नेपालमा उत्पादित स्टिल भारतले लगायो प्रतिबन्ध, एक महिनादेखि निर्यात रोकिँदा गोदाममै थन्किए
काठमाडौं । नेपालमा उत्पादित स्टिल जन्य उत्पादन एक महिनादेखि भारत निर्यात हुन सकेको छैन । भारतीय पक्षले प्रतिबन्ध लगाएपछि निर्यात ठप्प भएको हो । प्रतिबन्धले नेपालको स्टिल उद्योग क्षेत्रमा ठूलो असर पर्ने अनुमान गरिएको छ । यसका कारण विशेष आर्थिक क्षेत्र (सेज) मा रहेका उद्योगहरू प्रभावित भएका छन् । निर्यात गर्नुपर्ने बाध्यकारी व्यवस्थाबीच मुख्य आयातकर्ता भारतले उत्पादित सामानको भन्सार जाँच पास नगरिदिँदा उद्योगीहरु समस्यामा परेका हुन् । भारतमा स्टिल निर्यात गर्ने प्रणाली ‘स्टिल इम्पोर्ट म्यानेजमेन्ट सिस्टम’ (सिम्स)मा नेपालको मात्र नाम हटाइएको सेजमा रहेको विस्तार ग्लोबल प्रालिका प्रबन्धक रुपक गर्गले बताए । ‘हामीले सिम्समा फाराम भर्न खोज्दा नेपालको अप्सन नै देखाउँदैन,’ गर्गले भने, ‘एक महिनादेखि निर्यात रोकिएको छ ।’ विस्तार ग्लोबलमा मात्र ३०० देखि ४०० कामदारहरूले रोजगारी पाएका थिए । एक महिनादेखि निर्यात रोकिँदा उत्पादित सामान गोदाममै थन्किएका छन् । उत्पादित भाँडाहरू ९० प्रतिशत बढी भारतमा निर्यात हुँदै आएको थियो । विस्तार ग्लोबलका लेखा अधिकृत अरविन्द त्रिपाठीले सरकारले छिट्टै समस्या समाधानको पहल गर्न आग्रह गरे । विशेष आर्थिक क्षेत्र भैरहवाबाट विस्तार ग्लोबलले चालु आर्थिक वर्षमा ७२ करोड रुपैयाँ बढीको भाँडा निर्यात गरेको छ । सेजमै खानेपानी ट्याङ्की उत्पादन गर्दै आएको पञ्चकन्या समूह पनि निशानामा परेको छ । पञ्चकन्याको ट्याङ्की पनि भारत निर्यातमा रोकिएको छ । ‘एकद्वार सेवा पाउने अपेक्षासहित सेजमा उद्योग स्थापना गरेका थियौँ, अहिले निर्यात रोकिँदा झन समस्या भयो,’ पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले भने, ‘छिट्टै केही निकास ननिस्के हामी सेजबाट बाहिरिने मनस्थितिमा पुगेका छौँ, उत्पादन बन्द गरिसकेका छौँ ।’ पहिला भारतले उत्पादित सामानमा मात्र ब्यूरो अफ इण्डियन स्ट्याण्ड्स (बिआइएस) प्रमाणपत्र खोज्ने गरेको थियो । त्यो सेजमा स्थापित विस्तार ग्लोबलले लिए पनि पञ्चकन्याले लिएको थिएन । तर स्ट्यानलेस स्टिलमा भारतमै बिआइएस नभएकाले खानेपानीका ट्याङ्की निर्यात हुँदै आएका थिए । हाल भारतीय पक्षले कच्चा पदार्थमा बिआइएस प्रमाणपत्र नभएको कारण देखाउँदै सिम्सबाट नेपाललाई हटाएको नेपाली उद्योगीहरुको अनुमान छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नेत्रप्रसाद आचार्यले यस निर्णयले नेपाली स्टिल उद्योगलाई ठूलो धक्का लाग्ने बताए । यस विषयमा उद्योग मन्त्रालयमा खबर गरिएको विशेष आर्थिक क्षेत्र प्राधिकरणका सूचना प्रविधि वरिष्ठ सहायक सागर सिलवालले जानकारी दिए । उद्योग मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालय, भारतीय दूतावासलगायतमा पहल गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिनिधिसभामा मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौता प्रस्तुत
काठमाडौं । सरकारले आजको प्रतिनिधिसभा बैठकमा ‘विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौता’ पेश गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सम्झौता प्रस्तुत गर्दै समुद्री जैविक स्रोतको अनुचित दोहन रोक्नु र सामुद्रिक माछाको दिगो उपयोग सुनिश्चित गर्नु यस सम्झौताको मुख्य उद्देश्य भएको जानकारी दिए । ‘सम्झौताअनुसार समुद्रमा अवैध रूपमा माछा मार्ने तथा त्यस्ता क्रियाकलापलाई सहयोग पुर्याउने अनुदान निषेध गरिएको छ,’ मन्त्री भण्डारीले भने, ‘समुद्रको तटीय राष्ट्र तथा क्षेत्रीय मत्स्य व्यवस्थापन संगठनको क्षेत्राधिकारबाहिर माछा मार्ने कार्य वा त्यसका लागि दिइने अनुदानसमेत निषेध गरिएको छ।’ उहाँले सन् २०२२ मा स्वीट्जरल्याण्डको जेनेभामा सम्पन्न विश्व व्यापार संगठनको १२ औँ मन्त्रिस्तरीय सम्मेलनबाट उक्त सम्झौता पारित भएको बताए । त्यसअघि सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्र सभामा वाचन गरेका थिए ।
