‘स्मार्ट मनी टक्स’ अभियानमार्फत प्रभु बैंकले बढायो वित्तीय साक्षरता

काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘स्मार्ट मनी टक्स’ भन्ने मूल नारासहित ग्लोबल मनी वीक–२०२६ अन्तर्गत देशका विभिन्न स्थानमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले २०८२ चैत २ गतेदेखि सुरु गरेको साताव्यापी अभियान चैत ८ गते सम्पन्न भएको हो । बैंकले सातै प्रदेशमा रहेका आफ्ना २०० भन्दा बढी शाखामार्फत वित्तीय साक्षरता, बालबालिका तथा युवालक्षित चेतनामूलक कार्यक्रम र प्रभातफेरी आयोजना गरी अभियान सञ्चालन गरेको जनाएको छ । कार्यक्रमअन्तर्गत समुदाय, महिला, विद्यार्थी तथा युवाहरूलाई आधुनिक बैंकिङ, बचत, ऋण, लगानी, विद्युतीय बैंकिङ सेवा तथा सुरक्षित वित्तीय कारोबारसम्बन्धी जानकारी प्रदान गरिएको थियो । बैंकले डिजिटल बैंकिङ प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीबारे पनि सचेतना फैलाएको छ । अज्ञात स्रोतबाट आएका लिंक नखोल्न, संवेदनशील व्यक्तिगत विवरण साझा नगर्न तथा डिजिटल ठगीबाट सुरक्षित रहन सम्बन्धी सूचना बैंकले आफ्ना आधिकारिक सामाजिक सञ्जालमार्फत समेत प्रवाह गर्दै आएको जनाएको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले देशभर वित्तीय साक्षरता कार्यक्रम विस्तार गरेको हो । अभियानअन्तर्गत बागमती प्रदेशका ४७, गण्डकीका ५२, लुम्बिनीका १६, कोशीका ३९, मधेशका २९, कर्णालीका १४ र सुदूरपश्चिमका १९ शाखामार्फत कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालय, २८५ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान भइरहेको छ । ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय बैंकिङ सेवा विस्तार गर्दै आएको जनाएको छ ।   

कामना सेवा विकास बैंक र चितवन ग्रान्ड रिजेन्सी रिसोर्टबीच छुट सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चितवनको भरतपुरस्थित चितवन ग्रान्ड रिजेन्सी रिसोर्टसँग सेवा शुल्कमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले रिसोर्टमा अकोमोडेसन, फुड तथा बेभरेज सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकसँग आबद्ध भएको प्रमाण प्रस्तुत गरेपछि ग्राहकहरूले उक्त सुविधा सहज रूपमा लिन सक्ने बैंकले जनाएको छ । बैंकले यस सम्झौताबाट आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई लाभ पुग्ने विश्वास व्यक्त गरेको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट नारायणगढ क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारी तथा रिसोर्टका प्रबन्ध निर्देशक जनार्धन रिजालले हस्ताक्षर गरेका छन् । बैंकले ग्राहकलाई लक्षित विभिन्न सहुलियत तथा साझेदारी कार्यक्रममार्फत सेवा विस्तार गर्दै आएको जनाएको छ ।   

एनआईसी एशिया क्यापिटलको वित्तीय सचेतना कार्यक्रम मेलम्चीमा सम्पन्न

काठमाडौं । ग्लोबल मनी वीक २०२६ को अवसरमा एनआईसी एशिया क्यापिटल लिमिटेडले सिन्धुपाल्चोकमा मुद्रा बजार तथा पूँजी बजार साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको क्यापिटलले सोही अभियानलाई निरन्तरता दिँदै मेलम्ची भ्याली क्याम्पस, सिन्धुपाल्चोकमा चैत्र ६ गते ‘मुद्रा बजार तथा पूँजी बजार साक्षरता तथा अन्तरक्रिया कार्यक्रम’ आयोजना गरेको हो । कार्यक्रममा क्यापिटलका प्रमुख मर्चेन्ट बैंकिङ अधिकृत दामोदर रायमाझीले ग्लोबल मनी वीक २०२६ को मुख्य थिम ‘स्मार्ट मनी टक्स’ मा आधारित प्रस्तुति दिएका थिए । उनले विद्यार्थी जीवनदेखि नै बचत गर्ने बानी विकास गर्ने तरिका, स–सानो बचतलाई सरल रूपमा लगानी गर्ने उपाय तथा वित्तीय अनुशासनको महत्वबारे विस्तृत जानकारी गराए । त्यसक्रममा बैंक खाता तथा डिम्याट खाता खोल्ने प्रक्रिया, प्राथमिक शेयर (आईपीओ), धितोपत्रको दोस्रो बजार, मुद्रा बजार उपकरण, सामूहिक लगानी कोष, एसआईपी तथा सूचीकृत कम्पनीहरूमा लगानी गर्दा ध्यान दिनुपर्ने विषयहरूबारे समेत जानकारी प्रदान गरिएको थियो । साथै पूँजी बजारको पछिल्लो अवस्था सम्बन्धमा छलफल समेत गरिएको थियो । कार्यक्रममा रायमाझीले एएमएल/सीएफटी सम्बन्धी आधारभूत जानकारी तथा वित्तीय कारोबार गर्दा अपनाउनुपर्ने सावधानीबारे पनि सहभागीलाई अवगत गराएका थिए । अन्त्यमा विद्यार्थी, शिक्षक तथा क्याम्पसका कर्मचारीहरूको सक्रिय सहभागितामा मुद्रा तथा पूँजी बजारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा २२० भन्दा बढी विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।