नागरिकलाई आयोडिनयुक्त गुणस्तरीय नुन उपलब्ध गराउन सरकार प्रतिवद्ध छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले आम नागरिकलाई गुणस्तरीय र आयोडिनयुक्त नुन उपलब्ध गराउन गम्भीर पहल गरिरहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री भण्डारीले यस्तो प्रतिवद्धता जनाएका हुन् । मन्त्री भण्डारीले विश्व स्वास्थ्य संगठनलगायतका संस्थाहरूका पछिल्ला तथ्यांकहरूले नुनसम्बन्धी नीति परिमार्जनको आवश्यकता औंल्याएको जनाउँदै सरकार त्यसअनुसार आवश्यक तयारीमा लागेको बताए । उनका अनुसार सडकको अवस्था कमजोर हुँदा दुर्गम जिल्लाहरूमा कोटाअनुसार नुन समयमै पुर्याउन कठिनाइ हुने गरेको छ । उनले भने, 'नुनको विषयमा अहिलेको व्यवस्थाले दुर्गम क्षेत्रमा समान मूल्यमा गुणस्तरीय नुन पुर्‍याउन गाह्रो बनाइरहेको छ । सहुलियतका कारण काठमाडौंमा नुनको मूल्य २६ रुपैयाँ छ भने बाजुरामा मात्र ९ रुपैयाँ पर्छ । यस्तो फरक मूल्यलाई बुझेर नीति पुनरावलोकन गर्न जरुरी छ ।' उनले थपे, 'नुन आपूर्ति अहिले अर्को मन्त्रालयको जिम्मामा भए पनि यस्तो संवेदनशील विषयमा सबै मन्त्रालय जिम्मेवार हुनुपर्छ। सरकार गम्भीर भएर योजना बनाउन तयार छ ।' यसैबीच, संसदीय समितिले आयोडिनयुक्त नुनको उत्पादन र वितरणसँग सम्बन्धित कानुन परिमार्जन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको निष्कर्षमा पनि वितरण प्रणाली, मूल्य एकरूपता, र गुणस्तर सुनिश्चितताका लागि तत्काल सुधार आवश्यक रहेको उल्लेख छ ।

नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे, यस्तो बन्यो नयाँ कार्यसमिति

काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । परिसंघको २२औं वार्षिक साधारण सभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे परिसंघको विधान अनुरुप स्वतः अध्यक्षमा चयन भएका हुन् ।  एक दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरेका पाण्डे २०७५ देखि परिसंघको उपाध्यक्ष बनेका थिए । काठमाडौंमा जन्मिएका पाण्डे तीन दशकदेखि निरन्तर निर्माण उद्योगमा आवद्ध छन् । सिभिल इन्जिनियरिङ, आवास र शहरी विकास, सडक तथा पुल, जलस्रोत व्यवस्थापन, संरचनात्मक प्रबलीकरणमा दख्खल राख्ने पाण्डे नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक हुन् । उनी हरित सामाग्री निर्माण, कृषि तथा शिक्षा क्षेत्रमा समेत सक्रिय छन् । ​​​​​​ परिसंघका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले नवनिर्वाचित अध्यक्ष पाण्डेलाई सपथ ग्रहण गराउँदै पदभार हस्तान्तरण गरे । बुधबार सम्पन्न वार्षिक साधारण सभाबाट परिसंघको राष्ट्रिय परिषद् सदस्यमा गोपाल कुमार अग्रवाल, मिलन बाबु मल्ल, परासी अग्रवाल, राहुल कुमार अग्रवाल, वरुण कुमार तोदी, दिपक कुमार अग्रवाल, रोहित गुप्ता, हितेश गोल्छा, अमित मोर, आश्रयता कार्की, निर्वाण कुमार चौधरी, आकाश गोल्छा, विकास दुगड, विक्रम सिंघानिया, अमित कुमार बेगानी, गौरव शारडा, दिलिप अग्रवाल, यश अग्रवाल, सन्दिप शारडा, राजीव गुप्ता निर्वाचित भएका छन् ।  