सेयर बजारमा दोहोरो अंकको गिरावट, रसुवागढी र साञ्जेनका लगानीकर्तालाई सबैभन्दा बढी घाटा
काठमाडौँ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झण्डै १० अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार विहीबार ९.९२ अंकले नेप्से परिसूचक घटेको हो । ०.७९ प्रतिशतले परिसूचक घट्टा १२३८.५६ बिन्दुमा पुगेको छ । आज १६६ कम्पनीका १८ लाख ७७ हजार ५ सय ४२ कित्ता सेयर किनबेच हुँदा ४५ करोड ४६ लाख २९ हजार ५ सय ७५ रुपैयाँको कारोबार भएको छ । सेयर परिसूचक पूरै राताम्मे भएको छ । बैंकिङ समूह ५.५४, ट्रेडिङ समूह २.०३, होटल समूह २०.८३, विकास बैंक समूह ८.१५, जलविद्युत समूह ३१.३५, वित्त समूह ४.९७, निर्जीवन बीमा समूह ७५.४५, उत्पादनमूलक समूह ११.८५, अन्य समूह ५.३४, लघुवित्त समूह २ं०.३२, जीवन बीमा समूह २६.५५ र म्युचुअल फण्ड ०.०२ अंकले घटेका छन् । आज सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनीले सबैभन्दा बढी ५.७१ प्रतिशतले नाफा कमाएका छन् भने रसुवागढी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ९.७० प्रतिशतले घाटा व्यहोरेका छन् । सबैभन्दा बढी घाटा व्यहोर्नेमा दोश्रो नम्बरमा साञ्जेन जलविद्युत कम्पनी लिमिटेडका सेयरधनी परेका छन्, उनीहरुले ४.६८ प्रतिशत घाटा व्यहोरेका हुन् । अघिल्लो दिन २६७ रुपैयाँमा कारोबार भएर बन्द भएको रसुवागढीको सेयर आज २३७ रुपैयाँमा झरेको छ । त्यसैगरी बुधबार साञ्जेनको सेयर कारोबार २६१ रुपैयाँमा भएको थियो भने आज २३५ रुपैयाँमा झरेर बन्द भएको छ ।
सानिमा इक्वीटी फण्डका इकाईधनीले १० प्रतिशत नगद लाभांश पाउने
काठमाडौँ । सानिमा इक्वीटी फण्डले आर्थिक वर्ष २०७५/७६ को लागि योजनाका इकाईधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सानिमा क्यापिटल लिमिटेड सञ्चालक समितिको मंगलबार बसेको बैठकले सानिमा बैंकद्वारा प्रबद्र्धन गरिएको सानिमा क्यापिटल योजना व्यवस्थापक रहेको सानिमा म्युचुअल फण्ड अन्तरगत सञ्चालित सानिमा इक्वीटी फण्डका इकाईधनीलाई नगद लाभांश दिने निर्णय गरेको हो ।
सिद्धार्थ इक्वीटी फण्डका इकाईधनीले ११ प्रतिशत प्रतिफल पाउने, भदौ १ गते बुक क्लोज
काठमाडौँ । सिद्धार्थ इक्वीटी फण्डका इकाईधनीहरुले ११ प्रतिशत प्रतिफल पाउने भएका छन् । सिद्धार्थ क्यापिटल सञ्चालक समितिको बैठकले आव २०७५/७६ को लागि १६ करोड ५० लाख बराबरको प्रतिफल वितरण गर्ने भएको हो । प्रतिफल प्रयोजनका लागि भदौ १ गते दर्ता किताब बन्द गर्न लागिएको कम्पनी सचिव सन्दीप कार्कीले बताए ।