राष्ट्रिय सहकारी बैंकको प्रतिस्पर्धी आउँदै, पब्लिकमा पनि जाने अवधारणामा प्रस्तावित नेपाल सहकारी बैंक

काठमाडौं । सहकारी क्षेत्रको एक मात्र बैंक राष्ट्रिय सहकारी बैंकको प्रतिस्पर्धी आउन लागेको छ । अहिले संचालनमा रहेको राष्ट्रिय सहकारी बैंकले आवश्यकता अनुसारको गतिविधि संचालन गर्न नसकेको भन्दै नेपाल सहकारी बैंक स्थापनाको प्रस्ताव गरिएको छ । राष्ट्रिय सहकारी बैंकले आवश्यकता पूरा गर्न नसकेकोले सहकारी क्षेत्रलाई अझ व्यापक र परिणामुखी बनाउन नयाँ सहकारी बैंक स्थापनाको पहल गरिएको नेपाल सहकारी बैंक स्थापनाको लागि गठन गरिएको विज्ञ समुहका संयोजक डा. ज्ञानेन्द्र प्रसाद पौडेलले जानकारी दिए । ‘अहिले ३० हजार भन्दा बढी सहकारी संस्थाहरु संचालनमा छन्, नेपालको संविधानले सहकारी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण तीन खम्बामध्ये एक प्रमुख खम्बा मानेको छ, अहिले संचालनमा रहेको एकमात्र बैंकले राष्ट्रिय आवश्यकता पूरा गर्न नसकेको र सबैलाई मेट्न नसकेकोले नयाँ सहकारी बैंक स्थापनाको आवश्यकता बोध भएको हो,’ संयोजक डा. पौडेलले भने । अहिले नेपालभर ३० हजारभन्दा बढी सहकारी संघ÷संस्थाहरु संचालनमा छन् । यी संघ/संस्थाहरुले १० खर्ब रुपैयाँभन्दा बढीको पूँजी परिचालन गरी ३ लाखभन्दा बढी नागरिकहरुलाई रोजगारी उपलब्ध गराएका छन् । सहकारी संघ/संस्थाहरुबाट ७३ लाखभन्दा बढी नागरिकहरुले प्रत्यक्ष सेवा तथा सुविधाहरु प्राप्त गरेका छन् । सहकारी संघ÷संस्थाहरुमा ९७ अर्ब रुपैयाँभन्दा बढीको सेयर पुँजी छ । यस्तै, ४ खर्ब ७० अर्ब रुपैयाँभन्दा बढी बचत परिचालन भएको छ भने २ खर्ब २७ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी छ । अहिले संचालनमा रहेको राष्ट्रिय सहकारी बैंकमा २ अर्ब २२ करोड रुपैयाँ पुँजी रहेको छ भने करिब १२ हजार सहकारी संघ÷संस्था सहभागी भएका छन् । राष्ट्रिय सहकारी बैंकले करिब ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३० अर्ब रुपैयाँको हाराहारीमा कर्जा लगानी गरेको छ । राष्ट्रिय सहकारी बैंकले सबै सहकारीलाई समेट्न नसकेको र समयको माग अनुसार परिमार्जित रुपमा सहकारी क्षेत्रलाई अघि बढाउनु पर्ने आवश्यकता पनि भएकोले नयाँ सहकारी बैंक स्थापना गर्न लागिएको डा. पौडेलले बताए । प्रस्तावित नेपाल सहकारी बैंक स्थापनाको लागि २ वटा कार्यदल बनाइएको छ । विज्ञ समुहको संयोजकमा डा. पौडेल छन् भने बैंक स्थापनार्थ गठित कार्यदलको संयोजक सुरेन्द्र भण्डारी छन् । भण्डारी लालिगुराँस बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष हुन् । नेपाल सहकारी बैंक स्थापनाको लागि माघ १७ गते भेला आयोजना गरिएको छ । सो भेलाबाट बैंक स्थापनाको लागि सरोकारवाला निकायमा जाने निर्णय गर्नेछ । सहकारी ऐन अनुसार सहकारी बैंक स्थापनाको लागि सहकारी विभागमा निवेदन दिनुपर्नेछ । यही महिनाभित्रमा विभागमा निवेदन दिइसक्ने गरी तयारी भइरहेको डा. पौडेलले बताए । प्रस्तावित नेपाल सहकारी बैंकको अधिकृत पुँजी ५ अर्ब रुपैयाँ, जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ र चुक्ता पुँजी १ अर्ब रुपैयाँ बनाउन लागिएको छ । सहकारी बैंक स्थापना गर्नको लागि सबै प्रदेशको प्रतिनिधित्व हुने गरी कम्तिमा ५ सय १ वटा सहकारी संस्था संलग्न हुनुपर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म नयाँ सहकारी बैंक स्थापनाको लागि ५ सय ५० भन्दा बढी सहकारी संघ/संस्थाहरु आवद्ध भइसकेको र माघ १६ गतेसम्ममा करिब ७ सय संघ संस्था पुग्ने अनुमान गरिएको डा. पौडेलले जानकारी दिए । पब्लिकमा जाने अवधारणा सहकारी संघ/संस्थाहरुले सर्वसाधारणमा सेयर जारी गर्न पाउने कानुनी व्यवस्था छैन । तर, सहकारी संस्थाहरुले स्थापना गरेका कम्पनीले सर्वसाधारणमा सेयर जारी गर्ने अन्तराष्ट्रिय अभ्यास भएकोले आफू त्यतातिर जाने तयारीमा रहेको डा. पौडेलले बताए ।