यसैगरी सञ्जीव न्यौपाने, हेम राज ढकाल, अनुराग गोयल, ध्रुब रिजाल, संजय गोल्छा, वर्षा श्रेष्ठ, राज बहादुर शाह, विदुषी राणा, लक्ष्मी प्रसाद सुवेदी, आशीष जजोडिया, पम्फा धमला, मनिष कुमार खेम्का, आशिष गर्ग, सेवा पाठक, गोकुल भण्डारी, बसन्त बहादुर चन्द, चन्द्र टण्डन निर्वाचित भए ।  यसैगरी कोशी प्रदेशबाट निवर्तमान अध्यक्ष भीम घिमिरे, मधेश प्रदेशका अध्यक्ष प्रमोद साह, बागमती प्रदेशका अध्यक्ष लेखराज पोखरेल, गण्डकी प्रदेशबाट अध्यक्ष विनोद न्यौपाने, लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम, कर्णाली प्रदेशका अध्यक्ष छत्र शाही र सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमणचन्द्र श्रेष्ठ राष्ट्रिय परिषद् सदस्य बनेका छन् । यस्तै, मकवानपुर उद्योग संघका अध्यक्ष बद्रीनाथ शर्मा, चितवन उद्योग संघका कार्यवाहक अध्यक्ष मदन घिमिरे, नवलपुर उद्योग संघका अध्यक्ष केबी राना, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा र पोखरा औद्योगिक क्षेत्र उद्योग संघबाट रुद्र श्रेष्ठ पदेन राष्ट्रिय परिषद सदस्य बनेका छन् । निर्वाचित राष्ट्रिय परिषद सदस्यहरुबाट सर्वसम्मत रुपमा ७ जना उपाध्यक्ष चयन भएका छन् । ​​​​​​ परिसंघको वरिष्ठ उपाध्यक्षमा निर्वाण चौधरी चयन भएका छन् । यसैगरी उपाध्यक्षहरुमा राजबहादुर शाह, हेम राज ढकाल, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे र गोकुल भण्डारी, स्थायी आमन्त्रित सदस्यमा सन्दिप शारडा, विदूषी राणा र प्राची अग्रवाल मनोनित भएका छन् । नवनिर्वाचत अध्यक्ष पाण्डेले उपाध्यक्ष एवं राष्ट्रिय परिषद् सदस्यहरुलाई सपथ ग्रहण गराए ।  पदभार ग्रहण गर्दै अध्यक्ष पाण्डेले परिसंघले विगतदेखि हासिल गर्दै आएका उपलब्धीहरुलाई संस्थागत गर्दै थप नयाँ उचाइमा पुर्याउन सक्रिय रुपमा लाग्ने बताए ।  यस्तै, सीएनआई प्रेसिडेन्ट अवार्डबाट परिसंघका पूर्व अध्यक्ष एवं प्रतिष्ठित उद्योगी शतिस कुमार मोर सम्मानित भए । सो अवसरमा परिसंघबाट निर्यातमा योगदान गर्ने संस्था तथा कम्पनीलाई अवार्ड प्रदान गरिएको थियो । साफ्टाअन्तर्गत हुने निर्यातमा योगदान दिने आरएमसी. फुडस् प्रालि, गणपति वनस्पति लिमिटेड, नारायणी वेल रिभाइनरी उद्योग प्रालि सम्मानित भएका छन् । यसैगरी तेस्रो मुलुकतर्फ निर्यातमा योगदान दिने नेपाल एक्प्रेस पार्सल एण्ड लजिष्टिक प्रालि, एसेन्ट् एक्र्पोट्स प्रालि, स्मुथ कार्गो मुभरर्स प्रालि सम्मानित भएका छन् । यस्तै इन्डो नेपाल अन्तर्गत हुने निर्यातमा योगदान दिने आरती स्ट्रीप्स् प्रालि, रिलायन्स स्पिनिङ मिल्स् लिमिटेड र शिवम् प्लाष्टिक इन्डष्ट्रिज लिमिटेड सम्मानित भएका छन् । यसैगरी सबैभन्दा सक्रिय राष्ट्रिय परिषद् सदस्य अवार्ड गोपाल अग्रवाल, परिसंघ अन्तर्गतका समिति, परिषद्, मञ्चमध्येबाट सबैभन्दा सक्रिय समिति अवार्ड सूचना प्रविधि परिषद्ले प्राप्त गरेका छन् । यसैगरी सबैभन्दा सक्रिय प्रदेश परिसंघको अवार्ड बागमती उद्योग परिसंघ र सर्वोत्कृष्ट कर्मचारीको अवार्ड निर्देशक हिमाल पौडेलले प्राप्त गरे । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सम्मानित व्यक्ति तथा संस्थाहरूलाई अवार्ड प्रदान गरे । 

