क्वालिटी आयलको कारोबार ५४.३१ प्रतिशत घट्यो, साढे ६ अर्बको व्यापार २ अर्बमा झर्याे

काठमाडौं । क्वालिटी आयल रिफाइनरी प्रालिको आम्दानीमा भारि गिरावट आएको छ । कम्पनीले गत वर्ष (सन् २०२४) मा २ अर्ब ३३ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन आम्दानी अघिल्लो वर्षको तुलनामा गत वर्ष ५४.३१ प्रतिशत अर्थात् २ अर्ब ७७ करोड ५० लाख रुपैयाँ घटेको हो ।  अघिल्लो वर्ष (सन् २०२३)मा कम्पनीले ५ अर्ब १० करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो । कच्चा पदार्थको मूल्य अस्थिरता र विदेशी मुद्रामा उतारचढाव हुँदा आम्दानीमा असर परेको कम्पनीले जनाएको छ । कम्पनीको आम्दानी निरन्तर घटिरहेको तथ्याङ्कले देखाएको छ । सन् २०२२ मा कम्पनीले ६ अर्ब ५० करोड ८० लाख रुपैयाँ बराबरको सञ्चालन आम्दानी गरेको थियो । कम्पनीले सन् २०२१ मा २ अर्ब ८० करोड ९० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ८४ करोड ७० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो । सन् २००४ मार्चमा स्थापना भएको कम्पनीमा कब्राजी समूहको लगानी रहेको छ । कटहरी इटहरीमा प्लान्ट रहेको यस कम्पनीले अर्जेन्टिना, ब्राजिल, मलेसिया, इन्डोनेसिया लगायत विभिन्न देशहरूबाट लेटर अफ क्रेडिट मार्फत कच्चा पदार्थ आयात गर्दै आएको छ ।  साथै, विदेशबाट कच्चा पदार्थ आयात गरी वनस्पती घ्यू, भटमासको तेल, सन्फ्लावर तेल, पामोलिन, पाल्म, तोरीको दाना लगायत विभिन्न प्रकारका तेलको प्रशोधन गरी बिक्री वितरण गर्दै आएको छ ।  दैनिक ३२० मेट्रिक टन उत्पादन क्षमता रहेतापनि कम्पनीको आम्दानीमा भने प्रत्येक वर्ष घटिरहेको देखिन्छ । तेल तथा वनस्पति घिउ उत्पादक कम्पनीहरुको संख्या बढ्दा प्रतिस्पर्धा बढेकाले व्यवसायमा गिरावट आएको कम्पनीले जनाएको छ ।  कम्पनीका प्रबन्ध निर्देशक घनश्याम काब्रा रहेका छन् भने बिपिन काब्राले कम्पनीमा निर्देशकको भुमिका निर्वाह गर्दै आएका छन् । काब्रासँग खाद्य प्रशोधन र व्यापार क्षेत्रमा लगभग दुई दशकको अनुभव छ ।  कम्पनीले रेटिङ्ग एजेन्सी केयर रेटिङ्स नेपाल लिमिटेडबाट २ अर्ब ७५ करोड बराबरको अल्पकालीन कर्जाका लागि रेटिङ गराएको छ । केयर रेटिङ नेपालले कम्पनीलाई ए–४ प्लस रेटिङ गरेको छ । 

