१ लाख ७ हजार घुस लिएको अभियोगमा महानगरका नायव सुब्बा सोती अख्तियारको नियन्त्रणमा
काठमाडौं । काठमाडौं महानगरपालिका, समाजिक विकास विभागका नायव सुब्बा कृष्ण प्रसाद सोतीलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले एक लाख सात हजार रुपैयाँ घुस रकम सहित नियन्त्रणमा लिएको छ । नायव सुब्बा कृष्ण प्रसाद सोतीले सेवाग्राहीसँग सामाजिक विकास विभाग मार्फत कायान्वयनमा आएको रकमको कार्य सम्पादन गरी रकम भुक्तानी गरे वापत घुस र रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा आयोगले नियन्त्रणमा लिएको हो । निजलाई घुसबापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसर बरमहलबाट रंगे हात नियन्त्रण लिइएको आयोगद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नेप्से पाँच अङ्कले बढ्यो, तर बढेन कारोबार रकम
काठमाडौँ । सामान्य अवस्थामा रहेको धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५.०८ बिन्दुले बढेर एक हजार २५४.५६ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत १.७१ बिन्दुले बढेर २७०.२८ बिन्दुमा पुगेको छ । नेप्से परिसूचक बढे पनि अपेक्षाकृतरूपमा कारोबार रकममा भने वृद्धि भएन । कूल १७० कम्पनीको २९ लाख ७३ हजार ८४३ कित्ता शेयर रु ४३ करोड पाँच लाख २५ हजार ८४३ मूल्यमा खरीद–बिक्री भए । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार भएका ११ उपसमूहकै शेयर उकालो लागेको छ । बैंकिङ २.७६, होटल २४.२५, विकास बैंक ३.७, जलविद्युत् १४.८३, वित्त २.९५, निर्जीवन बीमा १५.६५, उत्पादन ३२६.६९, अन्य ३.२६, लघुवित्त ४.७१, जीवन बीमा २०.५५ र सामूहिक लगानी कोष ०.१३ बिन्दुले बढेको छ । कारोबारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रह्यो । सो बैंकको रु पाँच करोड २१ लाख ९१ हजार ९४५ बराबरको कारोबार भयो । यस्तै शिवम् सिमेन्ट रु तीन करोड ५९ लाख छ हजार ६२५, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु दुई करोड ५४ लाख २८ हजार ४१८, नबिल बैंक रु दुई करोड ४८ लाख ४४ हजार ८०३, नेपाल लाइफ इन्सुरेन्स कम्पनी रु दुई करोड ३३ लाख ९२ हजार ७२४ र एनआइसिएशिया बैंक रु दुई करोड छ लाख २५ हजार ७८५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार स्वदेशी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले पाँच प्रतिशतले कमाए । यस्तै, एनआइसि एसिया ग्रोथ फण्ड ४.८१, रैराङ हाइड्रोपावर ४.६३, रिलायन्स फाइनान्स ४.१३, एनआइबिएल प्रगति फण्ड ४, गुराँस लघुवित्त वित्तीय संस्थाले शेयरधनीले ३.९० प्रतिशतले कमाए । त्यस्तै नबिल बैंक ३.१५, मल्टिपर्पोज फाइनान्स कम्पनी २.४५, घलेम्दी हाइड्रोपावर २.२९, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था २, सिर्जना फाइनान्स १.९१ प्रतिशतले गुमाए ।
प्रोग्रेशिभ फाइनान्सको साधारण सभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा पुनः किशोरकुमार महर्जन
काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लि.को एक्काइसौं तथा बाइसौं बार्षिक साधारण सभा आइतबार सम्पन्न गरेको छ । सभामा संस्थाका अध्यक्ष किशोरकुमार महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गर्दै संस्थाले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा गरेका कार्यक्रम तथा गतिविधिहरुबारे प्रकाश पारे । सो साधारण सभाले आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणका साथै सम्पूर्ण अनूसूचीहरु सहितको वित्तीय विवरणहरु छलफल पश्चात पारित गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७५/७६का निम्ति बाह्य लेखा परीक्षकका रुपमा एसएमसी एशोसिएट्स, चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । साथै संस्थाको साधारण सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनका निम्ति प्रस्तुत विषयहरु सर्वसम्मतिले पारित गरेको कम्पनी सचिव विशाल हुमागाईँले बताए । साधारण सभाले नयाँ संचालक समिति समेत चयन गरेको छ । संस्थापक समूहबाट किशोरकुमार महर्जन, लक्ष्मीप्रसाद महर्जन एवम् शम्भुलाल डंगोल निर्विरोध सञ्चालक निर्वाचित भए । सञ्चालक समितिको अध्यक्षमा पुनः किशोरकुमार महर्जन सर्वसाधारण समूहबाट समुद्रकाजी श्रेष्ठ, अनिश महर्जन एवम् सविना महर्जन सञ्चालकमा निर्विरोध निर्वाचित भएका हुन् । नवनिर्वाचित सञ्चालकहरुलाई निर्वाचन अधिकृत रोशनकुमार बजिमयले प्रमाणपत्र वितरण गरे । साधारण सभा लगत्तै बसेको नवनिर्वाचित संचालक समितिको बैठकले किशोरकुमार महर्जनलाई पुनःअध्यक्षको रुपमा सर्वसम्मतिबाट चयन गरेको छ ।