गोल्डस्टार जुत्ताको कारोबार २ अर्ब २२ करोड रुपैयाँ, उत्पादन क्षमता १ करोड ६६ लाख जोर

काठमाडौं । किरण सुज म्यानुफ्याक्चरर्सले ६ महिनामा साढे ७९ करोड रुपैयाँ बढीको कारोबार गरेको छ । गोल्डस्टार जुत्ता निर्माता तथा वितरक कम्पनी किरण सुज म्यानुफ्याक्चरर्सले चालु आर्थिक वर्ष २०८१÷८२ को ६ महिना (सन् २०२५)मा ७९ करोड ६० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको हो । कम्पनीले सन् २०२४ मा २ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको जुत्ताको कारोबार गरेको छ । यस्तै, सन् २०२३ मा २ अर्ब १५ करोड ४० लाख रुपैयाा, सन् २०२२ मा २ अर्ब ४२ करोड ३० लाख रुपैयाँको जुत्ताको कारोबार गरेको थियो । सन् १९९० मा स्थापित किरण सुजको बालाजु, भैरहवासहित तीन ठाउँमा उत्पादन प्लान्ट सञ्चालनमा छन् । कम्पनीको मुख्य लगानीकर्ता अमिर प्रताप जेबी राणा हुन् भने निर्देशक विदुषी राणा छिन् ।  कुनै समय गोल्ड स्टारले १७ वटा फ्याक्ट्री चलाउँथ्यो भने ५ हजारलाई रोजगारी दिएको थियो । तर पछिल्लो समय तीनवटा फ्याक्ट्री मात्रै सञ्चालनमा रहेको कम्पनीले जनाएको छ । यी सबै उद्योगले वार्षिक कम्तीमा १ करोड ६६ लाख ५० हजार जोडी जुत्ता-चप्पल उत्पादन गर्न सक्ने क्षमता राख्छन् । तर क्षमताअनुसार कुनै पनि उद्योग सञ्चलानमा नआएको कम्पनीले जनाएको छ । गोल्डस्टार जुत्ता र हात्ती छाप चप्पल कम्पनीको मुख्य ब्राण्ड हुन् ।  कम्पनीले ४ अर्ब रुपैयाँ कर्जा लिएको छ । कम्पनीका अनुसार १ अर्ब ७९ करोड ६५ लाख रुपैयाँ दीर्घकालिन ऋण, १ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ अल्पकालीन ऋण र ५६ करोड ८२ लाख रुपैयाँ अल्पकालीन र दीर्घकालिन (एलसी÷बीजी)ऋण लिएको छ । नेपालमा वार्षिक करिब १६ करोड भन्दा बढी जोर जुत्ता–चप्पलको माग रहेको व्यवसायीहरु बताउँछन् । जसमध्ये वार्षिक १० करोड जुत्ता–चप्पल स्वदेशमै उत्पादन हुने गरेको छ । मुलुकभर १ हजार ५ सय हाराहारी जुत्ता–चप्पल उद्योग सञ्चालनमा छन् । विदेशी ब्राण्डका जुत्ता-चप्पल हाबी हुँदा स्वदेशी उद्योगले क्षमताअनुसार काम गर्न नसकेको व्यवसायीहरु बताउँछन् । नेपाली जुत्ता-चप्पल उद्योगमा ३० अर्ब रूपैयाँभन्दा बढीको लगानी रहेको व्यवसायीहरु बताउँछन् । जसमा ५५ हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । तर, अधिकांश उद्योगमा ६० प्रतिशत भारतीय कामदार छन् । तर, गोल्ड स्टार कम्पनीमा ९९ प्रतिशत कामदार नेपाली रहेको कम्पनीले दाबी गरेको छ ।