जब अध्यक्ष ढकाललाई कोशेलीको रूपमा एक डाली मास दिइयो...
काठमाडौं । चोयाले बुनेको चिटिक्कको डाली । अनि डालीभरि कालो मास । मास पनि धादिङको । जहाँको मास र अन्य दलहन गेडागुडी मलेखु बजारको मुख्य आकर्षक हो । मलेखु भएर काठमाडौं भित्रबाहिर गर्ने जोसुकै यात्रुको पनि विशेष कोशेली बन्ने गर्दछ यहाँको मास र गेडागुडी । धादिङको नीलकण्ठ नगरपालिकामा बिहीबार आयोजित एक समारोहका अतिथिलाई उपहारस्वरुप टक्र्याइएको जिल्लाको यो रैथाने उत्पादनको जिल्लामा निकै चर्चा भयो। धादिङ जिल्ला उद्योग वाणिज्य सङ्घले ‘मायाको चिनो’ अर्थात् कोशेलीका रूपमा अतिथिलाई डालीभरि मास दिएपछि अतिथिहरू आश्चर्यमा परे । कार्यक्रमको आयोजक थियो जिल्ला उद्योग वाणिज्य संघ, धादिङ र प्रमुख अतिथि थिए नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल । अनि प्रसंग थियो सङ्घको ३२ औं वार्षिक साधारणसभा समारोह । कार्यक्रम सकियो, अतिथिहरूको बिदाइका तरखर सुरु भयो । अतिथिहरूलाई मायाको चिनो प्रदान गर्ने क्रममा डालिभरि मास लिएर आए जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटी । परैबाट के होला कोशेली भनेर छुट्याउन नसकेपनि नजिकै उपस्थित हुनेहरूले भने थाहा पाए । प्रमुख अतिथि ढकाल लगायत त्यहाँ उपस्थित अन्य विशिष्ट अतिथिहरुले खुसी र श्रद्धापूर्वक धादिङको स्थानीय उत्पादनलाई उपहारका रूपमा ग्रहण गरेलगत्तै कार्यक्रमस्थलमा सुरु भएको थियो मासको महत्त्वको चर्चा । यस्ता समारोह तथा कार्यक्रमहरुमा मायाको चिनोका रूपमा प्रायः आयातित वस्तु तथा सजावटका समान दिने प्रचलन रहँदै आएकामा सङ्घले भने स्थानीय उत्पादनलाई प्राथमिकता दिन, मुलुकका उद्योगी व्यवसायीहरुका नेता ढकालमार्फत आफ्नो स्थानीय उत्पादनको प्रवर्द्धन गर्न तथा धादिङको मासको देशव्यापी प्रचार गर्न यो उपहार दिएको अध्यक्ष डल्लाकोटीले बताए । सो उपहार प्राप्त गरेपछि अध्यक्ष ढकालले आफू सदैव स्वदेशी उत्पादनको प्रवर्द्धन गर्न, रैथाने एवं स्थानीय वस्तुहरूलाई उचित बजारको प्रबन्ध गर्न तथा स्वदेशी उत्पादनमार्फत् आयात प्रतिष्थापन गरी निर्यात प्रवर्द्धन गर्न लागि परेकाले यस्ता उपहारहरू र तिनको प्रचारबाट निकै खुसी हुने धारणा पनि राखे । उनले भने, ‘यो उपहारले प्लास्टिकजन्य सामग्रीबाट बन्ने झोला आदिका ठाउँमा चोयाको डालीले काम गर्छ र नेपालमा प्लास्टिकका वस्तुहरुले स्थानीय बाँस, निगालोको चोयाबाट बन्ने डाली, डोका आदि सामग्रीहरु विस्थापित भइरहेका बेला तिनको प्रयोग र संरक्षणको सन्देश पनि डालीले दिन सक्छ भन्ने मलाई लाग्दछ ।’
बोटलर्स नेपालका २ कम्पनीको नाफामा उछाल, बालाजुको २८१.२० र तराईको २३४.७५ प्रतिशत बढ्यो
काठमाडौं । बोटलर्स नेपालका २ कम्पनीले चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो त्रैमासमा उल्लेख्य नाफा बढाएका छन् । बोटलर्स नेपाल बालाजु र तराईको व्यापारमा बढोत्तरी भएसँगै नाफा पनि उल्लेख्य बढेको हो । बोटलर्स नेपाल बालाजुको चालु आवको पहिलो त्रैमासमा खुद नाफा २८१.२० प्रतिशत बढेर ३२ करोड १६ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको छ । जबकि गत वर्षको असोजमा कम्पनीले ८ करोड ४३ लाख ८३ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो । चालु आवको ३ महिनामा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ६९ करोड ११ लाख ८० हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब २४ लाख ६४ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको अन्य सञ्चालन आम्दानी ६९ करोड ९९ लाख रुपैयाँ, सञ्चालन नाफा ४१ करोड १८ लाख ६४ हजार रुपैयाँ र कुल नाफा १ अर्ब १५ करोड ६८ लाख १२ हजार रुपैयाँ गरेको छ । गत वर्षको असोजमा कम्पनीले ६३ करोड २९ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी, १७ करोड ७६ लाख रुपैयाँ सञ्चालन नाफा र ७८ करोड ७५ लाख रुपैयाँ कुल नाफा गरेको छ । यस्तै, यस अवधिमा कम्पनीले २ अर्ब ५३ करोड ४३ लाख रुपैयाँ बिक्री लागत, ५७ करोड ९९ लाख रुपैयाँ बिक्री वितरण खर्च र १७ करोड १९ लाख रुपैयाँ प्रशासनिक खर्च गरेको छ । १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५ अर्ब ९७ करोड ८५ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात १०५ गुणा रहेको छ । बोटलर्स नेपाल तराइको चालु आवको पहिलो त्रैमासमा खुद नाफा २३४.