धितोपत्र बोर्डले भन्यो- सेयर बजार बन्द नगर्नु, सुरक्षित कारोबारको लागि विभिन्न ६ व्यवस्था अपनाउनु

काठमाडौं । नेपाल धितोपत्र बोर्डले कोभिड-१९ महामारीको बढ्दो संक्रमणमा सावधानी अपनाएर धितोपत्र कारोबार सञ्चालन गर्न निर्देशन दिएको छ । पछिल्लो समय विश्वभर फैलिँदै गएको नयाँ भेरियन्ट सहितको कोरोना महामारीको संक्रमण नेपालमा समेत बढ्दै गएकोले सुरक्षा मापदण्ड अपनाएर सेयर कारोबारलाई सुरक्षित तवरले सञ्चालन गर्ने तथा गराउने व्यवस्था मिलाउन बोर्डले धितोपत्र व्यवसायीलाई आग्रह गरेको हो । बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र बजार तथा सम्पूर्ण धितोपत्र व्यवसायीले समेत संक्रमण फैलिनबाट रोक्न विभिन्न व्यवस्था अपनाउन बोर्डले ६ बुँदे निर्देशन जारी गरेको छ । यस्ता छन् ६ बुँदे निर्देशन  कार्यालय स्थलमा सेवाग्राही तथा कर्मचारीलाई मास्क र सेनिटाइजरको प्रयोग अनिवार्य गर्ने तथा गराउनु पर्ने छ । नेपाल सरकारले तोकेको जनस्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण पालना गर्ने तथा गराउनु पर्ने छ । कार्यालय हाता भित्र २५ जनाभन्दा बढी नहुने गरी सेवाग्राही बीच दुई मिटरको भौतिक दुरी कायम हुने गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनु पर्ने बोर्डले जनाएको छ । सभा, सम्मेलन, गोष्ठी, सेमिनार, बैठक, तालिम, प्रशिक्षण जस्ता क्रियाकलापहरु सञ्चालन गर्दा सकेसम्म भर्च्युअल माध्यमबाट गर्ने तथा गराउने । सेवा प्रवाहलाई निरन्तर रुपमा सुचारु गर्न आफ्नो संस्थाका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्ने गरी परिचालन गर्नुपर्ने छ । सेवाग्राहीको भिडभाड कम गर्ने अभिप्रायले सकेसम्म भर्च्युअल माध्यमबाट गर्ने तथा गराउनु पर्ने छ । कोभिड-१९ को संक्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले कोभिड-१९ रोकथामका लागि अपनाएका आवश्यक उपायहरुको साथै बोर्डले यस अघि दिएका निर्देशनहरु पूर्ण रुपमा पालना गर्न तथा गराउन बोर्डले आग्रह गरेको छ ।

सीईडीबी हाइड्रोको आईपीओ बैशाख १७ गतेदेखि भर्न पाइने

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक सेयर(आईपीओ) आगामी बैशाख १७ गतेदेखि भर्न पाइने छ । कम्पनीले सो दिनदेखि सेयर निष्काशन गर्ने भएसँगै सर्वसाधारणले उक्त दिनदेखि सेयर भर्न पाउने भएका हुन् । कम्पनीले कुल जारी पुँजीको ३० प्रतिशतले हुने २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीको जारी पुँजी ८३ करोड ९४ लाख रुपैयाँ रहेको छ । यससँगै कम्पनीले एक सय रुपैयाँ अंकित दरका २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर बिक्री गर्ने छ । जसमध्ये २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याइएको छ । र, बाँकी रहेको २३ लाख ४१ हजार ९५४ कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २५ लाख १८ हजार २३० कित्ता सेयरको लागि आवेदन दिन सक्ने छन् । उनीहरुले बैशाख १७ गतेदेखि बैशाख २१ गतेसम्म उक्त आईपीओमा आवेदन दिन सक्नेछन् । यदि सो अवधिसम्ममा सेयर बिक्री नभएमा कम्पनीले बैशाख ३१ गतेसम्म सेयर बिक्री खुला गर्ने छ । उक्त सेयर निष्काशनको लागि सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । यससँगै सर्वसाधारणले मेरो सेयर तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यस्तै, आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बि आइएस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको बुझाउँछ ।

मध्य भोटेकोशीले साढे एक अर्बको आईपीओ जारी गर्ने

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले २५ प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले बैशाख ५ गते मात्रै यस संस्थालाई अंकित मूल्य १०० को एक करोड ५० लाख कित्ता आइपीओ निष्काशन गर्न स्वीकृति दिएको हो । बोर्डले दिएको स्वीकृति अनुसार संस्थाले एक अर्ब ५० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले स्थानीय र सर्वसाधारणलाई गरी सो मात्राको सेयर निष्काशन गर्ने प्रकृया अघि बढाएको हो । सो मात्राको आईपीओ निष्काशन गर्न कम्पनीको धितोपत्र निष्काशन तथा कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।