उद्यमी र व्यवसायीबीच स्टार्टअप उद्यम कर्जा संचालन गर्ने बारे छलफल
काठमाडौं । उद्यमी र व्यवसायीहरुबीच स्टार्टअप उद्यम कर्जा संचालन कार्यविधिका विषयमा छलफल भएको छ । स्टार्टअप कार्यविधि २०८० सरकारले पारित गरेसंगै अहिले औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा प्रस्ताव आव्हान समेत गरेको छ । सोही कार्य विधि र कर्जाका विषयमा जानकारी गराउने उद्देश्यले बुधबार नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एण्ड ईन्नोभेशन फोरमले महासंघ सचिवालयमा आयोजना गरेको छलफलमा सरकार तथा निजी क्षेत्रका पदाधिकारीहरुले स्टार्टअप कर्जाका विषयमा आएका सबै जिज्ञासाहरुलाई स्पष्ट परेका थिए । प्रत्यक्ष र भर्चुअल दुवै माध्यमबाट संचालन गरिएको कायक्रमकमा महासंघका कार्यकारीणी सदस्य, स्टार्टअप, नवउद्यमी, साना तथा लघु उद्यमी, आदि गरी करिब १ सय जनाको सहभागिता रहेको थियो । महासंघको स्टार्टअप एण्ड ईन्नोभेशन फोरमलेस्टार्टअपका विषयमा निरन्तर काम गरिरहेको छ । फोरमले, स्टार्टअपमा लागेका र नयाँ व्यवसाय थालनी गर्ने योजना बनाएकाहरुबाट निरन्तर यस विषयमा छलफल गर्न आग्रह र जिज्ञासा आएपछि कार्यक्रमको आयोजना गरिएको हो । छलफल कार्यक्रममा स्टार्टअप परियोजना कर्जाका विषयमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश ककुमार गुप्ताले सहभागीहरुलाई स्पष्ट पारेका थिए । सहुलियत कर्जा लिएका स्टार्टअप, नवउद्यमी, लघु तथा साना उद्योगीहरुले पुन प्रस्ताव पेश गर्न पाउने वा नपाउने, आमा बुवाको नाममा दर्ता भएको तर छोराछोरीले संचालन गरेको हकमा के हुने, शैक्षिक संस्था, होस्टेल र सबसिडरी उद्यम यसको दायरामा पर्ने नपर्ने, प्यान भ्याटमा दर्ता हुन पर्ने नपर्ने लगायतका जिज्ञासाका कार्यकारी निर्देशकले स्पष्ट परेका थिए । कार्यक्रममा महासंघका उपाध्यक्ष सुरकृष्ण वैधले प्रदेश, जिल्ला र स्थानीयस्तरसम्म यस्ता छलफल चलाउनु पर्नेमा जोड दिए । स्थानीयतहसम्म यस्ता विषयमा सुचित गराउन सकियो भने स्टार्टअप नव उद्यम विस्तार हुन सहयोग पुग्ने र सरकारले आव्हान गरेको स्टार्टअप उद्यम कर्जा आव्हानमा आम सहभागिता बढ्ने विश्वास व्यक्त गरे । महासंघले प्राज्ञिक संस्था त्रिभुवन विश्वबिद्यालयसंग मिलेर पनि स्टार्टअपका विषयमा सहकार्य गर्न नीतिगत निर्णय गरिसकेको सो अवसरमा जानकारी गराए । महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठलेस्टार्टअप फोरमको निरन्तर प्रयासका कारण स्टार्टअप उद्यम कर्जा परियोजनाले सार्थकता पाउनेमा महासंघ विश्वस्त रहेको बताए । महासंघ स्टार्टअप एण्ड ईन्नोभेशन फोरमका सभापती जुना माथेमाले महासंघले स्टार्टअप नेशनल सन्जाल बनाएको र त्यसबाट पनि सदस्यहरुबाट आएका जिज्ञासाहरुको समाधान गर्ने काम भैरहेको जानकारी गराउंदै यो कार्यक्रम, परियोजना कर्जा लिई स्टार्टअपलाई अगाडि बढाउन चाहेका सबै यूवा उद्यमीहरुका लाभदायी भएको विश्वास प्रकट गरे ।
