४.२० अंकले घट्यो नेप्से, वित्त र लघुवित्त बाहेक सबै समूह राताम्मे
काठमाडौँ । साताको पहिलो दिन आज नेप्से परिसूचक ४.२० अंकले घटेको छ । ०.३३ प्रतिशतले परिसूचक घट्दा १२५९.६४ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आइतबार १६९ कम्पनीका १४ लाख ६७ हजार ४ सय ६७ कित्ता सेयर किनबेच हुँदा ४७ करोड ४१ लाख ५१ हजार ७ सय २९ रुपैयाँ बराबरको कारोबार भएको छ । आज वित्त र लघुवित्त समूह बाहेकका सबै समूह राताम्मे भए । बैंकिङ समूह ३.४९, होटल समूह ४.७१, विकास बैंक समूह ३.७, जलविद्युत समूह १०.२८, निर्जीवन बीमा समूह २४.५६, उत्पादनमूलक समूह १९.६१, अन्य समूह १.५१, जीनव बीमा समूह २३.०७ र म्युचुअल फण्ड ०.०९ अंकले घटेका छन् । त्यसैगरी वित्त समूह १.०३ र लघुवित्त समूह ०.२३ अंकले बढेका छन् । बजार घटेको दिन स्वरोजगार लघुवित्त विकास बैंकका सेयरधनीले सबैभन्दा बढी १० प्रतिशत नाफा कमाएका छन् भने हिमाल पावर पार्टनर लिमिटेडका सेयरधनीले सबैभन्दा बढी ५.०५ प्रतिशतले घाटा व्यहोरेका छन् । आज नेपाल बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड, गरिमा विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, प्रभु बैंक लिमिटेड र सानिमा बैंक लिमिटेडको सेयर सबैभन्दा बढी किनबेच भएको नेप्सेले जनाएको छ ।
नयाँ रेकर्डमा सुन, तोलाको ६६ हजार ३ सय, अझ बढ्ने संकेत
काठमाडौं । आइतबार प्रतितोला सुनको मूल्य ५ सय रुपैयाँले बढेर ६६ हजार ३ सय पुगेको छ । शुक्रबार ६५ हजार ८ सयमा कारोबार भएको सुन एक्कै दिन ५ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढे पछि त्यसको असर घरेलु बजारमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । चीन र अमेरिकी व्यापार विवादका कारण सुनको मूल्य उकालो लागेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । ‘बजार भन्न सकिने अवस्थामा छैन,’ उनले भने ‘अझै उकालो लाग्न सक्नेछ ।’ त्यस्तै आइतबार प्रतितोला चाँदी ७ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ ।
साउन २४ गतेसम्म हिमाल दोलखाको आईपीओ भर्न सकिने, आगामी वर्षबाटै लाभांश दिने
काठमाडौँ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडले गत असारमा निष्काशन साधारण सेयर(आइपीओ) साउन २४ गते सम्ममा मात्र खुल्ला गरिने जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कम्पनीले खुल्ला गरेको ७४ लाख ९३ हजार ७ सय ६६ कित्ता सेयरका लागि साउन २४ सम्ममा मात्र आवेदन दिन सकिने जनाएको हो । आगामी आवदेखि कम्पनी नाफामा गई सेयरधनीहरुलाई लाभांश दिन सक्ने भएकाले सर्वसाधारण लगानीकर्ताहरुको लागि लगानीको राम्रो अवसर रहेको कम्पनीले जनाएको छ । प्रति सेयर एक सयका दरले न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्म आवेदनदिन सकिने छ । कम्पनीका बित्तीय म्यानेजर अनन्त कार्कीले कम्पनीले एभरेष्ट बैंकसँग ३३ करोड कर्जा लिएको बताउँदै उक्त आईपीओ निष्कासनबाट प्राप्त हुने सम्पूर्ण आम्दानी रकम बैंकको कर्जा तिर्न उपयोग गरिने बताए । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेड इलाम जिल्लाको इलाम नगरपालिका वडा नं. ९, १० र माईनगरपालिका वडा नं. ९ मा रहेको छ । कम्पनीसँग माई खोला साना जलविद्युत आयोजना(४.५ मेगावाट) र माई खोला साना क्यासकेड जलविद्युत आयोजना(८ मेगावाट) दुवै आयोजनाहरुबाट २०६७ फागुन १ र २०७५ चैत २६ गतेदेखि ब्यापारिक उत्पादन शुरु भैसकेको छ । यस कम्पनीले केबीएनआर इशुवापावर लिमिटेड(९७.२ मेगावाट) मा १९५ शेयर लगानी गरेको छ । उक्त आयोजनामा प्रति मेगावाट लागत १० करोड रहेको र सोबाट प्रति मेगावाट ४.३५ करोड आम्दानी हुने जनाएको छ । हिमाल दोलखाकोे आइपीओ आजदेखि, १ लाख कित्तासम्म भर्न पाइने