कोरोनाको कारण विदेशमा ज्यान गुमाएका ७९ परिवारलाई आइएमई पेको साढे ३९ लाख सहयोग

काठमाडौं । विदेशमा कोरोना भाइरसको संक्रमणमा परेर मृत्यु भएका परिवारलाई आइएमईपेले ३९ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । आइएमईपेले शुक्रबार एक कार्यक्रमको आयोजना गरी काेराेना भाइरसको कारण मृत्यु भएका परिवारलाई जनही ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । कोरोना भाइरसको कारण विदेशमा मृत्यु भएका श्रमिकहरुका आफन्तहरुलाई सहयोग गर्ने उद्धेश्यले आइएमई भरोशा कोषको रकम हस्तान्तरण गरेकाे बताएकाे हाे । आइएमईपेले ७९ जना पीडित परिवारलाई जनही ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले पीडितहरुलाई चेक हस्तान्तरण गरेका हुन् । उनले चेक हस्तान्तरण कार्यक्रममा बोल्दै पीडित परिवारको घाउमा मल्हम लगाउने उद्धेश्यले सानै भएपनि सो रकम सहयोग गरेको बताए । ‘म आफै पनि कोरोना संक्रमित भएँ, कोरोना भाइरस संक्रमित र संक्रमितका परिवारलाई हुने पीडा मैले आफैले महसुस गरेको छु, हामीले हाम्रो संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो रकम सहयोग गरेका छौं, यसले थोरै भएपनि पीडितको घाउमा मल्हम लाग्छ,’ उनले भने । यस्तै, कार्यक्रममा आइएमईपेका प्रवन्ध निर्देशक हेमराज ढकालले निजी क्षेत्रबाट स्थापित यस कोषले प्रभावित परिवारलाई केही न केही सहयोग पुग्ने उल्लेख गर्दै देश र आफ्नो समाज छाडेर परिवारको लालनपालनका लागि विदेशमा गएका श्रमिकको निधन हुनु धेरै दुखद भएको भन्दै पीडित परिवारहरुलाई सहयोग गरेकाे बताए । ‘हामी सबैले एक अर्कालाई सहयोग गर्ने बानी बसालौं, यो एउटा हाम्राे सुरुवाती मात्र हो, भोलि हामी जस्तै धेरै संस्थाहरुले पनि यस्तो अभ्यास गरुन् भन्ने हाम्रो सोच हो, ’ उनले भने । यस्तै, आइएमई पेका प्रमुख कार्यकारी अधिकृत पोखरेरले पनि भरोशा कोष स्थापनाको उद्धेश्यमाथि प्रकाश पारे । उनले संस्थाको उद्धेश्य नाफा हेर्ने मात्र नभई संस्थागत सामाजिक उत्तरदायित्व पनि भएकोले तयसको उद्धेश्य र पीडित परिवारहरुको घाउमा मल्हम लगाउने प्रयास आफुहरुले गरेको बताए । कार्यक्रममा आईएमईपेका ब्राण्ड एम्बास्डर दिपकराज गिरी र दिपाश्री निरौला पनि उपस्थित थिए ।

यूनाईटेड ईदी-मर्दीको आईपीओ सूचीकृत, कतिमा हुन्छ पहिलाे काराेबार ?

काठमाडौं । यूनाईटेड ईदी-मर्दी एण्ड आरबि हाइड्रोपावरको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको आज(पुस ३ गते) शुक्रबार अंकित मूल्य एक सय रुपैयाँ कायम भएको कूल ४२ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको सेयर आगामी पुस ५ गते आइतबारदेखि दोश्रो बजारमा कारोबार हुने भएको छ । दोश्रो बजारमा पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम ९८.७९ रुपैयाँदेखि अधिकतम २९६.३७ रुपैयाँ तोकेको छ । जसको सिम्बोल ‘यूएमआरएच’ दिइएको छ । साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि ग्लोबल आईएमई क्यापिटल, जमललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

हिमालयन डिष्टिलरीको प्रस्तावित १०० प्रतिशत लाभांश पाउन के गर्नुपर्छ ?

काठमाडौं । हिमालयन डिष्टिलरीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १०० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । पुस २ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैठकले गत आवको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५० प्रतिशत बोनस र ५० प्रतिशत नगद लाभांश(कर सहित) गरी १०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्छ । कम्पनीको आगामी वार्षिक साधारणसभा पुस २९ गते बुधबार बस्दै छ । सभा सो दिन पर्सा जिल्लाको विरगञ्जको लिपनिविर्तास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्ने छ । सभामा जाने प्रयोजनको लागि आगामी पुस १७ गते शुक्रबार एक दिन कम्पनीको बुक क्लोज हुने छ । यससँगै कम्पनीकाे प्रस्तावित लाभांश पाउन आगामी पुस १६ गतेसम्म कम्पनीको सेयर किन्नु पर्ने छ । साे अवधिसम्म सेयर  किनेका सेयरधनीहरुले मात्र कम्पनीको प्रस्तावित लाभांश पाउने छन् र कम्पनीकाे साधारण सभामा पनि भाग लिन पनि योग्य हुने छन् । पछिल्लो समय दाेश्राे बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४ हजार ४ सय रुपैयाँ रहेको छ । गत बिहीबार(पुस २ गते) को बजारमा कम्पनीको सेयर मूल्य २५ रुपैयाँ अर्थात ०.५७ प्रतिशतले बढेर प्रतिकित्ता ४ हजार ४ सय रुपैयाँ पुगेको हो । जबकी बुधबारको बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४ हजार ३ सय ७५ रुपैयाँ रहेको थियो । उक्त प्रस्तावित लाभांश अघिल्लाे आवकाे तुलनामा कम हाे । कम्पनीले अघिल्लाे आव २०७५/७६काे नाफाबाट सेयरधनीलाई १०२.६३ प्रतिशत लाभांश(५० प्रतिशत बाेनस र ५२.६३ प्रतिशत नगद) वितरण गरेकाे थियाे ।