पर्सामा करिब साढे ६ हजार उद्योग थपिए

पर्सा । पर्सा जिल्लामा पछिल्लो साढे पाँच वर्षमा छ हजार चार सय ८२ नयाँ उद्योग थपिएका छन् । आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म सेवामूलक उद्योगतर्फ तीन हजार पाँच सय २७, कृषि तथा वन्यजन्यतर्फ एक हजार सात सय ३४, उत्पादन उद्योगतर्फ एक हजार एक सय २४ र पर्यटनतर्फ ४५ वटा उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्ज पर्साका प्रमुख धनजयकुमार सिंहले जानकारी दिए । यस्तै चालु आवको पुस मसान्तसम्म सेवामूलकतर्फ दुई सय ६०, कृषि तथा वन्यजन्यतर्फ एक हजार एक सय ३०, उत्पादनमूलकतर्फ ८२ वटा, निर्माणतर्फका ५२ र पर्यटनतर्फ ३५ वटा उद्योग दत्र्ता भएका छन् । यस अवधिमा पाँच हजार २३ उद्योग नवीरकण र छ सय २० वटा उद्योगको लगतकट्टा लगायतका शीर्षकबाट छ करोड ९७ लाख १० हजार ८० राजस्व सङ्कलन भएको छ ।

गुणस्तरहीन खाद्यवस्तु उत्पादन गरेकाे भन्दै झापाका ३ उद्योगविरुद्ध मुद्दा दायर

झापा । झापाका तीन उद्योग र एउटा विद्यालयको चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको छ । गुणस्तरहीन एवं दूषित खाद्यवस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने उद्योग एवं चमेनागृहविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नारायणप्रसाद भट्टराईले जानकारी दिए। बुद्धशान्ति–३ स्थित भगवती वेभरेज इण्डष्ट्रिज, मेचीनगर–१३ स्थित भ्याली एग्रो फिड प्रालि, भद्रपुर–६ स्थित स्टार फिड्स इण्डष्ट्रिज र मेचीनगर–६ स्थित काँकरभिट्टा माविमा सञ्चालित चमेनागृहविरुद्ध मुद्दा दायर गरिएको हो । भगवती वेभरेजद्वारा उत्पादित पानीमा कोलीर्फम भेटिएपछि जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । दूषित दाना उत्पादन तथा बिक्री वितरण गरिएको पाइएपछि स्टार फिडविरुद्ध मुद्दा दायर गरिएको छ । यस्तै अभिभावकको उजुरीका आधारमा काँकरभिट्टा माविको चमेनागृहमा अनुगमन गर्दा ढुसी परेको, सडेगलेको, गन्हाएको दूषित खाद्यवस्तु फेला परेपछि मुद्दा दायर गरिएको कार्यालय प्रमुख भट्टराईले बताए । मापदण्ड नपुगेका उद्योगलाई मापदण्ड पूरा गर्न निर्देशनसमेत दिएको उनले बताए । बजारमा रङ प्रयोग गरिएका भारतीय एवं लेवन नभएका नुडल्स् बिक्री–वितरण भइरहेका छन् । नेपालमा उत्पादित नुडल्स्मा रङ प्रयोग नभए पनि रङ प्रयोग गरिएका भारतीय नुडल्स् अनुगमनका क्रममा भेटिएको र तत्काल नष्ट गर्ने गरिएको प्रमुख भट्टराईले बताए । खाद्य पदार्थ र दाना गरी थप छ उद्योगको अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । गुणस्तर परीक्षणका लागि जिल्लामा प्रयोगशाला नहुँदा खाद्यवस्तुको परीक्षणमा समस्या हुने गरेको छ । विशेष गरी, दुग्धजन्य पदार्थ गुणस्तर परीक्षणमा समस्या हुने गरेको छ । जिल्लामा सङ्कलित खाद्यवस्तुको नमूना परीक्षणका लागि विराटनगर पठाउने गरिएको छ । रासस

किबीबाट जाम उत्पादन सुरु

दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पामा किबीको जाम खुदो उत्पादन सुरुआत गरिएको छ । स्थानीय सातजना उद्यमीले चिमाल फलफूल प्रशोधन उद्योग दर्ता गरेर किबीको जाम उत्पादन गर्न थालेका हुन् । उद्योगबाट उत्पादित जाम दिक्तेल बजार तथा आसपासका क्षेत्रमा बिक्री हुँदै आएको सञ्चालक समितिका अध्यक्ष शुभचन्द्र राईले जानकारी दिए । ‘परीक्षण चरणमै रहेको जामले राम्रो बजार मूल्य पाएको छ’, उनले भने, ‘पहिलो चरणमा पाँच सय ग्रामको तीन सय रुपैयाँ र सात सय ग्रामको चार सय रुपैयाँमा बिक्री गर्ने गरिएको छ ।’ जाम, जुस, स्क्वास, क्याण्डीलगायत १३ प्रकारका खाद्यान्न उत्पादन गर्ने गरी प्रशोधन उद्योग सञ्चालन गरिएको जनाइएको छ । किबी, केरा, आँप, आल्चा, नास्पाती, अम्बा, मेहेललगायतका फलफूलबाट विभिन्न प्रकारका खाद्य पदार्थ उत्पादन गर्ने गरी उद्योग स्थापना गरिएको समितिका सचिव कविकुमार राईले जानकारी दिए । गत मङ्सिर २० गते घरेलु तथा साना उद्योग कार्यालय खोटाङबाट स्वीकृति लिएको फलफूल प्रशोधन उद्योगमा २५ लाख रुपैयाँ बढी लगानी हुने जनाइएको छ । सुरुआती चरणमा पाँच लाख रुपैयाँ लगानीमा उपकरण खरिद गरेर उद्योग स्थापना गरिएको अध्यक्ष राईले जानकारी दिएका छन् । जिल्लामै पहिलोपटक फलफूल प्रशोधन उद्योग स्थापना भएपछि कृषक हर्षित भएका छन् । आफूले उत्पादन गरेका किबी, केरा, आँप, आल्चा, नास्पाती, अम्बा, मेहेललगायतका फलफूल खेर नजाने भएपछि कृषक हर्षित भएका हुन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै खोलिएको उद्योगमा जिल्लाका विभिन्न ठाउँमा उत्पादन गरिएका फलफूल सङ्कलन गरेर प्रशोधन गर्ने लक्ष्य राखिएको छ । प्रशोधन उद्योग अभावमा जिल्लाका कृषकले उत्पादन गरेका फलफूल यसअघिसम्म बिना उपयोग खेर जाने गरेको थियो । दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय सबैभन्दा बढी किबी उत्पादन हुन थालेको छ । केही वर्षअघिदेखि मात्र उत्पादन हुन थालेको किबी अहिले प्रति केजी दुई सय ५० रुपैयाँमा फार्मबाटै जिल्ला बिक्री हुँदै आएको छ । जिल्लाका कृषकले उत्पादन गरेका किबी बाहिरी जिल्लासमेत निर्यात हुँदै आएको छ । जिल्लामा उत्पादित किबी पूर्वी तराई तथा राजधानी काठमाडौँमा सबैभन्दा बढी निर्यात हुने गरेको कृषकले बताएका छन् । रासस