मुकेश अम्बानी र विनोद चौधरीबीच व्यावसायिक साझेदारी, अब नेपालमै क्याम्पा कोला उत्पादन
काठमाडौं । भारतको औद्योगिक समूह रिलायन्स इन्डष्ट्रिजले नेपालको औद्योगिक घराना चौधरी ग्रुपसँगको सहकार्यमा कोल्ड ड्रिंक ब्रान्ड क्याम्पा कोला नेपाली बजारमा ल्याएको छ । क्याम्पा कोला रिलायन्स इन्डष्ट्रिजको एफएमसीजी विंग रिलायन्स कन्ज्यूमर प्रोडक्ट्स लिमिटेड (आरसीपीएल) द्वारा उत्पादित अन्तर्राष्ट्रियरुपमा ख्यातीप्राप्त भारतीय कोल्ड ड्रिंक ब्रान्ड हो । क्याम्पा कोलाले भारतको प्रतिष्ठित आइपिएल जस्ता इभेन्टहरु स्पन्सर गर्दै आएको छ । क्याम्पा कोलाको नेपाल आगमनले रिलायन्सको चौधरी ग्रुपसँगको व्यावसायिक सम्बन्धको विस्तार तथा समग्र नेपालप्रतिको दीर्घकालीन प्रतिबद्धतालाई थप पुष्टि गर्ने रिलायन्सले जनाएको छ । सन् २०२२ मा क्याम्पा कोला ब्रान्ड खरिद गरेर २०२३ मा यसको व्यावसायिक उत्पादन पुनः सुरु गरे पश्चात् रिलायन्सले भारतीय विरासत बोकेको यस हेरिटेज ब्राण्डलाई फेरी एकपटक लोकप्रिय कोल्ड ड्रिंक ब्रान्डका रुपमा स्थापित गर्न सफल भएको छ । हाल क्याम्पा कोला भारतको प्रतिस्पर्धी कोल्ड ड्रिंक ब्रान्ड हो । चौधरी ग्रुपसँग मिलेर नेपालमा क्याम्पा ब्रान्ड ल्याउन पाउँदा हामी अत्यन्त उत्साहित छौं,’ आरसीपीएलका कार्यकारी निर्देशक केतन मोदीले भने, ‘क्याम्पा कोला ५० वर्षभन्दा पुरानो ऐतिहासिक भारतीय ब्रान्ड हो जसले धेरै पुस्तालाई जोड्ने भावनात्मक सन्देश दिन्छ । हामी नेपालमा दीर्घकालीन लगानीको सोच सहित आएका छौं ।’ क्याम्पा कोला गल्फ कोअपरेशन काउन्सिल (जिसिसी) मुलुकहरूमा पहिल्यै स्थापित भइसकेको ब्रान्ड हो । अब नेपालमा पनि चौधरी ग्रुपले यसको स्थानीय उत्पादन र वितरण गर्नेछ । कम्पनीका अनुसार क्याम्पा पोर्टफोलियो अन्तर्गत क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, क्याम्पा इनर्जी गोल्ड बुस्ट र क्याम्पा इनर्जी बेरी किक प्रारम्भिक रूपमा उपलब्ध हुनेछन् । २५० मिलिलिटर कार्बोनेटेड सफ्ट ड्रिंक (सीएसडी) बोतल (क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेन्ज)को उपभोक्ता मूल्य ३० रुपैयाँ रहेको छ भने क्याम्पा २५० मिलिलिटर इनर्जी बेरी किकको मूल्य ४० रुपैयाँ रहेको छ । रिफ्रेशिङ स्वाद, जोशिलो प्रस्तुति र आकर्षक प्याकेजिङका साथ क्याम्पा कोला नेपाली बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा क्याम्पा कोला ल्याउन रिलायन्ससँग सहकार्य गर्नु चौधरी ग्रुप र समग्र देशकालागि गौरवको विषय रहेको बताए । यो साझेदारीले नेपाली उपभोक्तालाई गुणस्तरीय र ऐतिहासिक पेय पदार्थको स्वादमा रम्ने अवसर दिने उनको भनाइ छ । ‘हामी हाम्रो वितरण प्रणाली र बजार अनुभवको प्रयोग गरेर क्याम्पा कोलालाई नेपाली बजारमा लोकप्रिय बनाउनेछौं,’ चौधरीले भने । रिलायन्स कन्ज्यूमर प्रोडक्ट्स लिमिटेड रिलायन्स इन्डस्ट्रीज लिमिटेडको एफएमसीजी कम्पनी हो । यस कम्पनीको उद्देश्य उपभोक्ताको दैनिक जीवनलाई सहज र सशक्त बनाउनु हो । यो कम्पनी भारतीय अर्बपति मुकेश अम्बानीको हो । नवप्रवर्तन र उपभोक्ता सन्तुष्तिमा जोड दिँदै, आरसीपीएलले अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादनहरुलाई स्थानीय आवश्यकता र स्वाद अनुसार तयार पारी विक्रिवितरण गर्दै आएको छ । आरसीपीएलले घरपरिवार र समुदायहरूको विविध आवश्यकतालाई सम्बोधन गर्दै, विश्वस्तरीय, भरपर्दो र मूल्यमा आधारित उत्पादनहरू प्रदान गर्दै आएको छ । यस्तै, चौधरी ग्रुप नेपालको परिचित व्यावसायिक समूह हो, जसको विश्वबजारमा २०२ भन्दा बढी कम्पनीहरू र २६१ ब्रान्डहरू क्रियाशील रहेको यस समूहको दाबी छ । जसकाे नेतृत्व विनाेद चाैधरीले गरिरहेका छन् । खाद्य तथा पेयपदार्थ, वित्तीय सेवा, शिक्षा, पूर्वाधार, अटोमोबाइल, सूचना तथा प्रबिधि, रियल इस्टेट र अतिथ्यता जस्ता क्षेत्रहरूमा यस समूहको लगानी छ ।