नेपाली ३० हजार वर्गमिटर गलैँचा तेस्रो मुलुक निर्यात

काठमाडौं । बारा-पर्सा औद्योगिक कोरिडोरमा अवस्थित  प्रेस्टिज कार्पेट इन्डस्ट्रिजले आफ्ना उत्पादन तेस्रो मुलुक निर्यात गर्न थालेको छ । इन्डस्ट्रिजले गत बिहीबार ३० हजार वर्गमिटर गलैँचा सुक्खा बन्दरगाहबाट तेस्रो मुलुक निर्यात गरेको हो । उक्त इन्डस्ट्रिजका युनाइटेड सञ्चालक अमन साहका अनुसार संयुक्त अरब इमिरेट्स, अफ्रिकी मुलुक केन्या र संयुक्त राज्य अमेरिकालगायत मुलुकमा आफ्ना उत्पादन निर्यात गर्न थालेको हो । यसअघि  भारतमा आफ्ना उत्पादन निर्यात गर्दै आएको थियो । ‘करिब १ करोड रुपैयाँ बराबरको गलैँचा सुक्खा बन्दरगाहबाट तेस्रो मुलुक निर्यात गरिएको छ,’ लामो प्रयासपछि तेस्रो मुलुकमा पनि निर्यात गर्न बन्न सफल भएको उल्लेख गर्दै उनले भने ।  जितपुर-सिमरा उपमहानगर-२३ मा रहेको उक्त उद्योगले १०० जनालाई रोजगारी दिएको छ । उद्योगको  वार्षिक २० लाख वर्गमिटर उत्पादन गर्ने क्षमता छ । उद्योगका अनुसार प्रतिवर्गमिटर मिटर ९०० रुपैयाँदेखि ४ हजार रुपैयाँसम्मका गलैँचा उत्पादन हुने गरेको छ । विगत पाँच वर्षदेखि सञ्चालनमा रहेको उद्योगमा ४० करोड रुपैयाँ लगानी भएको छ ।  यसैबीच, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरी पुनः विदेश निर्यात गर्नु खुसीको कुरा भएको बताए । 

आर्थिक मन्दीले स्याङ्जामा उद्योग तथा पसलको सङ्ख्या घट्दो

स्याङ्जा । जिल्लामा उद्योग तथा पसलको सङ्ख्या दिनानुदिन घट्दो छ । उद्योग तथा व्यापार व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको जनाउँदै उद्योगी, व्यवसायीले पसल दर्ता खारेजी गर्न थालेका हुन् । आर्थिक वर्ष २०८१/८२ मा पर्यटन तथा उद्योग कार्यालयमा नयाँ उद्योग दर्ता हुनेभन्दा खारेजी हुनेको सङ्ख्या धेरै रहेको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार आव २०८१/८२ मा १७७ नयाँ उद्योग दर्ता भएकामा २६३ वटा खारेजी भएका छन् । वाणिज्यतर्फ सोही आवमा १४२ वटा नयाँ दर्ता भएकामा १९७ वटाको दर्ता खारेजी गरिएको छ । आर्थिक वर्ष २०८०/८१ मा २५० वटा नयाँ उद्योग दर्ता भएका थिए । सोही आवमा २२६ वटाको दर्ता खारेजी भएको थियो । वाणिज्यतर्फ १८५ वटा नयाँ दर्ता हुँदा २३४ वटाको दर्ता खारेजी भएको उनले जानकारी दिए । विगतका तुलनामा पछिल्ला वर्षमा व्यापार व्यवसाय घटेकाले उद्योग तथा व्यापार व्यवसाय दर्ता खारेजी गर्न निवेदन बढी आएको जनाइएको छ । खारेजी भएकामा बढी कृषि तथा पशुपालन फार्म, खाजा घर, रेष्टुरेन्ट, कुटानीपिसानीका उद्योग, फेन्सी पसल छन् । अनुदान लिन फार्म सञ्चालन गर्ने र अनुदान लिएपछि फार्म बन्द गर्ने पनि देखिएका छन् । उद्योग तथा व्यापार ब्यवसायको दर्ता खारेजी हुनु अर्थतन्त्रका दृष्टिले राम्रो सङ्केत नभएको वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष चेतनारायण श्रेष्ठ बताउँछन् । पछिल्लो समय देशमा देखिएको आर्थिक मन्दीका कारण पनि उद्योग तथा व्यापार व्यवसायमा कठिनाई भएकाले खारेजी गर्ने बढेका हुनसक्ने उनको भनाइ छ । आव २०८१/८२ मा विविध शीर्षकबाट पर्यटन तथा उद्योग कार्यालयले ५५ लाख ५५ हजार ७७० राजस्व सङ्कलन गरेको थियो । आव २०८०/८१ मा भन्दा आव २०८१/८२ मा २२ लाख बढी राजस्व सङ्कलन भएको हो । नवीकरण गर्न एक वर्ष नाघेका फाइल जरिवाना भुक्तानी गरेर नवीकरण गर्न पाउने नियम आएसँगै गत आवमा राजस्व बढेको कार्यालयले जनाएको छ । रासस