आर्थिक एजेण्डामा सबै राजनीतिक दलहरुको साझा धारणा आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतनत्र जटिल मोडमा रहेको बताउँदै सबै राजनीतिक दलहरुको साझा एजेण्डा बनेर सुधार नभए दुर्घटना हुनसक्नेतर्फ सचेत गराएका छन् । राज्य व्यवस्था समितिमा बिहीबार भएको छलफलमा अध्यक्ष ढकालले सरकार र राजनीतिक दलहरु संवेदनशील नहुने हो भने स्वदेशी र विदेशी लगानी हुन नसक्ने अवस्था रहेको बताएका हुन् । ‘सबै मिलेर अर्थतन्त्रको जटिलता समाधानमा पहल नहुने हो भने निजी क्षेत्र लगानी बढाउने नभइ कसरी व्यवसायबाट बाहिरिने भन्ने बाटो खोज्ने अवस्था आउनेछ,’ अध्यक्ष ढकालले भने । महासंघ र अन्तराष्ट्रिय वित्त निगमले सार्वजनिक गरको अध्ययन अनुसार अर्थतन्त्रमा ८१ प्रतिशत रोजगारीमा ८७ प्रतिशत योगदान निजी क्षेत्रको छ । अहिले निजी क्षेत्रमा समस्या आउँदा समाधानको उपायको खोजी हुनुपर्ने अध्यक्ष ढकालले वताउनुभयो । सरकारभित्र पनि अन्तर निकाय समन्वय नहुँदा समस्या बल्झिदै गएको उहाँको भनाइ थियो । ‘सबैले राम्रो काम गरेको भनिरहनुभएको छ,’ उनले भने, ‘तर नतिजा सकारात्मक आएको छैन । मुलतः निजी क्षेत्रले काम गर्न नसक्दा सरकारको राजश्वमा पनि असर परेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारको घाटा करिब ५० अर्ब रुपैया छ । निजी क्षेत्रले निर्वाध काम गर्न नसक्दा राजश्वमा चाप परेको हो । यसैगरि आगामी लगानी सम्मेलनलाई लक्षित गरि तयार पारिएको कानुन सुधार सम्बन्धि व्यवस्था पारित गर्नुपर्नेमा पनि अध्यक्ष ढकालको जोड थियो । महासंघले करिब एक दर्जन कानुन सुधार आवश्यक रहेको तीन महले सुझाव सरकारलाई बुझाएको छ । सोही अनुसार प्रधानमन्त्री कार्यालयका सचिव एक नारायण अर्यालको संयोजकत्वमा निजी क्षेत्र सम्मिलित कार्यदलले सुधार सुझाव तयार पारि मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई बुझाइसकेको छ । अध्यक्ष ढकालले लगानी आकर्षित गर्न तयार पारिएका सुझाव संसदले पारित गर्नुपर्ने बताए । सोहि छलफल को कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नीति नियमनहरु बनाउदा सरकारले निजि क्षेत्रलाई साक्षीको रुपमा मात्र लिने गरेको बताए । उनले निजी क्षेत्रले दिएका सुझावहरु नीति नियमनहरुको मस्यौदा तयार पार्दा सरकारले ध्यान दिएर समावेश गरे देशको अर्थतन्त्रमा अझै सुधार आउने जानकारी दिए । सोहि कार्यक्रममा बोल्दै श्रेष्ठले नीति नियमनहरु बनाउने निकायहरुको संख्याको तुलनामा निगरानी गर्ने निकायहरु बढीभएको र यसले व्यवसायीहरु हतोत्साहित भएको जानकारी गराए ।

निजी क्षेत्रलाई अख्तियारले हेर्नहुँदैन : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई अख्तियारले हेर्न नहुने बताएका छन् । बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिको २४औं बैठकमा बोल्दै अध्यक्ष ढकालले सो बताएका हुन् । ‘निजी क्षेत्रलाई हेर्ने २०/२२ वटा निकाय छन् उनैले हेर्नुपर्छ, अख्तियारले हुँदैन । निजी क्षेत्रले रोजगारमा ८० प्रतिशतसम्म योगदान गरेको हुनाले यसमा ब्रेक लाग्न सक्छ,’ उनले भने- ‘तर मैले निजी क्षेत्रलाई अनुसन्धानको दायरामा ल्याउन हुँदैन भन्न खोजेको हैन ।’ पछिल्लो समय आन्तरिक लगानीकर्तामा नै कन्फिडेन्स छैन भने बाह्य लगानीकर्तामा पनि कन्फिडेन्स नआउने उनले बताए । राजनीतिक एजेन्डा सबैको आ-आफ्नो भएपनि आर्थिक एजेन्डा एउटै हुनुपर्ने उनको बुझाई छ । ‘यहाँहरुले फरक राजनीतिक दलको प्रतिनिधित्व गर्नुहुन्छ तर आर्थिक मुद्दामा भने यहाँहरुको समानता हुनुपर्छ भन्ने आग्रह गर्न चाहन्छु,’  ढकालले भने । त्यस्तै, पपुलर हुने नाममा अहिले सरकार अन्तर्गतका निकायहरुको गृहकार्य तीव्र भएको हो कि भन्नेमा शंका गर्दै उनले यस्तो गतिविधि देशको लागि निकै डरलाग्दो हुने बताए । साथै, उनले आगामी लगानी सम्मेलन अगाडि नै लगानीमैत्री वातावरण गराउने र राजस्व आन्तरिक एक्टिभिटीबाटै गर्ने हो भने कानुन करेक्सन हुनुपर्ने समेत माग गरे ।

