२.९२ अंकले बढ्यो नेप्से, परिसूचक बढ्यो, ४६ करोडको कारोबार
काठमाडौँ । धितोपत्र बजारमा साताको शुरुआतदेखि नै ओरालो लागेको कारोवार मापक नेप्से परिसूचक मङ्गलबार भने उकालो लागेको छ । उतारचढावका बीच आज नेप्से परिसूचक २.९२ अङ्कले बढेर एक हजार २५०.२७ मा पुगेर थामियो । त्यस्तै ठूला कम्पनीका शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक ०.२७ अङ्कले बढेर २६९.०६ मा पुग्यो । परिसूचक बढे पनि कारोवार रकममा भने खासै प्रगति देखिएन । स्टकका अनुसार आज १६५ कम्पनीका १६ लाख सात हजार ६७२ कित्ता शेयर रु ४६ करोड ८२ लाख ६३ हजार ७७० मा खरीद-बिक्री भए । कारोवार भएका ११ मध्ये सात उपसमूहको शेयर मात्र बढेको छ भने चार उपसमूहको शेयर ओरालो लागेको छ । बैंक ३.८७, विकास बैंक ४.१८, जलविद्युत् २.२४, वित्त ४.९४, उत्पादन ३.०८, अन्य १.२६ र जीवन बीमा २४.१२ अङ्कले बढ्दा होटल ५.६४, निर्जीवन बीमा ३७.०५, लघुवित्त ०.४१ र सामूहिक लगानी कोष ०.०१ अङ्कले घटे । स्टकका अनुसार कारोवार रकमका आधारमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको संस्थापक शेयर शीर्ष स्थानमा रह्यो । सो बैंकको छ करोड दुई लाख ९८ हजार ९४ रुपैँया ३० पैसामा कारोवार भयो । यस्तै लक्ष्मी बैंकको रु चार करोड १३ लाख ३५ हजार २७७, नेपाल बैंक लिमिटेडको रु दुई करोड ६८ लाख ११ हजार ८५३, एनआइसी एशिया बैंकको रु एक करोड ८९ लाख ५८ हजार ४२९ र मेगा बैंक नेपालको शेयर रु एक करोड ७० लाख ८८ हजार ९३० मा खरीद बिक्री भए । परिसूचक बढे पनि सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले ४.२८ प्रशितले गुमाए । यस्तै समिट लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयर धनीले ३.९२, सिटी एक्स्प्रेस फाइनान्स कम्पनी ३.८४, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था ३.४४ र एभरेष्ट इन्सुरेन्स कम्पनीका शेयरधनीले २.९६ प्रतिशतले गुमाए । इन्फिनिटी लघुवित्त वित्तीय लिमिटेडका शेयरधनीले ९.८५, मल्टिप्रपोज फाइनान्स कम्पनी लिमिटेड ८.००, राधी विद्युत् कम्पनी ७.१४, लक्ष्मी लघुवित्त वित्तीय संस्था ३.९५ र गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.६१ प्रतिशतले कमाए ।
काठमाडौं महानगरकै पहिलो होमस्टे हाडीगाउँमा, तयार भयो जनशक्ति
काठमाडौं । काठमाडौं महानगरपालिको हाडीगाउँमा घरबास (होमस्टे) संचालन हुने भएाको छ । पौराणिक तथा ऐतिहासिक महत्व बोकेको हाडीगाउँमा महानगरकै पहिलो होमस्टे संचालन गर्ने तयारी गरिएको छ । होमस्टे संचालन गर्नका लागि २८ जना जनशक्ति तयार भएको आयोजक संस्था त्रिशक्ति महिला समूहकी अध्यक्ष उमा कार्कीले बताइन् । ‘हामीले यहि असार १९ गतेदेखि २३ गतेसम्म होमस्टे संचालन गर्न सैद्धान्तिक ज्ञान लियौ,’ उनले भनिन् ‘ अब प्रयोगात्मक ज्ञान लिएर होमस्टे संचालन गछौं ।’ नेपालको पौराणिक कला र संस्कृति हेर्न जाऔं हाडीगाउँ भन्दै उनले थपिन् ‘स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्य हाडीगाउँ बन्ने छ ।’ होमस्टेको प्रवद्र्धनका निम्ति व्यवहारिक ज्ञान आवश्यक भएको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिस्ठान (नाथम)का कार्यकारी निर्देशक दुर्गादत्त ढकालले बताए । त्रिशक्ति महिला समूहले सोमबार गहनापोखरीमा आयोजना गरेको पाँच दिने होमस्टे तालिम समापन समारोहलाई सम्बोधन गर्दै ढकालले भने ‘ सैद्धान्तिक ज्ञान लिएपछि त्यसलाई व्यवहारिक बनाउन औपचारिक तालिम लिनैपर्छ ।’ यस्तो तालिमको अवसर सबैले नपाउने भएकोले माग भएका र आवश्यकता औल्याइका स्थानमा दिइनुपर्ने उनको भनाइ छ । उनले त्रिशक्ति महिला समूहलाई पनि व्यवहारिक ज्ञान दिलाउन नाथमले निःशुल्क खानपान कुकिङको एकहप्ते तालिम दिने बताए । आगामी साउन पहिलो साता नै प्रयोगात्मक ज्ञान हासिल गरेर होमस्टे संचालन गर्न समेत उनले सुझाए । कार्यक्रममा ढकालले आवश्यक तयारीका साथ समूह आफैं सक्रिया भएर उपयुक्त प्रस्ताव लिएर आएमा आवश्यक सहयोग गर्न सकिने पनि बताए । कार्यक्रममा नेपाल पर्यटन बोर्डका अधिकृत सुशीला बरालले महिला समूहले काठमाडौंमा नै सामुदायिक होमस्टे सुरु गर्न तालिम लिनु सुरुवाती चरण मात्रै भएको बताइन् । आधारभूत होमस्टले तालिमले प्रारम्भिक ज्ञान मात्रै दिएकोले व्यवहारिक ज्ञानसहित थप प्रोत्साहन र क्षमता विकासको काम गरिरहनुपर्ने उनले औल्याइन् । तालिम र ज्ञान भनेको एक पटकको मात्रै पूर्ण नहुने र पटकपटक आवश्यक पर्ने पनि बताइन् । कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरका ५ नम्बर वडा अध्यक्ष रमेश डंगोलले ठाउँ विशेषको महत्व दर्शाउन र आफ्नो स्थानको पहिचान दिलाउन होमस्टे प्रभावकारी हुँदै गएको बताए । उनले आर्थिक उपार्जनको माध्यम बन्न सक्ने र पर्यटनको पछिल्लो समयको प्रभावकारी माध्यम पनि होमस्टे नै भएको बताए । सोही कार्यक्रममा प्रा.डा प्रेम शर्माले नेपाली होमस्टेको प्रवद्र्धन गर्न हरेक सामूदायले आ आफ्नो ढंगबाट कार्यक्रम अगाडी सार्नुपर्ने अवाश्यकता औलाए । होमस्टे तालिमका लागि थप व्यवहारिक ज्ञान हासिल गर्न त्रिशक्ति महिला समूहका सल्लाहकार तथा वरिष्ठ अधिवक्ता उद्धव केसीले सहयोग गर्ने बताए । नेपाल पर्यटन बोर्डको आर्थिक सहयोगमा उक्त प्रशिक्षण तालिम संचालन गरिएको हो ।
स्वावलम्बन लघुवित्तले ३ लाख ७७ हजार कित्ता संस्थापक समूहको सेयर बिक्री गर्ने
काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ७७ हजार ४५७.५ कित्ता संस्थापक समूहको सेयर बोलपत्रद्वारा बिक्री गरिने भएको छ । प्रति सेयर मूल्य ३ सय रुपैयाँ रहेको छ । सो भन्दा बढी मूल्य अंकित गरी असार ३१ गतेदेखि साउन २९ गतेसम्म प्रति सेयर के कति दर रेटमा लिन कबुल गर्ने हो सो को शिलबन्दी बोलपत्र आवेदन बिद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले पेश गर्न सक्नेछन् । बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १०० कित्ताको लागि आवदेन दिनु पर्ने र अधिकतम सेयर संख्याको लागि भने कुनै हद नलाग्ने बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।