आर्थिक मन्दीका कारण सुनसान बाँके बजार, सरकारले चासो नदेखाउँदा धराशायी व्यापार
फाइल फोटो काठमाडौं । बाँकेका मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार कम हुन थालेको छ । बैंकहरुले व्यापारीमाथि लगाएको चर्को ब्याजका कारण बाँकेको मुख्य बजार नेपालगञ्ज र कोहलपुरको व्यापार व्यवसाय उत्साहजनक नभएको हो । कोरोनाले थलिएको नेपालगञ्जको व्यापार व्यवसाय फेरि बैंकहरुले व्यवसायीमाथि लगाएको चर्को ब्याज र खुला सीमानाका कारण न्युन हुँदै गएको हो । भारतीय बजार रुपैडिहासँग जोडिएको नेपालगञ्जको व्यापारले प्रतिष्पर्धा गर्न त धौधौ छ नै त्यसमा पनि हरेक सामग्रीको नेपाली मूल्य भन्दा भारतीय बजारको मूल्य केही कम भएका कारण नेपालगञ्जको व्यापार कम हुँदै गएको व्यापारीहरु बताउँछन् । आर्थिक संकट बढ्दै गएका बेला सरकारले चासो नदिएको व्यापारीहरुको आरोप छ । आर्थिक मन्दीमा पनि सरकारले आवश्य चासो नदेखाउँदा व्यापार धराशायी भएको व्यापारी सुनिल गुप्ताले बताए । उनले अनलाईन व्यापार र सरकारको नीतिकै कारण व्यापार न्युन हुँदै गएको भन्दै विगतका वर्षमा व्यापारको तुलनामा यो वर्ष व्यापार नभएपछि समय काट्न पनि समस्या भएको बताए । खुला सीमा र भारतीय बजारबाट क्यारिङ गरेर मालवस्तु नेपाल भित्र्याउने चलनले नेपालगञ्ज र कोहलपुरको व्यापारमा कमी आएको नेपालगञ्जकी महिला व्यवसायी माया खड्काले बताईन । उनले अहिलेसम्म धेरै नै घाटा भइसकेको भन्दै सिमानामा कडाई गर्नुपर्ने माग गरे । आर्थिक संकट बढ्दै जानु र व्यापारीहरुलाई एलसी सिस्टमबाट गएर सामान आयात गर्नुपर्ने झन्झटले गर्दा नेपालगञ्जको व्यापारको स्थिति निकै कमजोर हुँदै गएको उनीहरुको गुनासो छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रिय सदस्य कृष्णप्रसाद श्रेष्ठले नेपालगञ्जको व्यापार व्यवसाय अत्यन्तै कम हुँदै गएको बताए । उनले नेपालगञ्जको व्यापार कम हुनुमा बैंकहरुले व्यवसायीहरुबाट चर्को ब्याज लिनु र विकास निमार्णका कार्यहरु ठप्प हुनु रहेको बताए । व्यापारीहरुले लिएको कर्जामा बैंकहरुले एक्कासी दोब्बरको हिसावले ब्याज नबढाएर सहुलियत दरमा ब्याज लागाइनुपर्ने र अनलाइन व्यापार खुला सिमानामा सरकारले कडाई गर्नुपर्ने व्यापारीहरुको माग छ ।
हेटौँडा सिमेन्टको उत्पादन बन्द
हेटौँडा । सरकारी स्वामित्वमा सञ्चालनमा रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि उत्पादन बन्द गरेको छ । सिमेन्ट उत्पादनका लागि आगो बाल्ने मेसिन (भट्टी) मा प्राविधिक समस्या आएपछि आजदेखि सो उद्योगको उत्पादन बन्द भएको उद्योग व्यवस्थापनले जनाएको छ । सो मेसिनको मर्मतको प्रक्रिया सुरु भएको र आगामी एक हप्तामा मर्मत भई पुनःसञ्चालनमा आउने सो उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकरी दिए । उद्योगको मेसिन तथा उपकरण धेरै पुरानो भएकाले बिग्रिने