उद्योग परिसंघ र नेपाल युएई चेम्बर अफ कमर्सबीच व्यवसायिक सम्बन्ध प्रवर्द्धन गर्ने समझदारी

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल युएई चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनयूएईसीसीआई) बीच दुई देशबीच व्यवसायिक सम्बन्ध प्रवर्द्धन गर्न समझदारी भएको छ । बुधबार परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र नेपाल यूएई चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिका अध्यक्ष पवनकुमार अग्रवालले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सो अवसरमा परिसंघका अध्यक्ष अग्रवालले अग्रवालले यस सहकार्यको मुख्य उद्देश्य दुवै देशबीच व्यवसायिक सम्बन्ध प्रवर्द्धन तथा लगानी सहजीकरण गर्नु रहेको बताए । परिसंघले विदेशी लगानीकर्ता तथा व्यवसायीहरुसँग सम्बन्ध विस्तार गर्ने उद्देश्य राखेर विभिन्न द्विदेशीय तथा अन्तर्राष्ट्रिय चेम्बरहरुसँग सहकार्य गर्दै आएको बताउँदै अग्रवालले यो सहकार्य दुबै संस्थाले आफ्नो देशको हितमा लगानी भित्र्याउन, नेपालको निर्यातको सम्भावना बढाउन तथा नेपाल यूएई बीच व्यवसाय प्रवर्द्धन गर्न उपयुक्त हुने बताए । साथै, उनले आगामी लगानी सम्मेलनका लागि युएईबाट लगानीकर्ताहरुलाई आकर्षित गर्न यो सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । नेपाल यूएई चेम्वर अफ कमर्श एण्ड इन्डस्ट्रिका अध्यक्ष पवनकुमार अग्रवालले चेम्बरको उद्देश्य चेम्बरसँग जोडिएका उद्योगी व्यवसायीहरुसँग सहकार्य गरी नेपाल र यूएई बीच व्यावसायिक सम्बन्ध अभिवृद्धि गर्नु रहेको बताए । परिसंघसँगको सहकार्यले लगानी प्रवर्द्धन, नेपालका वस्तु तथा सेवा निर्यात प्रवर्द्धनको वातावरण बनाउनुका साथै प्रविधि हस्तान्तरणमा पनि भूमिका खेल्ने विश्वास व्यक्त गरे । परिसंघका उपाध्यक्ष हेम राज ढकालले नेपालमा धेरै सम्भावना भएपनि त्यसलाई पुँजीकरण गर्न नसकिएको भन्दै त्यसका लागि नेपाललाई ठुलो लगानीको आवश्यकता रहेको बताए । नेपाल जस्तो मुलुकको औद्योगिक तथा व्यावसायिक वृद्धिका लागि आर्थिक लगानी मात्र नभएर प्रविधि र सिपको पनि आवश्यकता रहेकोले युएईबाट एक्स्पर्टिज ल्याउन यस सहकार्यले सहयोग गर्ने विश्वास व्यक्त गरे । विभिन्न मुलुकमा रहेका गैर आवासीय नेपाली तथा व्यावसायिक संघ संस्थाहरुसँग समन्वय गरी नेपालमा वैदेशिक लगानी आकर्षित गर्न, नेपाली उत्पादनहरुलाई विदेशी बजारमा पहुँच विस्तारमा मद्दत गर्ने लगायतका उद्देश्य अनुरुप परिसंघले नेपाली डायस्पोरा समन्वय समिति बनाएर काम गरिरहेको जानकारी गराउँदै यो समझदारीले उक्त कार्यमा थप मद्दत पुग्ने उनको भनाई छ ।