सागर डिस्टिलरीलाई आईपीओ बिक्री गर्न धितोपत्र बोर्डको अनुमति
काठमाडौं । उत्पादन तथा प्रशोधन समूहतर्फ सागर डिस्टिलरी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले साधारण सेयर (आईपीओ) बिक्रीका लागि अनुमति दिएको छ । चालु आर्थिक वर्ष लागेसँगै बोर्डले कम्पनीलाई साधारण सेयर बिक्रीको अनुमति दिएको हो । बोर्डले सो कम्पनीलाई कूल १४ करोड ५२ लाख रुपैयाँको १४ लाख ५२ हजार कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति दिएको हो । कम्पनीको सेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । बोर्डका अनुसार सो कम्पनीलाई सोमबार साधारण सेयर बिक्रीका लागि अनुमति दिइएको हो । साधारण सेयर बिक्रीका लागि कूल ७६ कम्पनी प्रतीक्षामा छन् । तीमध्ये ३७ वटा जलविद्युत कम्पनी रहेका छन् । होटल तथा पर्यटनतर्फ ४, विकास बैंक र फाइनान्स कम्पनी १/१ वटा छन् । लगानी कम्पनीतर्फ तीन, उत्पादन तथा प्रशोधनतर्फ १८, माइक्रो इन्स्योरेन्सतर्फ ३ कम्पनी साधारण शेयर बिक्रीका लागि अनुमतिको प्रतीक्षामा छन् ।
नेप्से बुल र द गभर्नरको कारोबारमा वृद्धि
काठमाडौं । नेप्से बुल र द गभर्नर मदिराको कारोबार गर्ने सागर डिस्टिलरीले एक वर्षमा १८ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा (सन् २०२५) सागर डिस्टिलरीले १८ करोड रुपैयाँ बराबरको कारोबार गरेको हो । यसअघि कम्पनीले १७ करोड ७० लाख रुपैयाँ बराबरको मदिराको कारोबार गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीले १.६९ प्रतिशत अर्थात् ३० लाख रुपैयाँ बढीको मदिरा कारोबार गरेको हो । कम्पनी सन् २०२२ बाट पूर्ण रुपमा सञ्चालनमा आएको हो । कम्पनीले सन् २०२२ मा ६ करोड ६० लाख रुपैयाँ र सन् २०२३ मा ९ करोड ४० लाख रुपैयाँ बराबरको मदिराको कारोबार गरेको थियो । सन् २०१४ स्थापित सागर डिस्टिलरी सन् २०२३ पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएको थियो । नवलपुरको देवचुलीमा फ्याक्ट्री रहेको यस कम्पनीले भोड्का, ह्विस्की, जिन, जस्ता उच्च ग्रेड स्प्रिटहरू उत्पादन गर्दै आएको छ । सागर डिस्टिलरीको वार्षिक ५० लाख लिटर मदिरा उत्पादन क्षमता रहेको छ । ललीपप गोल्ड/एप्पल/लेमन/ओरेन्ज (७० यूपी), रोयल ब्लू (४० यूपी), ग्रे वुल्फ (४० यूपी), बेरीज एण्ड ब्लूज (४० यूपी), नेप्से बुल्स (३० यूपी) र द गभर्नर (२५ यूपी) उत्पादन गर्दै आएको सागर डिस्टिलरीले जनाएको छ । कम्पनीमा आशुतोष खेतान, अल्का गोयल र सन्दीप जलानको मुख्य लगानी रहेको छ । खेतानको १४.५२ प्रतिशत, गोयलको १०.६३ प्रतिशत र जलान ९.१४ प्रतिशत सेयर स्वामितव रहेको छ । कम्पनीमा ४ सदस्यीय सञ्चालक समिति रहेको छ । जसको अध्यक्षता अल्का गोयलले गरिरहेकी छिन् । उनीसँग एक दशकभन्दा बढीको अनुभव छ । साथै, जालान र खेतानसँग ब्रोकरेज, सूचना प्रविधि, मिडिया, घरजग्गा र निर्माण लगायतको अनुभव छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सौरभ करणजीत छन् । उनीसँग यो क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव छ । छोटो समयमा उल्लेख्य व्यवसाय विस्तार गरिरहेको यस कम्पनीले आगामी दिनमा बजारमा स्थापित कम्पनीसँग प्रतिस्पर्धा गर्नुपर्ने मुख्य चुनौती रहेको छ । सागर डिस्टिलरीले सर्वसाधारण लगानीकर्तालाई जारी पुँजीको १५ प्रतिशत आईपीओ बिक्री प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिसकेको छ भने १४ करोड ५२ लाख रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँ दरका १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा समेत आवेदन दिएको छ ।
लिट्मस केबल्सको पावर पार्टनर्स मीट २०८२ सम्पन्न
काठमाडौं । लिट्मस इन्डस्ट्रीज लिमिटेडले आफ्नो तेस्रो 'पावर पार्टनर्स मिट २०८२' काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेको छ । कार्यक्रममा देशभरबाट करिब २०० जना डिलर, वितरक तथा च्यानल पार्टनरहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा कम्पनीको प्रस्तुति, डिलरहरूसँगको प्यानल छलफल तथा उपलब्धिमूलक नेटवर्किङ सेसनको आयोजना गरिएको थियो । लिट्मसले आफ्नो पाँच दशक लामो यात्रा, वर्तमान बजार उपस्थिति, प्रमुख उपलब्धिहरू र भावी योजनाहरू प्रस्तुत गर्दै गुणस्तर, अत्याधुनिक प्रविधि र नवप्रवर्तनप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गरेको थियो । उत्कृष्ट योगदानको कदरस्वरूप कम्पनीले राइजिङ स्टार, पेमेन्ट एक्सिलेन्स, लिट्मस एक्सिलेन्स अवार्डसहित १० विधामा देशभरका उत्कृष्ट डिलरहरूलाई सम्मानित गरेको थियो । यसले लिट्मसको सफलता र समृद्धिमा विश्वास, सहकार्य र बलियो साझेदारीको महत्वलाई अझ प्रस्ट पारेको थियो । त्यसै अवसरमा, लिट्मसले 'श्रावण उत्सव' अभियानको घोषणा गर्दै डिलरहरूलाई आकर्षक स्किममार्फत दुबई र थाइल्याण्ड भ्रमण तथा चाँदीका सिक्का जित्ने अवसर प्रदान गर्ने जानकारी गराएको थियो ।