नेपाल इको प्यानल भक्तपुरकै ब्राण्ड बन्दै
काठमाडौं । भक्तपुरबाट आजको दिनमा भक्तपुर बाहिर जाने कुनै सामान छ भने इको प्यानल भएको छ । सन् २०१४ मा इन्जिनियर कृष्णभक्त दुवालले सुरु गरेको इको प्यानल आज देशैभरि पुगेको छ । स्थायी तथा अस्थायी संरचनाको निर्माणमा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने नयाँं निर्माण सामाग्री नै इको प्यानल हो । हलुका, भूकम्प प्रतिरोधी लगायतका कारण पछिल्ला वर्षहरुमा यसको लोकप्रियता निरन्तर बढ्दो छ । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवाल वातावरणमैत्री अनि उर्जा किफायती भएको कारण पनि जनताले इको प्यानललाई मन पराएको सुनाउँंछन् । नेपालमा मात्रै होइन, अहिले संसारभर नै वातावरण प्रदूषण ठूलो समस्यको रुपमा आइरहेको छ, उनले भने, त्यही कारण मानिसले वातावण विनाश नपुयाउने निर्माण सामाग्री मन पराइरहेका छन् । इको प्यानल उर्जा किफायती पनि छ । यसको उत्पादनमा उर्जाको बचत हुन्छ । अन्य अनेक विशेषताका साथै वातावरणमैत्री र उर्जा किफायती भएकै कारण पनि धेरै जनताले यसलाई रुचाइएको उनको दावी हो । नेपाल इको प्यानलको कर्पाेरेट अफिस भक्तपुरको सल्लाघारीमा रहेको छ । भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित डा इवामुरा अस्पताल सल्लाघारीको अपोजिट दिशामा यसको कर्पाेरेट कार्यालय रहेको छ । यसको कारखाना पनि जिल्लाकै चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको छ ।
घरेलु तथा साना उद्योगलाई दिगो बनाउन जोड
पोखरा । घरेलु तथा साना उद्योग व्यवस्थित र दिगोरूपमा सञ्चालन गर्न आवश्यक भएको पोखरामा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले घरेलु उद्योगलाई दिने अनुदान र उनीहरूलाई कसरी माथि उठाउने भन्नेबारेमा साना उद्योगीसँग मङ्गलबार गरेको अन्तरक्रियामा सहभागी वक्ताले उक्त कुरामा जोड दिएका हुन् । गण्डकी प्रदेश सरकारका मुख्यसचिव रविराज पन्तले साना व्यवसायीले आफ्नो उत्पादनलाई दिगो राख्न सके प्रदेश तथा केन्द्र सरकारबाट सहयोग प्राप्त हुने बताए । गाउँका बाँझा जमिनलाई सदुपयोग गर्नुपर्नेमा जोड दिँदै उनले पछिल्लो समय कृषि क्षेत्रमा समेत विदेशी लगानी भित्रिएकाले ती बाँझा जमिनमा आधुनिक कृषि प्रणाली लागू गर्न जरुरी भएको बताए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव तोयम रायले आन्तरिक उत्पादनलाई राज्यले संरक्षण गर्ने नीति ल्याएको बताए । सबै किसानका उत्पादनलाई सङ्कलन गरी एकै ठाउँमा राखेर बजारीकरण गर्न सरकारले काम सुरु गर्न लागेको उनको भनाइ छ । प्रदेशस्थित अर्थ मन्त्रालयका सचिव विष्णुप्रसाद शर्माले प्रदेश सरकारले आम्दानीका स्रोतहरु वृद्धि गर्नका लागि यस क्षेत्रमा उत्पादन गर्न सकिने स्थान र स्थानीय पर्यटकीय तथा अन्य सम्भावनाका क्षेत्र पहिचान गर्न जरुरी भएको बताए नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले व्यापार घाटालाई कसरी घटाउन सकिन्छ भन्ने विषयमा सरकारले सोच्न जरुरी भएको छ भने । कृषिमा अझै पनि आधुनिकीकरण हुन नसक्नु विडम्बना भएको बताउँदै उनले स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्दै सरकार अगाडि वढ्नुपर्नेमा जोड दिए । रासस
