सेयर राफसाफकाे समय एकदिन घट्याे

काठमाडौं । धितोपत्र कारोबार राफसाफ तथा फछ्रयाैटकाे समय एकदिन घटेकाे छ । नेपाल धिताेपत्र बाेर्डले हालको टी प्लस थ्रीलाई टी प्लस टूमा ल्याउने गरी संशोधन स्वीकृति गरेसँगै राफसाफ तथा फछ्रयाैटकाे समय घटेकाे हाे । बोर्डले धितोपत्र कारोबारको राफसाफ तथा फछ्रयाैट चक्र टी प्लस टू गर्ने गरी धितोपत्र कारोबार राफसाफ तथा फछ्रयाैट विनियमावली, २०६९ मा सो प्रयोजनको लागि विनियममा संशोधन स्वीकृति गरेको छ । बाेर्डकाे आ.व. २०७७।७८ को नीति तथा कार्यक्रममा धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट प्रणाली टी प्लस टू मा गर्ने रहेकाे थियाे ।  र, सो कार्यान्वयनमा ल्याउन सीडीएस एण्ड क्लियरिङ्ग लि.ले आफ्नो विनियममा भएको हालको टी प्लस थ्रीलाई टी प्लस टूमा ल्याउने गरी संशोधन स्वीकृतिका लागि बोर्डमा पेश गरेको थियाे । उक्त व्यवस्था सिडिएस एण्ड क्लियरिङ्ग लि.ले सार्वजनिक सूचना प्रकाशित गरी कार्यान्वयनमा ल्याउने व्यवस्था गरिएको छ । धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट चक्र छोटिई टी प्लस टू कायम भएसँगै धितोपत्रको तरलतामा वृद्धि भई बजार थप गतिशील हुने तथा लगानीकर्तालाई थप लगानीको अवसर प्राप्त हुने बोर्डको अपेक्षा रहेको छ ।

चन्द्रागिरी हिल्सको आईपीओः पहिलो दिनमै मागभन्दा बढी आवेदन, कतिले भरे ?

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले जारी गरेको प्राथमिक सेयर(आईपीओ)मा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार दिउँसो साढे ३ बजेसम्ममा २ लाख ३१ हजार ८९२ जना आवेदकले ४७ लाख ९६ हजार ७ सय कित्ता सेयरको लागि आवेदन दिएका छन् । साे अवधिसम्ममा ४७ कराेड ९६ लाख ७० हजार रूपैयाँ बराबरकाे आवेदन परेकाे हाे । जुन संस्थाले सर्वसाधारणमा माग गरेको भन्दा ३.४३ गुणा बढी हो । मेराे सेयरकाे सफ्टवेयरमा समस्या आउँदा पनि कम्पनीकाे सेयरमा मागभन्दा बढी आवेदन परेकाे हाे । आज (पुस २४ गते) देखि १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ बिक्रीमा राखेकाे हाे । जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता सेयर कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ । र, बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता सेयरमा सर्वसाधारणमा निष्काशन गरिने छ । चन्द्रागिरी हिल्समा लगानी गर्दा उचित प्रतिफल पाइने, यस्ता छन् कम्पनीका भावी योजना यससँगै इच्छुक आवेदकले १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन सक्नेछन् । उनीहरुले पुस २४ गतेदेखि छिटोमा आगामी पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त मितिसम्म सेयर बिक्री नभएमा संस्थाले ढिलोमा माघ ९ गतेसम्म पनि आवेदन दिन पाउने व्यवस्था गरेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । इच्छुक आवेदकले सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् । उक्त आईपीओ जारी पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयलाई प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर निष्काशन गरी बाँडफाँड समेत गरिसकेको छ । साथै, उक्त सेयर बाँडफाँड गर्दा सेयर हात पारेका स्थानीयले भने कम्पनीले जारी गर्न लागेको दोश्रो चरणको सेयरको लागि आवेदन दिन पाउने छैनन् ।

तारागाँउ रिजेन्सी होटलले घोषणा गर्यो गत वर्षको लाभांश

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । होटल्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस २३ गते बसेको सञ्चालक समितिको बैठकले कर सहित १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । जसलाई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको नगद लाभांश पाउने छन् । हाल होटल्सको चुक्ता पुँजी एक अर्ब ८८ करोड रुपैयाँ रहेको छ । त्यसको १० प्रतिशत लाभांश कर सहितले १८ करोड ८३ लाख ६५ हजार ४ सय रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो । प्रस्तावित लाभांश अघिल्लाे आर्थिक वर्षकाे तुलनामा २ प्रतिशतले कम हाे । हाेटल्सले अघिल्लाे आर्थिक वर्ष २०७५/७६ काे नाफाबाट सेयरधनीलाई १२ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।