बेमौसमी वर्षाले एक करोडभन्दा बढीको इँट्टा नष्ट
काठमाडौं । पश्चिम नवलपरासीमा बेमौसमी वर्षाले काँचो इँट्टा नष्ट भएको छ । शुक्रबारदेखिको वर्षाले इँटाभट्टामा पोल्नका लागि तयार पारिएको काँचो इँट्टा गलेर १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको इँट्टा उत्पादक सङ्घका केन्द्रीय सदस्य कृष्णनारायण श्रेष्ठले जानकारी दिए । क्षतिको एकिन विवरण सङ्कलनको काम भइरहेको उनले बताए । श्रेष्ठका अनुसार जिल्लामा १२ वटा इँट्टा उद्योग सञ्चालनमा छन् । केही वर्षअघिसम्म १८ वटा उद्योग रहेकामा यस वर्ष छवटा बन्द भएका छन् । बेमौसमी वर्षाले तरकारी, मकै, उँखु, आँप, लिच्ची जस्ता फललाई भने फाइदा गरेको छ ।
बैंकहरुले ब्याज घटाउन थालिसके, ठूला परियोजना सञ्चालनको तयारीमा छौं : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले ७७ वटै जिल्लाका व्यवसायी मिलेर सुरु गरेको ठूला परियोजना सञ्चालनको तयारीमा रहेको बताएका छन् । गत वर्ष ढोरपाटन उपत्यकामा भएको महासङ्घको तेस्रो कार्यकारिणी बैठकले स्थापना गरेको उक्त परियोजनाले जलविद्युत र पर्यटनमा लगानी गर्ने र समस्यामा रहेका परियोजनालाई सहयोग गर्ने उनले जानकारी दिए । मुलुकलाई आर्थिक रुपमा सुदृढ आत्मनिर्भर गराउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउँदै अध्यक्ष ढकालले लगानीमैत्री वातावरण निर्माण गर्न सकारात्मक सन्देश दिने सञ्चार सामाग्री प्रकाशन गनु पर्ने धारणा राखे । युवा रोजगारी बढाउन पर्यटन र जलविद्युतमा लगानी आवश्यक भएको उनको भनाइ छ । त्यसैका लागि महासङ्घको अगुवाइमा गत वर्ष १० अर्बको ठूला परियोजना स्थापना गरिएको उनले बताए । अध्यक्ष ढकालले पछिल्लो समय सरकारले लगानीमैत्री वातावरणको सुरुवात गरेको बताए । नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता आउन खोजी रहेकाले सरकारले वातावरण बनाउनुपर्ने उनको धारणा छ । ढकालले विदेशीले नेपालमा लगानी बढाएमा रोजगारी बढ्ने मात्र नभइ संसारभर सकारात्मक सन्देश जाने बताए । बैंकहरुले ब्याज घटाउने, कालोबजारी ऐन खारेजीसहितका एजेन्डा पूरा गर्न सरकारले थालिसकेको उनको भनाइ छ । जसका कारण विश्वव्यापी आर्थिक सङ्कटको असर नपरोस् भन्ने चाहेको महासङ्घका अध्यक्ष ढकालले बताए । ढकालले नयाँ सोच र परियोजना बनाएर बसेका उद्यमीलाई पुँजी अभाव भएमा ठूला परियोजनामार्फत साथ दिने उल्लेख गरे ।
बालाजु औद्योगिक क्षेत्रको आगलागी नियन्त्रणमा
काठमाडौं । काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा आज भएको आगलागी नियन्त्रणमा आएको छ । औद्योगिक क्षेत्रमा भएको आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तथा दमकलको सहायतमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । ‘अहिले आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीका कारण र क्षतिबारे थप अध्ययन भइरहेको छ,’ उनले भने ।