आईपीओ निष्काशन गर्न स्वस्तिक लघुवित्तले पायो अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले स्वस्तिक लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आ्रईपीओ) निष्काशन तथा बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले असार ५ गते सो संस्थालाई २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति दिएको हो । माइक्रो फाइनान्स समूहको सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । बोर्डले चालु आवमा हालसम्म कुल १२ कम्पनीलाई साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ । जसमा पाँचवटा जलविद्युत् समूहका कम्पनी छन् भने तीनवटा लघु बीमाका छन् । अन्यतर्फ दुई कम्पनीले अनुमति पाउँदा उत्पादनतर्फको एक र माइक्रो फाइनान्स एक छन् । समग्रमा बोर्डले २ अर्ब ९५ करोड ५६ लाख ८१ हजार ९ सय रुपैयाँ बराबरको साधारण सेयर बिक्रीको अनुमति दिएको छ । त्यसैगरी, साधारण सेयर बिक्रीका लागि अनुमतिको प्रतिक्षामा ४४ कम्पनी छन् । त्यसमा अधिकांश जलविद्युत् कम्पनी छन् । कुल ३५ जलविद्युत् कम्पनी साधारण शेयर बिक्रीका लागि अनुमतिको प्रतीक्षामा छन् ।
एनआईसी एशिया ग्रोथ फण्ड खारेज, असार ९ गतेदेखि इकाईधनीलाई भुक्तानी सुरु
काठमाडौं । एनआईसी एशिया बैंकको प्रवर्द्धन तथा एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित ७ वर्षे बन्दमुखी योजना ‘एनआईसी एशिया ग्रोथ फण्ड’ खारेज गरिएको छ । योजना परिपक्व भएपछि अब इकाईधनीलाई लगानीअनुसारको रकम भुक्तानी गरिने भएको छ । कम्पनीका अनुसार ८ करोड ३५ लाख २० हजार इकाइ रहेको उक्त योजना मिति २०८१ साल फागुन २८ गते परिपक्व भएको थियो । सामूहिक लगानी कोष नियमावली, २०६७ अनुसार नेपाल धितोपत्र बोर्डबाट मिति २०८१ चैत १२ गते खारेजी स्वीकृति प्राप्त भएपछि योजना खारेज प्रक्रिया अगाडि बढाइएको थियो । क्यापिटलले ग्रोथ फण्ड अन्तर्गत रहेको सम्पूर्ण सम्पत्ति नगदमा परिणत गरिसकेको छ । अब योजना अनुसारको हिस्सा बैंक तथा वित्तीय संस्थाको खातामा सोझै जम्मा हुने असार ९ गते (२२ जुन २०२५) देखि फिर्ता भुक्तानी सुरु हुने भएको छ । इकाईधनीलाई हितग्राही खातामा उल्लेख भएको बैंक खातामा रकम जम्मा गरिने हुँदा खाता विवरण उल्लेख नभएको वा परिवर्तन भएको भए तुरुन्त अद्यावधिक गर्न अनुरोध गरिएको छ ।
एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच वित्तीय व्यवस्थापन गर्न सहमति
काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र चिनो हाइड्रोपावर लिमिटेडबीच मनाङ जिल्लास्थित चिनो खोलामा निर्माण हुन लागेको २६ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन गर्न सहमति भएको छ । यस सम्बन्धमा आयोजित एक समारोहमा एभरेष्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र चिनो हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष विजय बहादुर श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । उक्त आयोजना बुटवल पावर कम्पनी लिमिटेडको प्रवर्द्धनमा सञ्चालित आयोजना हो, जसलाई दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ चिनियाँ ठेकेदारलाई इञ्जिनियरिङ, खरीद तथा निर्माण (ईपीसी) मोडलमा जिम्मा दिइएको छ । आयोजनाबाट उत्पादित विद्युत् मनाङ जिल्लाको धारापानीस्थित सव स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ। यस परियोजनासम्बन्धी विद्युत् खरिद–बिक्री सम्झौता नेपाल विद्युत् प्राधिकरण र चिनो हाइड्रोपावर लिमिटेडबीच गत वैशाख महिनामा सम्पन्न भइसकेको छ। आयोजनाबाट वार्षिक करिब १४३।७२ गिगावाट–घण्टा विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ । पञ्जाब नेशनल बैंक, भारतसँगको संयुक्त लगानीमा स्थापना भएको एभरेष्ट बैंक लिमिटेडले हालसम्म करिब १३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । देशभर १२७ शाखा सञ्जाल, ७ एक्सटेन्सन काउण्टर, ३ प्रादेशिक कार्यालय तथा १६० भन्दा बढी एटिएममार्फत सेवा विस्तार गरिरहेको बैंकले अत्याधुनिक मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र कार्ड बैंकिङ सेवा उपलब्ध गराइरहेको छ। साथै, सरकारले तोकेको ५४ वटा राजस्व संकलन केन्द्रमार्फत सरकारी राजस्व संकलनको कार्यमा समेत सक्रिय रहेको छ । बैंकले भारतको नयाँ दिल्लीसहित अन्य मुलुकहरूमा प्रतिनिधि कार्यालय स्थापना गरी अन्तर्राष्ट्रिय सेवा विस्तार गरिरहेको जानकारी दिइएको छ ।