‘बोर्डका पछिल्ला गृहकार्यले नै पुँजीबजारमा नयाँ नयाँ कीर्तिमान कायम भएको हो’
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बोर्डका पछिल्ला निर्णय र कार्यले पुँजीबजारमा नयाँनयाँ कीर्तिमान कायम हुँदै गएको दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको सहकार्यमा मर्चेन्ट बैंकर एशोसिएशन अफ नेपालले आयोजना गरेको आर्थिक पत्रकारको क्षमता अभिवृद्धि तालिममा उनले सो बताएका हुन् । साथै, उनले आम लगानीकर्ताले पनि सूचना लिँदा आधिकारिक स्रोतको प्रयोग गर्नुपर्नेमा जोड दिए । गलत सूचनाका कारण लाखौं लगानीकर्ता प्रभावित हुने भएकाले सम्बद्ध निकाय पनि सूचना प्रवाहमा सजग हुनुपर्ने उनले बताए । यस्तै, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले आम लगानीकर्तालाई सूचनाको व्यवस्थापन गर्न सुझाव दिए । कार्यक्रममा एशोसिएसनका अध्यक्ष मेख बहादुर थापाले यस्ता तालीम देशव्यापी आयोजना गर्ने र त्यसका लागि नाफिजसँग सहकार्य गर्ने बताए । एशोसिएशनले समाचार सम्प्रेषण गर्ने पत्रकारको क्षमता अभिवृद्धि भएमात्र पुँजी बजारका बारेमा सही समाचार आम सर्वसाधारणमा जाने महसुस गरेर आर्थिक पत्रकारको क्षमता विकासका लागि तालिम आयोजना गरेको हो ।
अपर सोलु हाईड्रोले आईपीओ जारी गर्ने, अनुमति माग्दै पुग्यो धितोपत्र बोर्ड
काठमाडौं । अपर सोलु हाईड्रो इलेक्ट्रीक कम्पनीले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले स्थानिय र सर्वसाधारलाई गरी कूल ३३ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । उक्त परिमाणकाे अर्थात ३३ लाख ७ हजार ५ सय कित्ता सेयर निष्काशन गर्नकाे लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेकाे छ । कम्पनीले गत चैत १६ गते बोर्ड पुगेको हो । यससँगै, बोर्डको अनुमति पाए पश्चात कम्पनीले बिक्री प्रबन्धक एनएमबी क्यापिटलमार्फत सो मात्राको आईपीओ जारी गर्ने छ ।
लाभांश पारित गर्न रिलायन्स फाइनान्सले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुक क्लोज ?
काठमाडौं । रिलायन्स फाइनान्सले आगामी बैशाख २२ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले गत आर्थिक वर्षको लाभांश पारित गर्न आफ्नो ११औं वार्षिक साधारण सभा डाकेको हो । सो दिन बिहान ११ बजे लैनचौरस्थित लैनचौर बैंक्वेटमा हुन लागेको उक्त सभा भर्चुअल माध्यमबाट सञ्चालन गरिने संस्थाले जनाएको छ । सभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ । सभाले पारित गरेसँगै संस्थाले चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद गरी १०.५३ प्रतिशत लाभांश पाउने छन् । साथै, सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीयसँग मर्जर अथवा एक्विजिशनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावलाई अनुमोदन गर्दै छ । सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी बैशाख १० गते बुक क्लोज गर्ने हो । यससँगै बैशाख ९ गतेसम्म कायम भएका सेयरधनीले संस्थाको प्रस्तावित लाभांश पाउने छन् । हाल संस्थाको चुक्ता पुँजी ८३ करोड २४ लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस वितरण पश्चात संस्थाको चुक्ता पुँजी ९१ करोड ५६ लाख रुपैयाँ नाघ्ने छ ।