देवचुली नगरपालिकाले दुई करोड १४ लाखको लागतमा पशु आहारा उत्पादन उद्योग खोल्ने
फाइल फोटो नवलपरासी (बर्दघाट सुस्तापूर्व) । नवलपुरको देवचुली नगरपालिकाले पशु आहारा उत्पादन उद्योग स्थापना गर्न लागेको छ । पालिकाले पशुको आहाराका लागि साइलेज (हरियो घाँसलाई सुकाएर पोषणतत्व कायमै रहने गरी तयार पारिने पशु आहारा) उद्योग स्थापना गर्न लागेको हो । नगरपालिकाले पशुका लागि आहारा उत्पादन गरी सहुलियत दरमा किसानलाई प्रदान गर्ने उद्देश्यका साथ साइलेज उद्योग स्थापना गर्न लागेको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताए। नगरपालिकाले शनिबार एक कार्यक्रमकाबीच साइलेज उद्योगको शिलान्यास गरेको छ । नगरपालिकाभित्र पशुपालन गर्ने किसान धेरै रहेको र दाना तथा आहारामा लागत अत्यधिक खर्च हुँदा किसानले अपेक्षा अनुसारको मुनाफा गर्न नसकेका कारण उत्पादनमा हुने लागत घटाउन यो योजना अघि सारिएको नगर प्रमुख न्यौपानेले बताए । पालिकाले उद्योग स्थापना गरी साइलेज तयार पार्ने र सहुलियत दरमा किसानलाई बिक्री गर्ने योजना रहेको नगर प्रमुख न्यौपानेले बताए। ‘अहिले पशुपालनमा दाना, आहाराको लागत बढ्दा उत्पादन लागत बढेको छ, किसानहरूले उचित नाफा लिन सकेका छैनन्, उत्पादन लागत घटाउँदै, किसानको मुनाफा बढाउन उद्योग स्थापना गर्न लागेका हौँ’, नगर प्रमुख न्यौपानेले भने, ‘उद्योग स्थापनापछि पशुपालक किसानलाई सहयोग पुग्ने छ ।’ उत्पादन लागत बढ्नु, बजारिकरणमा समस्या हुनु लगायत विविध समस्याका कारण कृषि तथा पशुपालनमा लाग्ने किसान पलायन हुने क्रम बढेकाले यो पेसालाई कसरी जोगाउने भन्ने विषय चुनौती बनेपछि पालिकाले उद्योग स्थापना गर्न लागेको हो । उद्योग स्थापनाका लागि पालिकाले योजना बनाएको भए पनि यसको दिगो सञ्चालनका लागि सबै किसानको सहकार्य आवश्यक रहेको उनको भनाइ छ । ‘किसानले अहिले पनि विभिन्न ठाउँबाट साइलेज दाना ल्याउने गर्नुभएको छ, अब हामी स्थानीयस्तरमै उत्पादन गर्छौँ, यसले यहाँका किसानलाई लाभ मिल्ने छ’, नगर प्रमुख न्यौपानेले भने । पालिका आफैले पशु आहारा उत्पादन गरी किसानलाई सहुलियत रुपमा प्रदान गर्ने यो कार्यक्रम देशभरिका पालिकामध्ये देवचुलीमा पहिलो हो । उद्योग सञ्चालनको पहिलो वर्ष किसानलाई निःशुल्क मल र मकैको बीउ उपलब्ध गराइने समेत उनले बताए । नगर उपप्रमुख पार्वता तिवारीले पशुपालक किसानको समस्यालाई बुझेर त्यसको समाधानका लागि उद्योग स्थापना गर्न लागिएको बताए । गण्डकी प्रदेश सरकारको नवप्रर्वद्धन कार्यक्रममार्फत किसानका क्षेत्रमा काम गर्ने लक्ष्यका साथ यो योजना अघि बढाइएको उनको भनाइ छ । नगरपालिका र गण्डकी प्रदेश मुख्यमन्त्री नवप्रवद्र्धन कार्यक्रमको साझेदारीमा पालिकाको रु ६४ लाख र प्रदेश सरकारको एक करोड ५० लाख गरी कूल दुई करोड १४ लाखको लागतमा साइलेज उद्योग स्थापना गर्न लागिएको देवचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद मरासिनीले बताए । विनियोजित बजेटबाट आवश्यक उपकरण खरिद, उद्योग रहने भवन, भण्डार गृह निर्माणसहित किसानलाई तालिम तथा निःशुल्क मल, बिउ उपलब्ध गराइने उनको भनाइ छ ।
