गुहेश्वरी मर्चेन्ट फाइनान्स नेपालपे कार्डमा आवद्ध
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेड एनपीएस नेसनल कार्ड स्वीच (एनसीएस) तथा डोमेस्टिक कार्ड स्कीम नेपालपे कार्डमा आवद्ध भएको छ । उक्त आवद्धतासँगै संस्थाले अब आफ्ना ग्राहकहरूलाई नेपालकै राष्ट्रिय स्तरको कार्ड सेवा प्रदान गर्न सक्नेछन् । एनसीएचएलसँग भएको प्रिन्सिपल मेम्बरसिप सम्झौतापत्रमा फाइनान्स तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयाराज अधिकारी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका थिए । एनसीएचएलले हालै एनपीएस एनसीएस पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थालाई नेपालपे कार्ड इस्यु र एक्वायर गर्न आह्वान गरेसँगै विभिन्न संस्थाहरू यस प्रणालीमा जोडिँदै गएका छन् । नेपालपे कार्डको कमर्सियल रोलआउटपछि गुहेश्वरी मर्चेन्ट बैंकिङ फाइनान्सले आफ्ना ग्राहकलाई सो कार्ड इस्यु र स्वीकृति सेवा दिनेछ । एनपीएस एनसीएसले विभिन्न कार्ड स्विचबीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारका लागि सस्तो, सुरक्षित र डिजिटल प्रणाली विकास गर्ने लक्ष्य लिएको छ । यसले कारोबार लागत घटाउने, डाटा लोकलाइजेसन सुनिश्चित गर्ने तथा डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।
‘मौद्रिक नीति छिटो ल्याएका छौं, अब बैंकलाई आगामी वर्षका कार्यक्रम बनाउन सहज हुनेछ’
काठमाडौं । नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूले पर्याप्त विश्लेषण गरेर कार्यान्वयन मुखी आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याइएको बताएका छन् । मौद्रिक नीति सार्वजनिक पछि राष्ट्र बैंकमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले धेरै पहिल्यैदेखि तयारी गरेर मौद्रिक नीति ल्याइएको बताए । उनका अनुसार मौद्रिक नीति सार्वजनिक गर्ने दिनको गोपनीयता राखिएको हो । खरेलले भने, ‘राष्ट्र बैंक ऐनले पनि आगामी बर्षको मौद्रिक नीति तर्जुमा गर्ने भनेको छ । यही महिनामै ल्याउनुपर्ने हो । कहिले यही महिनाको अन्त्यमा त कहिले साउनको पहिलो साता मौद्रिक नीति ल्याउने गरिएको छ । विगतमा बजेट आउन ढिलो हुँदा मौद्रिक नीति आउन समय लाग्ने गरेको थियो । १/२ गते नै सर्कुलर गरेर मौद्रिक नीतिलाई कार्यान्वयनमा लैजानेछौँ । नयाँ आर्थिक वर्ष सुरु भए लगत्तै कार्यान्वयनको गति बढ्नेछ ।’ नेपाल राष्ट्र बैंकका अर्का कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले आगामी दिनमा पनि आर्थिक वर्ष शुरु हुनु अगावै मौद्रिक नीति ल्याउन कोसिस गरिने बताए । आगामी आवको मौद्रिक नीतिलाई केही दिनअघि नै ल्याइँदा आवश्यक तयारी पुरा गर्न सहज हुने उनको विश्वास छ । पौडेलले भने, ‘यो मौद्रिक नीतिको ठूलो स्टेक होल्डर बैंक वित्त संस्था हो । बैंक तथा वित्तीय संस्थाले आगामी वर्षमा गर्नुपर्ने कार्यक्रमहरू, योजनाहरू बजेटहरुलाई पनि यो मौद्रिक नीतिले दिशा निर्देश गरेअनुसार कार्यान्वयन गर्न सहज हुनेछ । अब आगामी आवको योजनाहरू बैंक तथा वित्तीय संस्थाहरूले मौद्रिक नीतिलाई आधार बनाएर बनाउन सक्नेछन् ।’ उनले रामेश्वर खनाल नेतृत्वको आर्थिक सुधार आयोगको प्रतिवेदन, मौद्रिक नीति सुझाव समितिका प्रतिवेदनहरूलाई मौद्रिक नीतिले समेटेको बताए ।
सेयर बजारमा छायो हरियाली, १६१ कम्पनीको मूल्य बढ्यो
काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५ अंकले बढेर २७ सय ३१ बिन्दुमा पुगेको हो । आज १६१ कम्पनीको मूल्य बढ्दा ८७ कम्पनीको मूल्य घटेको छ । बिहीबार ३१२ कम्पनीको २ करोड कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ६८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्राइस्ट्रक्चर एण्ड डेभलपमेण्टको भएको छ । एनआरएनको ५७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको ३२ करोड, सानिमा बैंकको २६ करोड, सप्तकोशी डेभलपमेन्ट बैंकको १९ करोड र सीइडीबी होल्डीङसको १९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा मकर खोला हाइड्रोको ८.१५ प्रतिशत, मान्दु हाइड्रोको ६.७६ प्रतिशत, समता घरेलु लघुवित्तको ६.५७, भगवती हाइड्रोको ६.५२ प्रतिशत र सनिमा बैंकको ४.८० प्रतिशतले सेयर मूल्य बढेको छ ।