११ शाखामार्फत सम्पदा लघुवित्तको सिपमूलक तालिम, ३५६ सदस्य लाभान्वित

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न शाखा कार्यालयमार्फत आवद्ध सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सिपमूलक तालिम कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले ११ वटा शाखा कार्यालयमार्फत कुल ३५६ जना सदस्यलाई विभिन्न व्यावसायिक तथा आयआर्जनमुखी तालिम प्रदान गरेको जनाएको छ । तालिम कार्यक्रम बाँकेको मदनचौक, सप्तरीको चन्ही, धादिङको चैनपुर, रुपन्देहीको लुम्बिनी सांस्कृतिक तथा भैरहवा, इलाम, मकवानपुरको शिखरकटेरी, नुवाकोटको देउराली, लमजुङको सातबिसे, कास्कीको खोलाकोछेऊ र कैलालीको दुर्गौली शाखाबाट सञ्चालन गरिएको थियो । मदनचौक शाखामा व्यवसायिक बाख्रापालन तालिममा ३० जना सहभागी भएका थिए भने चन्ही शाखामा लहरे तरकारी खेती तालिममा २९ जना सहभागी भए । चैनपुर धादिङमा उन्नत जातको बाख्रापालन तालिममा ३४ जना, लुम्बिनी सांस्कृतिक रुपन्देहीमा लहरे तरकारी खेती तालिममा ३३ जना तथा इलाम शाखामा आचार बनाउने तालिममा २९ जनाको सहभागिता रहेको थियो । त्यसैगरी शिखरकटेरी मकवानपुरमा व्यवसायिक बाख्रापालन तालिममा ३७ जना, देउराली नुवाकोटमा टमाटर खेती तालिममा ३२ जना, सातबिसे लमजुङमा मौरीपालन तालिममा २९ जना, खोलाकोछेऊ कास्कीमा क्रिस्टलका चुरा बनाउने तालिममा २३ जना सहभागी भएका थिए । दुर्गौली कैलालीमा उन्नत जातको बाख्रापालन तालिममा ५० जना तथा भैरहवा रुपन्देहीमा उन्नत जातको भैंसीपालन तालिममा ३० जना सहभागी भएका थिए । सम्बन्धित स्थानीय तहका कृषि अधिकृत तथा विषयगत विज्ञ प्रशिक्षकहरूले तालिम प्रदान गरेका थिए । तालिम सम्पन्न भएपछि सहभागीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको संस्थाले जनाएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलका अनुसार आगामी दिनमा पनि अन्य शाखामार्फत सिप विकास गरी उद्यमशील बन्न इच्छुक सदस्यहरूका लागि यस्ता तालिम कार्यक्रम सञ्चालन गरिनेछ । हाल सम्पदा लघुवित्तले ४५ जिल्लामा रहेका १५५ शाखा कार्यालयमार्फत एक लाख ८१ हजारभन्दा बढी सदस्यलाई सेवा प्रदान गर्दै आएको छ । संस्थाको कुल लगानीमा रहेको कर्जा रकम करिब १० अर्ब ४० करोड रुपैयाँ रहेको जनाएको छ ।  

२५४ कम्पनीको सेयर मूल्य बढ्यो, ६ अर्बको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३८ अंकले बढेर २७१२ बिन्दुमा पुगेको हो ।  नेप्सेका अनुसार २५४ कम्पनीको सेयर मूल्य बढ्दा ६ कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३२९ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार आँखु खोला जलविद्युतको ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, रिडि पावर कम्पनीको २७ करोड, एसवाई प्यानलको २४ करोड, मन्जुश्री फाइनान्सको २२ करोड र न्यादी गुप्रको २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबारको कारोबारमा १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने व्यापार उपसमूहको परिसूचक घटेको छ । जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा धेरै २.१३ प्रतिशत बढेको छ । बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ ।  आज साल्पा विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।    

