेवा सजिलै उपयोग गर्न सकिनेछ । डिजिटल बैंकिङ सेवामा नवीनता ल्याउने र ग्राहक–केन्द्रित समाधान विस्तार गर्ने उद्देश्यअनुसार यो सेवा सुरु गरिएको आइसीएफसी फाइनान्सले जनाएको छ । प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्दै ग्राहक सन्तुष्टि अभिवृद्धि गर्नु संस्थाको प्रमुख लक्ष्य रहेको पनि कम्पनीले स्पष्ट पारेको छ । ‘एक्सप्रेसन डेबिट कार्ड’ आइसीएफसी फाइनान्सका ग्राहकहरूले आफ्नै इच्छाअनुसार अनुरोध गरी प्राप्त गर्न सक्नेछन् । कार्ड प्राप्त गर्ने प्रक्रिया तथा थप जानकारीका लागि नजिकको शाखा कार्यालय, आधिकारिक वेबसाइट वा सामाजिक सञ्जालमार्फत जानकारी लिन सकिनेछ ।
सिटिजन्स बैंक बन्यो एनसीएचएलको ईएफटी स्विचअन्तर्गत नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को ईएफटी स्विच (Electronic Fund Transfer Switch) अन्तर्गत नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक बनेको छ । सिटिजन्स बैंक र एनसीएचएलबीच एनपीएस–नेसनल कार्ड स्विच अन्तर्गत डोमेस्टिक कार्ड स्किम सञ्चालनका लागि मंगलबार सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार सिटिजन्स बैंक एनसीएचएलको ईएफटी स्विच (EFT Switch) अन्तर्गत नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक बनेको हो । यससँगै अब सिटिजन्स बैंकका एटीएम तथा पीओएस टर्मिनलहरूमा नेपालपे कार्डसहित भिसा, मास्टरकार्ड, युनियनपे लगायतका अन्तर्राष्ट्रिय कार्डहरू पनि स्वीकार गरिनेछन् । बैंकका ग्राहकहरूले छिट्टै एनसीएचएलद्वारा जारी गरिने नेपालको आफ्नै कार्ड स्किम ‘नेपालपे कार्ड’ प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यसले डिजिटल भुक्तानी प्रणालीलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ ।
एनसीएचएलका सीईओ प्रधान ‘म्यानेजर अफ द इयर २०२५’ अवार्डबाट सम्मानित
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानलाई नेपाल व्यवस्थापन संघ (एनएमए) द्वारा आयोजित ४५औँ नेसनल म्यानेजमेन्ट कनभेन्सन २०२६ का अवसरमा ‘म्यानेजर अफ द इयर २०२५’ अवार्डबाट सम्मानित गरिएको छ । प्रधानलाई नेपालको डिजिटल भुक्तानी प्रणालीको विकासमा पुर्याएको उल्लेखनीय योगदान तथा उनको नेतृत्वमा एनसीएचएलले स्थापना तथा सञ्चालन गर्दै आएको विभिन्न राष्ट्रिय भुक्तानी पूर्वाधारहरूको प्रभावलाई कदर गर्दै उक्त अवार्ड प्रदान गरिएको हो । उनको नेतृत्वमा एनसीएचएलले एनसीएचएल ईसीसी, एनपीएस, रिटेल पे, कनेक्ट आईपीएस, क्यूआर कोड, क्रस–बोर्डर पे, कार्ड, इफ्ट स्विच, आरटीजीएस लगायत १० भन्दा बढी राष्ट्रिय भुक्तानी प्रणाली सञ्चालन गर्दै आएको छ, जसले डिजिटल अर्थतन्त्रको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ । सन् २०११ मा एनसीएचएलको कार्यभार सम्हालेका प्रधानले चेक क्लियरिङ प्रणालीबाट सुरुआत गरी संस्थालाई हाल नेपालको भुक्तानी पूर्वाधारको मेरुदण्डका रूपमा स्थापित गर्न सफल भएका छन् । नेपाल व्यवस्थापन संघले हरेक वर्ष व्यवस्थापन क्षेत्रमा अतुलनीय योगदान पुर्याउने विशिष्ट व्यक्तित्वलाई ‘म्यानेजर अफ द इयर’ अवार्ड प्रदान गर्दै आएको छ । सोही कार्यक्रममा नेपालमा उल्लेखनीय योगदान पुर्याएका डा. युवराज खतिवडालाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरिएको थियो ।