वैध बाटोबाट मालवस्तु ल्याउन भन्सार महसुल समायोजन र बेष्ट ट्रिटमेन्ट प्लान्टको माग
काठमाडौं । वीरगन्जका उद्योगी-व्यवसायीले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा नीति कार्यक्रममा उद्योग र व्यवसायी मैत्री नीति अवलम्बन गरिनुपर्ने सुझाव दिएका छन् । वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले बाराको सिमरामा आज आयोजित एक कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव दिनेशप्रसाद घिमिरेलाई आगामी आवको बजेटमा समावेश गर्नुपर्ने २३ बुँदे सुझाव हस्तान्तरण गर्दै उद्योग, व्यवसाय सञ्चालन र स्थापनाको प्रक्रिया सरल र सहज हुनुपर्ने बताए । ‘अहिले पनि उद्योग, व्यवसाय सञ्चालन र स्थापनामा विभिन्न थरीका ऐन र प्रशासनिक जटिलताले बोझिलो बनाएको छ,’ अध्यक्ष गौतमले भने, ‘खुला र उदार अर्थतन्त्रको मान्यताअनुरुप उद्योग, व्यवसाय, सञ्चालन र स्थापनाका लागि राज्यस्तरबाट न्यूनतम् कागजी प्रक्रिया र एकद्वार प्रणाली माध्यम सहज बनाइनुपर्नेमा सो हुन नसकेको देखिन्छ । एकद्वार प्रणालीलाई एकीकृत अनुमति प्रणालीमार्फत व्यवस्थित गर्न आवश्यक भइसकेको छ ।’ अध्यक्ष गौतमले सङ्घले फिर्ता पाउनुपर्ने मूल्य अभिवृद्धि करलाई अन्य करमा मिलान गर्न पाउनुपर्ने सुझाव दिए । ‘करदाताले मूल्य अभिवृद्धि करबापत फिर्ता पाउनुपर्ने रकमलाई अग्रिम आयकर, अन्तःशुल्क तथा अन्य करसँग मिलान गर्ने सुविधा हुनुपर्ने टड्कारो खाँचो रहेको छ । अतः मूल्य अभिवृद्धि करमा बहुदर प्रणाली लागू गरी अत्यावश्यक उपभोग्य वस्तुमा कम दरको मूल्य अभिवृद्धि कर लागू गरिनुपर्दछ,’ उनले भने । सङ्घले सरकारसँग भारतीय ‘गुड्स एन्ड सर्भिस ट्याक्स’ (जिएसटी)को सापेक्ष भन्सार महसुल निर्धारण गर्न पनि माग गरेको छ । ‘विगतका केही वर्षदेखि भारतबाट आयात हुने वस्तुमध्ये धेरैजसो मालसामान वैध बाटोबाट नभएर अवैध बाटोबाट आउने गरेको देखिएको छ,’ सङ्घको सुझावमा भनिएको छ, ‘यस पछाडिका कारणमध्ये हाम्रो भन्सार महसुल, दरबन्दी पनि एक हो । अवैध बाटो भएर आउने माल वस्तुलाई वैध बाटोबाट ल्याउनका लागि भारत सरकारको जिएसटीको सापेक्षमा हाम्रोतर्फको भन्सार महसुल (भन्सार, भ्याट र अन्तःशुल्क लाग्नेमा अन्तःशुल्कसमेत जोडेर) समायोजन गर्न आवश्यक छ ।’ सङ्घले उधारो कारोबार कानुन सम्बन्धमा उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगबाट सिफारिस भएको मस्यौदा विधेयक मन्त्रिपरिषदमा राजनीतिक समितिमा रहेकाले पनि त्यसलाई पास गरी विधेयकका रूपमा संसद्मा पेस गरी फास्ट ट्रयाकबाट कानुन बनाउनुपर्ने सुझाव दिएको छ । वीरगञ्ज-पथलैया औद्योगिक करिडोरका बीच रहेको सिर्सिया नदीलाई प्रदूषणसहित बनाउन बेष्ट ट्रिटमेन्ट प्लान्टको स्थापनाका लागि माग गरेका छन् ।
हस्तकला महासंघ नवनिर्वाचित कार्यसमितिलाई परिसंघले दियो बधाई
काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल हस्तकला महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ । परिसंघ सचिवालयमा शुक्रबार आयोजित स्वागत तथा बधाई कार्यक्रममा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले महासंघका नवनिर्वाचित अध्यक्ष रविन्द्र शाक्यसहित कार्यसमिति सदस्यहरुलाई स्वागत गरे । सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले हस्तकला उद्योग हाम्रो मौलिक उद्योग भएकाले यस क्षेत्रलाई प्रवर्द्धन गर्न आवश्यक रहेको बताए । हस्तकला तुलनात्मक लाभको क्षेत्र भएकाले यसको प्रवर्द्धनमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । उनले परिसंघ एवं हस्तकला महासंघको संस्थागत उद्देश्य समग्र अर्थतन्त्रको विकास नै भएकाले यसका लागि सहकार्य गर्दै अगाडि बढ्ने बताए । परिसंघले नेपाल सरकारलाई बुझाउने नीतिगत सुझाव अध्ययनमा आधारित हुने गरेको बताउँदै अध्यक्ष अग्रवालले अध्ययनमा आधारित भएर सुझाव दिदा सरकारले सुन्ने गरेको समेत बताए । हस्तकला महासंघका अध्यक्ष शाक्यले स्वदेशी वस्तुको उपयोग बढाउन परिसंघले गरेको पहलका लागि धन्यवाद व्यक्त गरे । साथै उनले स्वदेशी वस्तुहरुको खपत बढाउन थप पहल आवश्यक रहेको बताए । संस्थागत रूपमा अर्थतन्त्रको विकासका लागि परिसंघसँग सहकार्य गर्न महासंघ प्रतिबद्ध रहेको उनले जानकारी दिए । सो अवसरमा परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डे, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।
हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा
बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको छ । उद्योगका यन्त्रको मर्मतसम्भार र कच्चा पदार्थको आपूर्ति भएपछि गत मङ्गलबारदेखि सिमेन्ट उत्पादनका गर्न चुनढुङ्गा तयार पार्न प्रारम्भ भएको छ । उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णका अुनसार एक दुई दिनपछि सिमेन्ट उत्पादन थालिने छ । अब दैनिक रुपमा ६०० क्विन्टल सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ । विसं २०३३ मा जडान गरिएका यन्त्र थोत्रा भएकाले नयाँ खरिद गर्नुपर्नेमा उनले जोड दिए । नेपाल विद्युत् प्राधिकरणलाई बिजुली महसुल र कर्मचारीलाई पारिश्रमिकको व्यवस्था गर्न कठिन भएको अवस्थामा नयाँ यन्त्र खरिद असम्भव भएको दुखेसो गर्दै उनले उद्योगका समस्या समाधानमा सरकारले सघाउने विश्वास व्यक्त गरे ।