फोनपेको ‘सक्षम नारी’ अभियान सुरु, महिलामा वित्तीय आत्मविश्वास बढाउने लक्ष्य

काठमाडौं । फोनपेले वार्षिक अभियान ‘सक्षम नारी’ को तेस्रो संस्करण औपचारिक रूपमा सार्वजनिक गरेको छ । डिजिटल वित्तीय समावेशीकरणमार्फत महिलामा वित्तीय आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यसहित सञ्चालन गरिएको राष्ट्रव्यापी अभियान मार्च १ देखि मार्च ३१, २०२६ सम्म सञ्चालन हुनेछ । फोनपेले महिलालाई केवल वित्तीय सेवामा पहुँच दिलाउने मात्र नभई ती सेवा आत्मविश्वासका साथ प्रयोग गर्न प्रेरित गर्ने लक्ष्य अभियानले लिएको जनाएको छ । नेपालमा महिलाको वित्तीय पहुँच बढ्दै गए पनि वास्तविक सशक्तीकरणका लागि विश्वास, समझदारी र प्रयोग महत्वपूर्ण रहेको फोनपेको अनुभव छ । ‘सक्षम नारी’ अभियानले यही अन्तरलाई सम्बोधन गर्दै क्रेडिटप्रति रहेको परम्परागत धारणा परिवर्तन गर्न र जिम्मेवार वित्तीय निर्णयलाई प्रोत्साहन गर्न केन्द्रित रहेको कम्पनीले जनाएको छ । यस वर्षको अभियानले ‘क्रेडिट डराउने विषय हो’ भन्ने सोचलाई चुनौती दिँदै क्रेडिट कार्डलाई वृद्धि, लगानी तथा दैनिक जीवन सहज बनाउने वित्तीय साधनका रूपमा प्रस्तुत गरेको  छ। अभियानको केन्द्रमा पूर्ण रूपमा भर्चुअल फोनपे क्रेडिट कार्ड रहेको छ, जुन सहभागी बैंकहरूको मोबाइल बैंकिङ एपमार्फत सक्रिय गर्न सकिनेछ । भौतिक कार्डबिना नै सुरक्षित रूपमा कारोबार गर्न मिल्ने व्यवस्था गरिएको छ । फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले साँचो वित्तीय समावेशीकरण भनेको सेवा उपलब्ध गराउनु मात्र नभई त्यसको प्रयोगमार्फत जीवन सुधार्न सक्ने आत्मविश्वास विकास गर्नु रहेको बताए । उनका अनुसार ‘सक्षम नारी’ अभियानले महिलालाई हिच्किचाहटबाट आत्मविश्वासतर्फ अघि बढ्न सहयोग गर्नेछ । अभियान सिद्धार्थ बैंक लिमिटेड, लक्ष्मी सनराइज बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, एभरेष्ट बैंक लिमिटेड र गरिमा विकास बैंक लिमिटेडसँगको सहकार्यमा सञ्चालन भइरहेको छ । सहभागी बैंकका योग्य महिला ग्राहकले फोनपे क्रेडिट कार्ड सक्रिय गरी अभियान अवधिभित्र न्यूनतम तीन वटा कारोबार पूरा गरेर सहभागिता जनाउन सक्नेछन् । यो पहल नयाँ तथा विद्यमान दुवै प्रयोगकर्ताका लागि खुला रहेको छ भने पहिलोपटक प्रयोग सुरु गर्नेहरूलाई विशेष प्रोत्साहनको व्यवस्था गरिएको छ । अभियानअन्तर्गत फोनपेले साजुना ज्वेलर्ससँग सहकार्य गर्दै आकर्षक उपहार घोषणा गरेको छ । प्रत्येक सहभागी बैंकबाट पाँच जना विजेताले डायमण्ड गहना सेट प्राप्त गर्नेछन्, जुन पुरस्कार अभियान अवधिमा पहिलोपटक फोनपे क्रेडिट कार्ड सक्रिय गर्ने नयाँ प्रयोगकर्ताका लागि मात्र हुनेछ। साथै, प्रत्येक बैंकबाट ५० जना विजेताले ५ हजार रुपैयाँ बराबरको छुट भौचर प्राप्त गर्नेछन् । फोनपेले ‘सक्षम नारी २०२६’ अभियानमार्फत वित्तीय पहुँचसँगै वित्तीय आत्मविश्वास निर्माण गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको जनाएको छ। अभियानले देशभरका महिलालाई आत्मनिर्भर वित्तीय निर्णयमार्फत आफ्नो आर्थिक भविष्य निर्माण गर्न प्रेरित गर्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।