७५ प्रतिशत बढेर २७ करोड ३८ लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ । जबकि गत वर्षको असोजमा कम्पनीले ८ करोड १८ लाख ७ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो । चालु आवको ३ महिनामा कम्पनीको सञ्चालन आम्दानी २ अर्ब ६१ करोड ४८ लाख ९२ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २ करोड ८७ लाख २८ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको अन्य सञ्चालन आम्दानी ७८ लाख ८७ हजार रुपैयाँ, सञ्चालन नाफा ३७ करोड ६९ लाख १६ हजार रुपैयाँ र कुल नाफा ९२ करोड ५१ लाख ३७ हजार रुपैयाँ गरेको छ । गत वर्षको असोजमा कम्पनीले १ करोड ९८ लाख ३३ हजार रुपैयाँ अन्य सञ्चालन आम्दानी, १४ करोड ४६ लाख रुपैयाँ सञ्चालन नाफा र ५४ करोड ८४ लाख २ हजार रुपैयाँ कुल नाफा गरेको छ । यस्तै, यस अवधिमा कम्पनीले १ अर्ब ६८ करोड ९७ लाख ५५ हजार रुपैयाँ बिक्री लागत, ४३ करोड ७९ लाख ६४ हजार रुपैयाँ बिक्री वितरण खर्च र ११ करोड ८१ लाख ४४ हजार रुपैयाँ प्रशासनिक खर्च गरेको छ । १२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ६८ करोड ६ लाख रुपैयाँ रहेको छ । असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी २२६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४८ गुणा रहेको छ ।
एनपीएलका सबै खेल ‘डिशहोम गो’ एपमार्फत प्रत्यक्ष हेर्न सकिने
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै ३२ खेल अब ‘डिशहोम गो’ मोबाइल एपमार्फत प्रत्यक्ष हेर्न सकिने भएको छ । आगामी मङ्सिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने एनपीएलका सम्पूर्ण खेलहरू सो एपमार्फत लाइभ प्रशारण गरिने भएको हो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले ओटीटी प्रसारण अधिकार ‘डिश मिडिया नेटवर्क’ लाई प्रदान गरेको हो । क्यानका अनुसार दर्शकहरूले खेल हेर्नका लागि छुट्टै शुल्क तिर्नुपर्नेछ । नेपालभित्रका दर्शकले ३०० रुपैयाँ, मिडल इस्ट क्षेत्रका दर्शकले ५०० रुपैयाँ र अन्य देशका दर्शकले १० अमेरिकी डलर तिर्नुपर्नेछ । एप र वेबसाइटमार्फत खेल हेर्दा विज्ञापनरहित रूपमा प्रसारण हेर्न सकिने व्यवस्था गरिएको छ । यसपटक दोस्रो संस्करणको एनपीएलका खेलहरू युट्युबमा प्रत्यक्ष प्रशारण नहुने पनि क्यानले जनाएको छ । ‘डिशहोम गो’ एप मोबाइल, एन्ड्रोइड टिभी र वेब तीनै माध्यममा उपलब्ध हुनेछ । दर्शकहरूले खल्ती, इसेवा, भिसा वा मास्टरकार्ड प्रयोग गरी सजिलै सब्स्क्रिप्सन लिन सक्नेछन् । कम्पनीका अनुसार नयाँ संस्करणको एप अहिले गुगल प्ले स्टोरमा उपलब्ध छ भने आईओएस प्रयोगकर्ताका लागि एप केही दिनभित्र सार्वजनिक हुनेछ । उच्च गुणस्तरको र अवरोधरहित प्रत्यक्ष प्रशारण सुनिश्चित गर्न ‘डिशहोम’ ले मोबायोटिक्स र अकामाईसँग प्रविधिक सहकार्य गरेको छ । मोबायोटिक्स बहुप्रयोगकर्ता–मैत्री अनलाइन स्ट्रिमिङ प्रणाली निर्माण गर्ने अन्तर्राष्ट्रिय कम्पनी हो । यसले तयार पारेको प्लेटफर्ममार्फत बंगलादेश र भारतबीचको आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को खेल एकैपटक २३ लाखभन्दा बढी दर्शकले सहज रूपमा हेरेका थिए । त्यस्तै, अकामाई विश्वकै अग्रणी क्लाउड सेवा प्रदायक हो, जसले भारतमा ‘हटस्टार’ सँग सहकार्य गर्दै आइपिएलको डिजिटल प्रसारण सम्भव बनाउँदै आएको छ । अकामाईले विश्वभरका सर्भरमार्फत सामग्री छिटो, सुरक्षित र भरपर्दो तरिकाले प्रयोगकर्तासम्म पुर्याउने काम गर्छ ।