पिपुल्स हाइड्रोपावरले साढे ८२ करोड रुपैयाँको सेयर निष्काशन गर्दै, बिक्री प्रबन्धक सानिमा क्यापिटल

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले ८२ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको जारी पुँजी २ अर्ब ७५ करोड रुपैयाँ छ । प्रवर्द्धकको तर्फबाट १ अर्ब ९२ करोड ५० लाख रुपैयाँ लगानी भईसकेको र सर्वसाधारण लगानीकर्ता तथा स्थानीयबासीको तर्फबाट ८२ करोड ५० लाख पुँजी जुटाउन लागिएको कम्पनीले जनाएको छ । पिपुल्स हाइड्रोपावरले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । सो क्रममा पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट प्रवन्ध निर्देशक केशव वहादुर रायमाझीले र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । लमजुङ्ग जिल्लामा निर्माण गर्न भईरहेको ५४ मे.वा. क्षमताको सुपर दोर्दी जलविद्युत आयोजना ‘ख’को लागि पुँजी जुटाउन सेयर निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ । उक्त आयोजना निर्माणतर्फ करिव ७० प्रतिशत काम सम्पन्न भएको र २०७८ साल असोज महिनाभित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

माछापुच्छ्रे कृति क्यापिटलले शुरू गर्याे संयुक्त कारोबार, अध्यक्ष भन्छन्- देशकै नमुना क्यापिटल बन्छाैं

काठमाडौं । माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडको नामबाट संयुक्त कारोबार शुरू भएको छ । साविककाे माछापुच्छ्रे क्यापिटल लिमिटेड र कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट्स लिमिटेड मर्ज भई बनेकाे माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडको नामबाट माघ २ गतेदेखि एकीकृत काराेबार शुरू भएकाे हाे । मर्जर पश्चात बनेकाे माछापुच्छ्रे कृति क्यापिटलको रजिष्टर्ड कार्यालय काठमाण्डौं महानगरपालिका, वडा नं.११, सुन्धारा, बाघदरबारमा रहने छ । कम्पनीले पुस ९ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट र पुस १७ गते कम्पनी रजिष्ट्रार कार्यालयबाट स्वीकृति प्राप्त गरेकाे थियाे । संयुक्त कारोबार संचालन शुभारम्भ समारोहकाे उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले गरेका हुन् । समारोहमा पूर्ण विद्युतीय मर्चेन्ट बैंकिङ्ग सेवाको अवधारण प्रस्तुत गर्दै ढुंगानाले एकीकृत कम्पनीलाई राम्रो, भरपर्दाे र ठूलो क्यापिटलको रुपमा प्रगति गर्नका लागि शुभेक्षा दिए । माछापुच्छ्रे बैंकका अध्यक्ष डां. बिरेन्द्र प्रसाद महतोले संयुक्त टिमलाई सृजनात्मक तथा अनुसन्धनात्मक सेवालाई निरन्तरता दिन प्रोत्साहन दिए । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले गाभिएर संयुक्त कारोबार सञ्चालन शुभारम्भ गरेको मर्चेन्ट कम्पनी देशकै उत्कृष्ट मर्चेन्ट बैंकको रुपमा स्थापित हुनका लागि प्रोत्साहन दिए । माछापुच्छ्रे कृति क्यापिटलका अध्यक्ष विश्वम्बर न्यौपानेले पूँजी र अनुभवी टिमको समिश्रणले देशकै नमुना क्यापिटल हुने विश्वास प्रस्तुत गरे । गाभिने कम्पनीका सञ्चालक आशिष श्रेष्ठले टिमलाई बधाई दिँदै हालको उत्कृष्ट सेवालाई निरन्तरता दिन शुभकामना दिए । कार्यक्रममा बोल्दै माछापुच्छ्रे कृति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार बैद्यले पुँजीबजारमा योगदान गर्दै देशको नेतृत्वदायी मर्चेन्ट बैंक बन्ने एकिकृत कम्पनीको प्राथमिकता भएको धारणा राखे । मर्जर पश्चात माछापुच्छ्रे कृति क्यापिटल देशकै ठुलो लगानी व्यवस्थापन सेवा प्रदान गर्ने कम्पनी मध्ये एक हुनेछ । क्यापिटल माछापुच्छ्रे बैकको सहायक कम्पनी हुनेछ ।