हाथवे फाइनान्सको एसजीएमले पारित गर्यो ग्लोबल आईएमईसँग गाभिने प्रस्ताव

काठमाडौा । हाथवे फाइनान्स कम्पनी लिमिटेडको विशेष साधारण सभा(एसजीएम)ले ग्लोबल आईएमई बैंकसँग गाभिने प्रस्ताव पारित गरेको छ । फाइनान्सको मंगलबार धरानमा सम्पन्न विशेष साधारण सभाले डिडिएबाट प्राप्त १००ः४२ स्वाप रेसियोलाई स्वीकृत गरेको जनाइएको छ । यसअघि नै ग्लोबल आइएमई बैंक र हाथवे फाइनान्स बीच मर्जर तथा प्राप्ती सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । यसैगरि मर्जर तथा प्राप्ती गर्ने सन्दर्भमा नियमनकारी निकायहरुबाट कुनै संसोधन वा अन्य निर्देशन दिएमा सो सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गरेको छ।

सेयर लगानीकर्ताले धितोपत्र बोर्डमा बुझाए विरोध पत्र, आन्दोलनमा उत्रने चेतावनी

काठमाडौँ । पूँजीगत लाभकर गणनाको बिरोध गर्दै सेयर लगानीकर्ताहरुले धितोपत्र बोर्डमा बिरोध पत्र बुझाएका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार, सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल, नेपाल पूँजीबजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल, सेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकाल र नेपाल पूँजी बजार संघका अध्यक्ष संरक्षणा चौधरीले मंलगबार धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीलाई बिरोध पत्र बुझाएका हुन् । लगानीकर्ताहरूलाई सेयर दलाल व्यवसायीको कार्यालयमा गएर ल्याप्चे सहितको आधार मूल्यको स्वघोषणा गर्नुपर्ने व्यवस्था लागु भएको सूचना जारी सम्पूर्ण लगानीकर्ताहरूलाई आक्रोसित र उत्तेजित बनाउने काम भएकोमा यस्ता काम कारवाहीप्रति लगानीकर्ताहरुले सामुहिक रुपमा आपत्ति जनाएका हुन् । साउन ८ गते भएको सर्वपक्षीय सहमतिको सीघ्र कार्यान्वयन र ल्याप्चे आतंकको अन्त्य गर्न माग गर्दै सम्पूर्ण लगानीकर्ताहरूलाई ल्याप्चे नलगाउन र आवश्यक परेमा आन्दोलनमा सहभागिता र समर्थन गर्नु हुन अनुरोध गर्न वाध्य हुने विरोध पत्रमा उल्लेख छ ।

नेप्सेमा तीन अङ्कको वृद्धि, ३५ करोड ८ लाखको कारोबार

काठमाडौँ । आइतबार दोहोरो अङ्कले आरोलो लागेर बन्द भएको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने तीन अङ्क बढीले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.१८ विन्दुले बढेर एक हजार २५५.९८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.०८ विन्दुले बढेर २७१.११ मा पुगेको छ । कारोवार रकम भने आइतबारको तुलनामा घटेको छ । आज कूल १६६ कम्पनीको १२ लाख आठ हजार ३४२ कित्ता शेयर रु ३५ करोड आठ लाख १२ हजार ५७२ मूल्यमा खरीद बिक्री भए । आइतबार कुल १६६ कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता शेयर रु ४९ करोड २६ लाख ७३ हजार ६५२ मूल्यमा कारोबार भएको थियो । स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ । उत्पादन ४.१६, जीवन बीमा १५.७९ र सामूहिक लगानी कोष ०.०१ विन्दुले घटेको छ । यस्तै होटल उपसमुहको कारोवारका बारेमा भने कुनै विवरण उल्लेख छैन । बैंकिङ २.५९, विकास बैंक ३.७८, जलविद्युत् १.४८, वित्त ५.१९, निर्जीवन बीमा १.३४, अन्य २.२ र लघुवित्त २३.४ विन्दुले बढेको छ । स्टकका अनुसार कारोवारका आधारमा आज युनाइटेड इन्स्योरेन्स कम्पनी रु दुई करोड ३८ लाख ६६ हजार ४६ बराबरको कारोवार भई शीर्ष स्थानमा रह्यो । यस्तै प्रभु बैंक रु दुई करोड २३ लाख ७९ हजार ३८७, साना किसान विकास बैंक रु दुई करोड नौ लाख तीन हजार ६३१, शिवम् सिमेन्ट रु एक करोड ८४ लाख १७ हजार ७८, कृषि विकास बैंक रु एक करोड ५२ लाख ५२ हजार ७१२ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ३५ लाख ४१ हजार ६०४ मूल्यमा खरीद बिक्री भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज दश प्रतिशतले कमाए । सिर्जना फाइनान्स वित्तीय संस्था ९.७०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ९।३४, स्पर्श लघुवित्त वित्तीय संस्था ८.७३, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ७.०६, गुराँस लघुवित्त वित्तीय संस्था ६।४८ र आशा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ६.२२ प्रतिशतले कमाएका छन् । यस्तै, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ३.८४, यूनिभर्सल पावर कम्पनी ३.२९, सिनर्जी पावर ३.२९, युनाइटेड इन्स्योरेन्स कम्पनी २.६३, र एनआइबिएल समृद्धि फण्ड एकका लगानीकर्ताले २.५५ प्रतिशतले गुमाए ।