नेशनल लाईफको ३९ वर्ष पूरा, सामाजिक र प्रविधिमुखी कार्यक्रमलाई प्राथमिकता

काठमाडौं । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेडले ३९औँ वार्षिकोत्सव सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । काठमाडौंस्थित होटल ह्यात सेण्ट्रिकमा आयोजित समापन समारोहको उद्घाटन कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी गरेकी थिइन् । उक्त अवसरमा अध्यक्ष सिंहले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्वपूर्ण योगदान गर्ने कर्मचारी, अभिकर्ता, बीमित, शुभेच्छुक तथा सरोकारवालाप्रति आभार व्यक्त गरिन् । उनले सेवाग्राहीलाई उच्चस्तरीय र सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले कर्मचारीलाई प्रविधिमा दक्ष बनाउनेतर्फ कम्पनीले विशेष ध्यान दिइरहेको बताउँदै प्रशासनिक कर्मचारीलाई आर्टिफिसियल इण्टिलिजेन्स (एआई) सम्बन्धी विस्तृत तालिम प्रदान गरिएको जानकारी दिइन्। साथै, यस्ता तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उनले उल्लेख गरिन् । समारोहमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कर्मचारी, अभिकर्ता, बीमित तथा सरोकारवालाको सहयोग र सद्भावका कारण कम्पनीले छुट्टै पहिचान बनाउन सफल भएको बताए । उनले भविष्यमा पनि यस्तै सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै नियामक निकाय तथा सम्बन्धित संस्थाहरूको मार्गदर्शनप्रति कृतज्ञता व्यक्त गरे । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगृह तारकेश्वरमा शैक्षिक सामग्री वितरण, बालबालिकालाई भोजन व्यवस्था तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ । साथै, देशभरका प्रदेश तथा शाखा कार्यालयमार्फत वृद्धाश्रम, बालकल्याण संस्था तथा मानव सेवा आश्रमहरूमा पनि विभिन्न सामाजिक कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । कर्मचारीहरूको शारीरिक तथा मानसिक सक्षमता अभिवृद्धि गर्ने उद्देश्यले अन्तरकर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत क्रिकेट, फुटसल, टेबल टेनिस तथा बुद्धिचाललगायत खेलहरू आयोजना गरिएको थियो । समापन समारोहमा अध्यक्ष सिंहले खेलकुदमा विजयी कर्मचारीलाई पदक तथा प्रमाणपत्र, रक्तदाता कर्मचारीलाई प्रमाणपत्र तथा सांस्कृतिक प्रस्तुति दिने कर्मचारीलाई मायाको चिनो प्रदान गरेकी थिइन् ।

एसियन स्मार्ट एग्रो कम्पनीको साधारण सभा सम्पन्न, पुँजी वृद्धि गर्ने

काठमाडौं । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडको साधारण सभा अध्यक्ष प्रवीण कुमार लामाको अध्यक्षतामा सिराहाको लहानस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । फाल्गुण २ गते आयोजित सभाको उद्घाटन अध्यक्ष लामाले गरेका थिए । सभामा सञ्चालक चन्द्रमोहन श्याङ्वाले उपस्थित सञ्चालक तथा सेयरधनीलाई स्वागत गरेका थिए । साधारण सभामा सञ्चालक समितिको प्रस्तावअनुसार कम्पनीको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी ३५ करोड रुपैयाँ पुर्‍याउने निर्णय गरिएको छ । त्यसैगरी, सेयर पुँजीको आधारमा प्रबन्धपत्र संशोधन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने तथा सभाको माइन्युटमा हस्ताक्षर गर्ने अधिकार अध्यक्ष र सेयरधनी रामपुजन रायलाई दिने प्रस्ताव पनि पारित गरिएको छ । सभाको अन्त्यमा अध्यक्ष लामाले उपस्थित सबै सेयरधनी तथा सञ्चालकप्रति धन्यवाद ज्ञापन गर्दै विशेष साधारण सभाको समापन गरेका थिए ।

गरिमा क्यापिटलद्वारा नयाँ खुलामुखी लगानी योजना सार्वजनिक

काठमाडौं । गरिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक रूपमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएको छ । यस योजनाको कोष प्रवर्द्धक गरिमा विकास बैंक लिमिटेड र योजना व्यवस्थापक सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड रहेको छ । १ अर्ब रुपैयाँ बराबरको यस योजना विकास बैंक कोष प्रवर्द्धक रहने गरी निष्कासन हुने नेपालकै पहिलो खुलामुखी सामूहिक लगानी कोष योजना हो । प्रारम्भिक चरणमा ५० करोड रुपैयाँ बराबरको प्रति इकाई १० दरले ५ करोड रुपैयाँ इकाई सार्वजनिक निष्कासन गरिनेछ । यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । बैंकका अनुसार यो योजनाले सर्वसाधारण लगानीकर्तालाई सुरक्षित र दीर्घकालीन लगानीको अवसर प्रदान गर्नेछ । यसअघि गरिमा विकास बैंक लिमिटेडको कोष प्रवर्द्धकत्व र गरिमा क्यापिटल लिमिटेडको व्यवस्थापनमा १ अर्ब २५ करोड रुपैयाँ बराबरको बन्दमुखी सामूहिक लगानी कोष योजना ‘गरिमा समृद्धि योजना’ सञ्चालनमा रहेको छ । कम्पनीले ‘गरिमा सुवर्ण योजना’मार्फत पुँजी बजारमा नयाँ लगानीकर्ताको सहभागिता बढ्ने र सामूहिक लगानी कोषप्रति विश्वास अभिवृद्धि हुने अपेक्षा गरेको छ ।