र प्राविधिक समस्या आउने गरेको उनको भनाइ छ । विगतमा उद्योगका लागि चाहिने कोइलाको समस्या थियो तर हाल कोइलाको समस्या नरहेको बताउँदै उनले बोलपत्र आह्वानमार्फत बाह्य मुलुकबाट कोइला आयात भइरहेको जानकारी दिए । सो उद्योगमा अहिले दैनिक एक सय १० टन कोइला खपत भइरहेको छ । साथै हेटौँडा सिमेन्ट उद्योगमा गोदाममा रहेको सिमेन्टको प्याकिङ गर्ने तथा बिक्रीवितरण गर्ने काम भइरहको उद्योग व्यवस्थापनले जनाएको छ । अहिले उद्योगबाट दैनिक करिब १४ हजार बोरा सिमेन्ट उत्पादन भइरहेको छ । उद्योगका लागि पर्याप्त मात्रामा चुनढुङ्गाको मौज्दात रहेको बताइएको छ । नेपाल सरकारद्वारा २०३२ सालमा स्थापना भएको सो उद्योगले २०४३ सालदेखि व्यावसायिकरुपमा सिमेन्टको उत्पादन सुरु गरेको थियो । हाल त्यहाँ करिब तीन सय जनशक्ति रहेका छन् । रासस
महिला नेतृत्व शिखर सम्मेलन : महिलाद्धारा उत्पादित वस्तुको प्रदर्शनी गरिने, अन्तर्राष्ट्रिय व्यक्तित्वको सहभागीता
काठमाडौं । नेपाल उद्योग परिसंघले दुई दिने ‘महिला नेतृत्व शिखर सम्मेलन २०२३’ गर्ने भएको छ । परिसंघले महिला नेतृत्व मञ्चको संयोजनमा आगामी चैत ११ र १२ गते काठमाडौंको सोल्टी होटलमा उक्त सम्मेलन गर्न लागेको हो । सोमबार पत्रकार सम्मलेन गर्दै परिसंघले महिलाहरुलाई नेतृत्व तहमा पुर्याउने उद्देश्यले उक्त दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागेको जानकारी गराएको हो । सम्मेलनमा लैंगिक समानता विषयसहित महिला नेतृत्वहरुबीच विचार आदान प्रदान गर्ने, रणनीति बनाउने, महिलाहरुको सफलता सुनाउने, महिलाहरुलाई प्रोत्साहित गर्ने र एक अर्काबाट सिक्ने अवसर प्राप्त हुने महिला नेतृत्व मञ्चकी सभापति छाया शर्माले बताइन् । उनका अनुसार महिला नेतृत्व शिखर सम्मेलनले विशेष तीन वटा विषयवस्तुमा बहस, छलफल, विचार विमर्श गर्ने छ । जसमा महिला र राजनीति, महिला र अर्थतन्त्र, परिवर्तनका सम्भाव महिलाको सेरोफेरोमा प्यानल डिस्कसनहरु हुने उनले बताइन् । ‘सम्मेलनमा महिला नेतृत्वको विकास कसरी गर्ने, नेतृत्व तहमा पुग्नलाई के कस्ता चुनौतिहरु सामना गर्नुपर्छ, कस्ता कस्ता रणनीतिहरु अपनाउनु पर्छ र अबका दिनमा महिलालाई नेतृत्वमा पुर्याउन के कस्ता कामहरु सरकारले गर्नुपर्ने छ भन्ने विषयहरुलाई विभिन्न प्यानलहरुमा छलफल हुने छ,’ सभापति शमाले बताइन् । परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले सम्मेलनमा कोभिड १९ का कारण महिलामा परेको असर, त्यसका विषयमा छलफल र समाधान खोज्ने सम्मेलनको उद्देश्य रहेको बताए । ‘सम्मेलनमा लैङ्गिक समानताका विषयसहित महिला नेतृत्वहरुबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाहरुका सफलता सुनाउने, महिलाहरुलाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसर प्राप्त हुने हुने छ,’ परिसंघका उपाध्यक्ष चौधरीले बताए । सम्मेलनमा सामाजिक र सूचना प्रविधि क्षेत्रमा उच्च योगदान पुर्याएका दुई जना महिलालाई सम्मान गरिनेछ । साथै, उद्यमशीलता प्रबद्र्धनका लागि ३० जना महिला उद्यमीहरुबाट उत्पादित स्वदेशी वस्तुहरुको प्रदर्शनी समेत गरिनेछ । त्यस्तै, सम्मेलनमा बिजनेस, राजनीतिक, जलवायु परिवर्तन, डिजिटल, मिडिया र इन्टरटेनमेन्ट, साउथ एशियन रिजनल प्यानल र विभिन्न प्रदेशहरुबाट महिला उद्यमीहरुको ९ वटा प्यानल रहने जानकारी गराईको छ । उद्योग वाणिज्य तथा महिला आपूर्ति मन्त्रालयसँगको समन्वयमा हुन गइरहेको दुई दिने महिला नेतृत्व शिखर सम्मेलनको निष्कर्ष एवं सुझाव नेपाल सरकारलाई हस्तान्तरण गरिएको समेत बताइएको छ । उक्त सम्मेलनमा हुने विभिन्न सत्रमा नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिस, जर्मनीलगायत मुलुकका राजनीति, आर्थिक, सामाजिक, वातावरणलगायतका क्षेत्रमा स्थापित, रुपान्तरणकारी एवं प्रभावशाली व्यक्तित्वहरुको सहभागिता रहने छ । त्यस्तै, पहिलो पटक हुन लागेको यो अन्तर्राष्ट्रिय सम्मेलनको एम्बास्डरमा भारतीय अभिनेत्री सोनाक्षी सिन्हालाई नियुक्त गरिएको छ । महिला नेतृत्व मञ्च र यसको मूख्य उद्देश्य ? वोमेन लिडरशीप फोरम अर्थात महिला नेतृत्व मञ्च नेपाल उद्योग परिसंघको नयाँ इनिसिएटिभ हो । जुन सन् २०२१ मा स्थापना भएको हो । स्थापना भएको करिब तीन वर्षको दौरानमा यो मञ्चले महिलालाई नेतृत्वतहमा पुर्याउनको लागि विभिन्न कामहरु गर्दै आएको छ । यो मञ्जमा विभिन्न क्षेत्रको नेतृत्व तहमा रहेका महिलाहरु सदस्यको रुपमा आवद्ध छन् । यो फोरमको मान्यता नै बढीभन्दा बढी महिलालाई कर्पोरेट, अर्थतन्त्र लगायत राजनीति क्षेत्रभित्र समेटी उनीलाई नेतृत्व तहमा पुर्याउनुपर्छ भन्ने मुख्य उद्देश्य हो । साथै, यो फोरम अर्थात मञ्चले जुनसुकै क्षेत्रको नेतृत्व तहमा पुग्दा महिलाहरुले भोग्नु पर्ने चुनौतिहरुको पहिचान गरी समाधानका रणनीतिहरु पहिल्याई महिलाहरुलाई कसरी उच्च तहमा पुर्याउन सकिन्छ भन्ने ध्येयका साथ विभिन्न कार्यक्रम चलाउँदै आएको छ । कोभिड माहामारीपछि अधिकांश महिलाहरु बढी प्रभावित भएको फोरमले जनाएको छ । आइएलओले गरेको सर्वेक्षणअनुसार पनि १६ लाखदेखि २० लाखले रोजगारी गुमाएका छन् । सोही सर्वेक्षणले ३७ प्रतिशत व्यवसायले महिला कामदारहरुको तलब घटाएको र ५ प्रतिशत व्यवसायहरुले पुरै तलब कटौती गर्नुका साथै जागिरबाट महिलाहरुलाई हटाएको फोरमले जनाएको छ । सीबीएसको रिपोर्ट अनुसार २०१९ मा प्रकाशित गरेको राष्ट्रिय आर्थिक जनगणनाअनुसार देशका कूल ९ लाख २३ हजार तीनसय ५३ उद्यममध्ये २ लाख ४७ हजार ८८० अर्थात २९.८ प्रतिशत उद्यमहरु महिलाद्धारा सञ्चालित थिए । र, कोभिडपछि महिला उद्यमी महासंघले सर्वेक्षण गर्दा १५ प्रतिशत महिलाहरुले सञ्चालन गर्दै आएको व्यवसायहरु पूर्ण रुपमा बन्द भएको पाइएको जानकारी गराइएको छ ।