डेढ अर्ब रुपैयाँमा बन्दै गरेको आईएमई ग्रुपको कागज उद्योग (फोटोफिचर)
काठमाडौं । आईएमई समूहले सर्राफ समूहसँगको साझेदारीमा कागज उद्योगमा स्थापना गर्दैछ । नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज प्रा.लिले महोत्तरीको राम नगरमा ११ विघा जमिन किनेर कागज उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याउँदैछ । उद्योगमा आईएमई समूहको ४० प्रतिशत सेयर लगानी रहेको छ । सर्राफ समूहको ३० प्रतिशत लगानी छ । सुनिल गोपाल श्रेष्ठ र ओम ज्ञवालीको १५/१५ प्रतिशत सेयर लगानी छ । यो उद्योगमा करिब १ अर्ब ५० करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ । यस उद्योगमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एभरेष्ट बैंकले कर्जा लगानी गरेका छन् । सर्राफ समूहको कौसल किशोर सर्राफ कागज उद्योगका अनुभवी उद्यमी हुन् । एभरेष्ट पेपर मिल समेत चलाउँदै आएका सर्राफसँग यस क्षेत्रको बारेमा लामो अध्ययन र अनुभव रहेको छ । तस्वीर : बसन्त सापकोटा
महासंघको निर्वाचनमा निर्णायक बन्दै रामचन्द्र संघाई
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्ष शेखर गोल्छा नेतृत्वको कार्यसमितिको कार्यकाल सकिँदैछ । गोल्छाको नेतृत्वमा महासंघले गर्ने महत्वपूर्ण निणर्यको हिसाबले आज बस्ने कार्यसमितिको बैठक अन्तिम हो । बुधबार बस्ने कार्यकारिणी समितिको बैठकले चैत अन्त्यमा महासंघको निर्वाचन गराउने निणर्य लिनेछ । महासंघको विधान अनुसार आगामी चैत मसान्तमा निर्वाचन गर्नैपर्छ । महासंघको विधानअनुसार निर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्षको हुन्छ तर शेखरको कार्यकाल २ वर्ष ४ महिना मात्र भयो । कोरोना महामारीको कारण २०७६ चैतमा हुनु पर्ने साधारणसभा २०७७ मंसिरमा भएको थियो । आफ्नो कार्यकाल ८ महिना कम हुँदा पनि गोल्छाले सहज रुपमा स्वीकार गरेका छन् । विधानको व्यवस्था अनुसार चैत मसान्तमा नयाँ नेतृत्वको लागि निर्वाचन गराउँदै छन् । छैन चुनावी रौनकता निर्वाचनपछि महासंघको अध्यक्ष चन्द्रप्रसाद ढकाल बन्दैछन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने महासंघको बैधानिक व्यवस्था छ । आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्षसहित ६४ सदस्यीय कार्यसमितिको लागि निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकै आउँदा पनि यस पटक महासंघको चुनावी रौनकता कम छ । महासंघको नेतृत्वको प्रभावकारीता कम हुँदै गएकोले महासंघको निर्वाचनको चाम पनि घटेको महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल बताउँछन् । तर, ढकालको विचारमा वर्तमान नेतृत्व सहमत छैन । निर्वाचनको पूर्वाद्धमा वर्तमान नेतृत्व चुनावी प्रतिस्पर्धामा रहेका उम्मेदवारका बारेमा मौन बस्दा चुनावी रौनकता कम भएको महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल बताउँछन् । वर्तमान कार्यसमिति भित्र पक्ष विपक्ष नभएको र आगामी नेतृत्वमा यसलाई नै जिताउनु पर्छ भनेर कार्यसमितिमा प्रष्ट विभाजन नभएकोले पनि नजिकिँदै गएको निर्वाचन शान्त देखिएको महासंघका अध्यक्ष शेखर गोल्छा बताउँछन् । अर्थतन्त्र संकटमा रहेको, व्यवसायीहरु आर्थिक संकटमा रहेकोले पनि चुनावप्रति व्यवसायीको चासो कम भएको उपाध्यक्ष दिनेश श्रेष्ठ बताउँछन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन, नयाँ सरकार गठन र गठबन्धनमा आएको फेरवदल, नजिकिँदै गएको राष्ट्रपति र उपराष्ट्रिपतिको निर्वाचनले केन्द्रीय राजनीति तातेकोले पनि महासंघको निर्वाचन प्राथमिकतामा नदेखिएको श्रेष्ठको विश्लेषण छ । चुनावको विषयमा उम्मेदवारको सक्रियता तर मतदातामा उत्साह र सक्रियता नदेखिएको एशोसिएट तर्फका उपाध्यक्षका आकांक्षी भरतराज आचार्य बताउँछन् । निणर्यक बन्दै संघाई महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ, दिनेश श्रेष्ठ र रामचन्द्र संघाईले दावी गर्दै आएका छन् । अञ्जन र उमेशलालले थप ३ उपाध्यक्ष, कोषाध्यक्षसहितको निवार्चन प्यानल नै बनाएर अगाडि बढेको देखिन्छ । तर दिनेश र रामचन्द्रले आफ्नो प्यानल बनाएका छैनन । चुनावी गतिविधिमा कम सक्रिय भएकोले दिनेश श्रेष्ठको उम्मेदवारी प्रचारका लागि मात्र भएको टिकाटिप्पणी पनि महासंघ सर्कलमा छ । संघाईले पनि अन्तिममा छोड्ने विश्लेषण धेरैको छ । तर, संघाईको सक्रियता, निर्वाचन लक्षित उनको लगानी, सार्वजनिक रुपमा उनले दिएका अभिव्यक्तिका आधारमा उनी चुनावबाट पछि हट्ने छैनन् । वरिष्ठ उपाध्यक्षका अरु उम्मेदवारहरु नेवारी समूदायको भएकाले नेवार तथा जिल्ला नगरको मत विभाजित हुने र मारवाडी समूदाय र काठमाडौंका पुराना व्यवसायिक घरानाको समर्थनमा आफूले निर्वाचन जित्ने संघाईको विश्लेषण छ । प्यानल विना चुनाव जित्न असम्भव छ भन्ने विषय संघाईलाई पनि थाहा छ । तसर्थ उनी अन्तिममा अञ्जन वा उमेशलालको टिमबाट एशोसिएट उपाध्यक्ष बन्ने सम्भावना रहेको जानकारहरु बताउँछन् । त्यस अवस्थामा संघाई जुन समूहमा लाग्छन्, त्यो समूहको चुनावी पल्ला भारी हुने विश्लेषण हुन थालेको छ । चुनाव आउन ढेड महिना पनि बाँकी नरहँदा अझै को कुन समूहबाट उम्मेदवार हुन्छ वा कुन प्यानलमा रहन्छन् भन्ने स्पष्ट नभएको महासंघको एशोसिएट उपाध्यक्षका आकांक्षी भरतराज आचार्य बताउँछन् । देशको अर्थतन्त्र संकटमा रहेको र चुनावप्रति मतदातामा पनि चासो कम भएकोले व्यवसायीहरु एक जुट भएर सर्वसहमतिमा नेतृत्व चयन गर्न सके धेरै राम्रो हुने उनले बताए ।