यूनाईटेड मोदीले यूनाइटेड मेवा खोलामा साढे ६७ करोड लगानी गर्ने
काठमाडौं । यूनाईटेड मोदी हाइड्रोपावरले यूनाइटेड मेवा खोला हाइड्रोपावरमा लगानी गर्ने भएको छ । कम्पनीले ५० मेगावाटको यूनाइटेड मेवा खोलाको कूल जारी पुँजीको ३० प्रतिशत सेयर स्वामित्व रहने गरी ६७ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको हाे । सभाले लगानी योग्य आयोजनामा लगानी गर्न अख्तियारी दिएसँगै कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । चैत १६ गते कम्पनीको सञ्चालक समितिको बैठक बसेको थियो । यूनाइटेड मेवा खोलाको विभिन्न विवरण अध्ययन तथा विश्लेषण पश्चात उक्त कम्पनीमा लगानी गर्न उपयुक्त देखिएकाले बैठकले सो निर्णय गरेको हो । बैठकले यूनाइटेड मेवा खोलाको जगेडामा रहेको प्रतिकित्ता एक सय रुपैयाँ दरका ६७ लाख ५० हजार कित्ता सेयर एक सय रुपैयाँमा नै खरिद गर्ने भएकाे हाे । सोही बमोजिम उक्त कम्पनीसँग सेयर खरिदबिक्री सम्झौता पत्रमा हस्ताक्षर गर्ने निर्णय भएको छ ।
नेप्सेमा लघुवित्तसहित चार कम्पनीको सेयर सूचीकृत, सबैभन्दा बढी बोनस सेयर
काठमाडौं । सोमबार नेप्सेमा विभिन्न चार संस्थाको सेयर सूचीकृत भएको छ । चैत १६ गते एकैदिन दुई लघुवित्त र दुई विकास बैंकको बोनस र हकप्रद गरी कूल २८ लाख ४६ हजार ३१ कित्ता सेयर सूचीकृत भएको छ । जसमध्ये सबैभन्दा बढी बाेनस सेयर सूचीकृत भएकाे छ । त्यसमा आरएसडिसी लघुवित्त वित्तीय संस्थाको ९ प्रतिशत र एनएमबि लघुवित्त वित्तीय संस्थाको १९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । यी दुई संस्थाको क्रमशः ६ लाख ४ हजार ३७० कित्ता र ८ लाख ६१ हजार ८७३ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । त्यस्तै, पोखरा फाइनान्सको ५ प्रतिशत अर्थात ४ लाख ५८ हजार ६४० कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यसैगरी, साहरा विकास बैंकको भने हकप्रद सेयर सूचीकृत भएको हो । संस्थाको ९ लाख २१ हजार १४८ कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ । यससँगै यी कम्पनीको सेयर केहि दिनमै सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।
माया खोला हाईड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनीले सर्वसाधारणलाई साधारण सेयर(आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई २४ लाख कित्ता सेयर जारी गर्ने भएको हो । सो प्रयोजनको लागि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता चैत १२ गते बिहीबार सम्पन्न भयो । सम्झौतामा माया खोला हाईड्रोपावर कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष विजय मान शेरचन तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । माया खोला हाईड्रोपावर कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।