बजारमा नेपाली कागजको माग उच्च, मासिक ४ लाख आम्दानी हुने
गोरखा । गोरखामा उत्पादन हुँदै आएको नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव भएपछि बजारको माग धान्न गाह्रो परेको छ । गोरखा नगरपालिका–६ स्थित नयाँबस्तीमा सञ्चालित गोरखा मनकामना नेपाली हाते कागज उद्योगमा मागअनुसार नेपाली कागज उत्पादनका लागि कच्चा पर्दाथको अभाव हुँदै आएको हो । कागज उत्पादनका लागि आवश्यक पर्ने लोक्ता जङ्गलबाट खोजेर ल्याउनुपर्ने भए पनि आवश्यकताका आधारमा कच्चा पर्दाथ आयात गर्न नसकिएको उद्योगका सञ्चालक पासाङनिमा शेर्पाले बताए । ‘जङ्गलमा त खोजेजति लोक्ता पाइन्छ’, उनले भने, ‘तर जङ्गलमा गएर झिक्ने, सुकाउने र यहाँसम्म ल्याउने मान्छे नै पाउन गाह्रो छ ।’ शेर्पाले घरेलु कार्यालयमा उद्योग दर्ता गरी नेपाली कागज उत्पादन गरेको झण्डै पाँच वर्ष भइसकेको छ । ‘बजारमा जति उत्पादन गरे पनि बिक्रीका लागि कुनै समस्या छैन’, शेर्पाले भने, ‘बरु कागज उत्पादनका लागि सधैँ कच्चा पर्दाथको अभाव हुने गरेको छ ।’ जङ्गलबाट झिकेर ल्याएको लोक्ता उद्योगले प्रतिक्विन्टल १५ हजार रुपैयाँमा खरिद गर्ने गरेको उनको बताए । एक क्विन्टल कच्चा पर्दाथबाट दुई हजार थान २०–३० साइजको कागज उत्पादन हुने शेर्पाले जानकारी दिए । उद्योगमा अहिले परिवारका तीन सदस्यसहित १० जनाले रोजगारी पाएका छन् । शेर्पाले करिब आठ लाख रुपैयाँको लागतमा उद्योग सञ्चालन गरेको बताए । ‘उद्योगका लागि दक्ष कामदारलाई खाने–बस्ने सुविधासहित १० हजार रुपैयाँदेखि १५ हजार तलब दिने गरेको छु’, शेर्पाले भने, ‘चर्को घाम लागेको दिन एक जना कामदारले दैनिक दुई सय पन्ना कागज उत्पादन गर्न सक्छ ।’ उद्योगले उत्पादन गरेको कागज काठमाडौँमा बिक्री हुने गरेको उनको भनाइ छ । ‘उद्योगमा १० ग्राम, २० ग्राम, ३० ग्राम र ४० ग्राम तौलका कागज उत्पादन हुने गर्दछ’, उनले भने, ‘बीस ग्राम कागजको प्रतिपन्ना २० र ४० रुपैयाँ ग्राम कागजको प्रतिपन्ना ४० रुपैयाँमा नै ठूला उद्योगले खरिद गरेर लैजान्छन् ।’ उनले उद्योगबाट गर्मी मौसममा दैनिक १ हजार ६ सय थान र जाडो मौसममा आठ सय थानसम्म कागज उत्पादन हुने बताए । ‘जाडो मौसममा सुक्न अलिक समय लाग्ने भएकाले गर्मी मौसममा भन्दा कम उत्पादन हुन्छ’, शेर्पाले भने, ‘गर्मी मौसममा बढीमा तीन घण्टाभित्रमा जालीमा राखेको लेदो सुकेर कागज तयार हुन्छ, तर जाडो मौसममा सुक्न झण्डै पाँच घण्टा जति समय लाग्छ ।’ राम्रोसँग उद्योग चल्दा मासिक ४ लाख रुपैयाँसम्म उद्योगमा आम्दानी हुने गरेको शेर्पाले बताए । उद्योगले मागअनुसार कागज उत्पादन गर्दै आइरहेको सञ्चालक शेर्पाको भनाइ छ । उनले उद्योगका लागि चाहिने कच्चा पर्दाथ वन कार्यालयको अनुमति लिएर उत्तरी गोरखाको लाप्राक, लापु, मान्वु, खरिबोटलगायतका क्षेत्रबाट सङ्कलन गरी ल्याउने गरिएको जानकारी दिए । उद्योगबाट उत्पादित नेपाली कागज अघिकांश सरकारी कामकाजका लागि प्रयोग हुने गरेको भए पनि थाङ्का र्कोने, धुप बनाउने, डायरी बनाउने, नोटबुक बनाउने काममा समेत प्रयोग हुने गरेको सञ्चालक शेर्पाको जानकारी दिए । ४० ग्रामका कागज भने नेपाल बाहिर निर्यात हुने गरेको शेर्पाको भनाइ छ ।