आँधिखोलाको ३ लाख ७५ हजार कित्ता आइपीओ आजदेखि, २५ गतेसम्म भर्न सकिने
काठमाडौँ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर(आइपीओ) असार २२ गतेदेखि खुलेको छ । स्याङजा भीरकोट बयरघारी केन्द्रीय कार्यालय भई कास्की, पाल्पा, रुपन्देही, कपिलवस्तु, गुल्मी, नवलपरासी, तनहुँ, अर्घाखाँची र लमजुङ जिल्ला कार्यक्षेत्र भएको आँधिखोलाको ४ लाख कित्ता सेयर खुलेको हो । जसमध्ये ३ लाख ७५ हजार कित्ता सर्वसाधारणलाई, ५ हजार कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार कित्ता सामुहिक लगानी कोषलाई दिइने छ । उक्त सेयरका लागि न्यूनतम १० कित्तादेखि २००० कित्तासम्म आवेदन दिन सकिने छ । असार २२ गतेदेखि खुल्ने सेयर छिटोमा असार २५ गते र ढिलोमा साउन २० गते बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ ।
लघुवित्तपनि मर्जरमा जाँदै, घरेलु लघुवित्तले बनायो २ सदस्यीय समिति
काठमाडौँ । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर वा एक्वीजीशन गर्नका लागि समिति गठन गरेको छ । प्रमुख कार्यकारी अधिकृत(सिइओ) बद्रीप्रसाद अधिकारीका अनुसार राष्ट्र बैंकले लिएको नीति अनुसार बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने वा प्राप्ती गरेर पूँजी बृद्धि लगायत थप व्यवस्थित गर्नका लागि समिति गठन गरिएको हो । सञ्चालक समितिको बैठकले सञ्चालकहरु निरञ्जनप्रसाद न्यौपाने र पदमकुमारी कार्की रहेको समिति गठन गरी राष्ट्र बैंकलाई जानकारी गराइएको सिइओ अधिकारीले जनाएका छन् ।
आजदेखि खुल्यो घोडीघोडा लघुवित्तको आईपीओ
काठमाडौं । घोडीघोडा लघुवित्तको आईपीओ असार २० गतेदेखि खुलेको छ । असार २५ गतेसम्म आईपीओमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कञ्चनपुरमा मुख्य कार्यालय भई कैलाली र कञ्चनपुर जिल्ला कार्यक्षेत्र रहेको घोडाघोडीको १ लाख ३२ हजार ६०० कित्ता शेयर खुलेको हो । जसमध्ये १ लाख २४ हजार ५९० कित्ता शेयर सर्वसाधारणलाई र बाँकी संस्थाका कर्मचारी र म्युचुअल फण्डलाई दिइने छ । उक्त शेयर न्यूनतम १० देखि १००० कित्तासम्मको लागि आवेदन दिन सकिन्छ । लघुवित्तको शेयर १०१ रुपैंयादेखि ३०२ रुपैंयासम्मको रेञ्जमा कारोबार हुनेछ ।