चिनी उद्योगलाई उखु अभाव
नवलपरासी । पश्चिम नवलपरासीका चिनी उद्योगलाई उखु अभाव भएको छ । उखु अभावका कारण यहाँका चिनी उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । पश्चिम नवलपरासीमा उखु उत्पादनमा अपेक्षित वृद्धि हुन नसक्दा चिनी उद्योगले बाहिरी जिल्लाबाट उखु खरिद गरेर क्रसिङ गर्नुपर्ने बाध्यता छ । उत्पादन घटेपछि अन्य जिल्लाबाट उखु ल्याउनुपर्दा लागत बढेको उद्योगीले बताएका छन् । सुनवलस्थित लुम्बिनी चिनी उद्योगले कपिलवस्तु र पूर्वी नवलपरासीबाट उखु ल्याएर क्रसिङ गरिरहेका छन् । जिल्लामा पर्याप्त उखु उत्पादन नहुँदा अन्य जिल्लाबाट उखु ल्याउनुपर्ने बाध्यताले उद्योगको लागत खर्च बढेको सुनवलस्थित लुम्बिनी चिनी उद्योगका प्रशासन प्रमुख कुश सुवेदीले जानकारी दिए । उद्योगले कपिलवस्तुबाट मात्रै यस वर्ष १५ हजार क्विन्टल उखु खरिद गरेको उनले बताए । यस वर्ष १० लाख क्विन्टलसम्म क्रसिङ गर्ने लक्ष्य लिए पनि उखु अभावका कारण सम्भव नभएको सो उद्योगले जनाएको छ । लामो समयसम्म उखु बिक्रीबापतको भुक्तानी नपाउँदा यहाँका किसान विस्तारै वैकल्पिक खेतीतर्फ लागेका छन् । यहाँका चिनी उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । जिल्लाका तीन ठूला चिनी उद्योगले उखु अभावका कारण पूरै याममा क्रसिङ गर्न सक्ने अवस्था नरहेको जनाएका छन् । सुस्तास्थित बागमती खाडसारी चिनी उद्योग र प्रतापपुरमा रहेको इन्दिरा सुगर एग्रो इन्डस्ट्रिज प्रालिले पनि उखु अभावका कारण पूर्ण क्षमता अनुसार उखु क्रसिङ गर्न नसकेको जनाएका छन् । जिल्लामा चार चिनी उद्योग सञ्चालनमा छन् ।
जलविद्युत र पर्यटन पूर्वाधारमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आह्वान
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा जलविद्युत, पर्यटन, कृषि तथा उत्पादन लगायतका क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन् । यूएईको दुबईमा आयोजित वल्ड गभर्मेन्टस् समिटमा नेपालको निजी क्षेत्रको प्रतिनिधित्व गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीको आह्वान गरेका हुन् । उनले जलविद्युत, पर्यटन पूर्वाधारको विकास, कृषिको आधुनिकीकरण र उत्पादनमूलक क्षेत्रहरुमा प्रचुर सम्भावना रहेको बताउँदै यसको फाइदा लिन निम्तो दिए । उनले नेपाल सरकारले मुलुकमा लगानीको प्रक्रियालाई सरल बनाउन, नियामकको बोझ घटाउन र पारदर्शिता अभिवृद्धि गर्नका लागि सुधार कार्यान्वयन गरी व्यावसायिक वातावरण सुधार गर्न पहल गरिरहेको बताए । शेपिङ फ्युचर गभर्मेन्ट भन्ने नाराका साथ आयोजना भइरहेको उक्त सम्मेलनमा विश्वभरका सरकार, अन्तर्राष्ट्रिय संघसंस्था, राजनैतिक दल तथा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेकोछ । शिखर सम्मेलनमा अध्यक्ष ढकालले नेपालको अर्थतन्त्र र देशको अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिकाका बारेमा पनि चर्चा गरिएका थिए ।