उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत, खाद्य तथा पेय पदार्थ समूहको धेरै
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ५.९५ प्रतिशत र ४.०७ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १३.७४ प्रतिशत, दाल तथा गेडागुडीको ७.८० प्रतिशत, फलफूलको ६.८२ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.१५ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.१७ प्रतिशत, तरकारीको १.२४ प्रतिशत र माछा तथा मासुको ०.७४ प्रतिशतले घटेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.१४ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ७.०१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.०७ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.५९ प्रतिशत र यातायातको ५.०७ प्रतिशतले बढेको छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.१८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.६० प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६८ प्रतिशत, मधेश प्रदेशको ३.५२ प्रतिशत, बागमती प्रदेशको २.९८ प्रतिशत, गण्डकी प्रदेशको २.७७ प्रतिशत, लुम्बिनी प्रदेशको ३.७७ प्रतिशत, कर्णाली प्रदेशको ३.८० प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.४१ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत, तराईको ३.७७ प्रतिशत, पहाडको ३.७२ प्रतिशत र हिमालको ४.७७ प्रतिशत रहेको छ । २०८१ फागुन महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.४३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.६९ प्रतिशत रहेको थियो। समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ८.०२ प्रतिशत, २.५७ प्रतिशत र ३.१७ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति १.६३ प्रतिशतले बढेको छ ।
व्यापारीको जेठो संगठन नेपाल चेम्बर ७५ औं वर्षमा प्रवेश
काठमाडौं । नेपाल चेम्बर अफ कमर्श ७५ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले चेम्बर स्थापना भएदेखि नै वाणिज्य क्षेत्रको विकास र आर्थिक सम्बृद्धि तथा अन्य व्यवसायिक गतिविधिका क्षेत्रमा अग्रणी एवम महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताए । उनले भने, 'आज हामीले ७५ ‍औं वर्षमा प्रवेश गरेका छौं । यो अवसरमा हामी खुसी छौं । नेपालको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको स्थायित्वको लागि चेम्बरले सधैं साथमै रहेको छ ।' उनका अनुसार नेपाल चेम्बर अफ कमर्सले नेपाल सरकारलाई औद्योगिक, वाणिज्य र अन्य वित्तीय मामिलाका लागि नीति नियम तर्जुमा गर्न सुझाव र सल्लाह प्रदान गरिरहेको छ । अग्रणी वाणिज्य संगठनको रुपमा स्थापित नेपाल चेम्बर अफ कमर्सको स्थापना वि.स.२००७ सालमा आश्विन २७ गते भएको थियो । नेपाल चेम्बर प्रजातन्त्रसङ्गै स्थापित भएको हो । विसं २०१२ अर्थात सन् १९५५ मा उद्योग र वाणिज्य सम्बन्धी पहिलो राष्ट्रिय सम्मेलन नेपाल चेम्बरको अगुवाइमा भएको थियो । निवर्तमान अध्यक्ष मल्लले नेपाल चेम्बर अफ कमर्स “चेम्बर आन्दोलन” लाई अभियानको रूपमा विस्तार गर्न र व्यवसायिक क्षेत्रको सशक्तिकरणका लागि विभिन्न गतिविधिहरू प्रोत्साहित गर्न समर्पित भएर लागि रहेको दाबी गरे । चेम्बरले निजी र सरकारी क्षेत्रबीच पुलको भूमिका निर्वाह गरिरहेको पनि बताए । नेपाल चेम्बर अफ कमर्सले प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्स, वस्तुगत संघ, आवद्ध संघ लगायत द्विपक्षीय वाणिज्य तथा उद्योग संघहरूको प्रतिनिधित्व गरेको छ । देशमा रजिष्टर्ड फर्महरु, व्यापार र उद्योग क्षेत्रका संघ संस्था, द्धिपक्षीय व्यापार तथा उद्योग संघ चेम्बरसँग आवद्ध रहेका चेम्बरले जनाएको छ । नेपाल चेम्बर अफ कमर्सले ७० वटा अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्सहरूसँग आर्थिक क्रियाकलाप विस्तार गर्न समझदारीपत्रमार्फत सम्बन्ध स्थापित गरेको छ । देशभरका उद्योगी तथा व्यवसायीहरूको सहभागिता भएको नेपाल चेम्बर अफ कमर्सको विधान मन्त्रिपरिषदबाट २०७४ सालमा संशोधन भएको थियो भने तदनुरूप नेपालको संघीय प्रणाली बमोजिम नेपाल चेम्बरलाई महासंघको संरचनामा प्रदेश, जिल्ला, नगर तथा गाउँपालिका तह र वस्तुगत संघ, आवद्ध संघ तथा राष्ट्रिय संघ संस्थाहरूसम्म सदस्यहरू बिस्तार भएको छ । हाल ७ वटा प्रदेशका ६८ वटा जिल्ला चेम्बर गठन भैसकेको निवर्तमान अध्यक्ष मल्लले जानकारी दिए।
चितवनका २७९ उद्योग बन्द
चितवन । उद्योग तथा वाणिज्य कार्यालयमा दर्ता भएका उद्योगमध्ये २७९ उद्योग बन्द भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि यता जिल्लाका विभिन्न स्थानमा दर्ता भएका ती उद्योग बन्द (लगत कट्टा) गरिएको हो । गत वर्ष सोही अवधिमा १८१ उद्योग बन्द भएका थिए । कार्यालयका सूचना अधिकारी शक्तिमान कुमालका अनुसार वैदेशिक प्रयोजनका लागि दर्ता गरिएका अधिकांश उद्योग बन्द भएका हुन् । कतिपय सञ्चालन हुन नसकेर पनि बन्द भएका छन् । उनका अनुसार यस वर्ष २७३ नयाँ उद्योग दर्ता भएका छन् । निजी फर्ममा २६२, सामुदायिक फर्ममा सात र प्राइभेट लिमिटेडमा चार उद्योग दर्ता भएका छन् । यो सङ्ख्या गत वर्ष सोही अवधिमा ३२९ उद्योग दर्ता भएर सञ्चालनमा आएका थिए । उत्पादनमूलक, कृषि तथा वनजन्य, पर्यटनमूलक र सेवामूलक उद्योग बन्द भएका हुन् । वैदेशिक रोजगारीका लागि कम्पनी दर्ता गरेर आयआर्जन देखाउने र प्रयोजन सकिएपछि कम्पनी बन्द गर्न आउनेको सङ्ख्या बढ्दो रहेको उनले बताए । उद्योग सञ्चालन गर्ने तर यहाँ आम्दानी नभएपछि विदेश जानका लागि बन्द गर्नेहरुको सङ्ख्या उच्च रहेको उनले बताए । यस आर्थिक वर्षमा दुई हजार १६७ उद्योग नवीकरण भएका छन् । त्यसमध्ये नौवटाले नामसारी गरेका छन् भने ३१ वटाले ठाउँसारी गरेका छन् । यस्तै, २८ वटाले कारोबार संशोधन, सुविधा सिफारिस तिनले लिएको कुमालले जानकारी दिए ।