सरकार निजी क्षेत्रसँग मिलेर काम गरिरहेकाले लगानी बढाउन उपयुक्त समय छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले साउदी अरबका लगानीकर्ताहरूलाई नेपालमा लगानी बढाउन तथा लगानी साझेदारीका लागि आह्वान गरेका छन् । आज नेपाल उद्योग वाणिज्य महासंघ, लगानी बोर्ड नेपाल, साउदी अरबको लगानी मन्त्रालय, साउदी चेम्बर र नेपाल स्थित साउदी अरब राजदूतावासले संयुक्त रूपमा आयोजना गरेको लगानी कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन साउदी लगानीकर्ताहरूलाई आग्रह गरेका हुन् । लगानी सम्मेलनको सन्दर्भ जोड्दै अध्यक्ष ढकालले नेपालमा लगानीकर्ताहरूलाई सहज वातावरण बनाउन नेपाल सरकारले नीजि क्षेत्रसँग मिलेर काम गरिरहेकाले बाह्य लगानीकर्ताहरू लागि नेपालमा लगानी बढाउन उपयुक्त समय आएको बताए । नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि र व्यावसायिक कृर्षिमा थप लगानीका सम्भावनाहरू सृजना भएकाले लगानीकर्ताहरूका लागि थप अवसरहरू सृजना भएको तर्फ अध्यक्ष ढकालले साउदी लगानीकर्ताहरूको ध्यानाकर्षण गराए । सरकारले आगामी १० वर्षमा २५ हजार मेगावाटभन्दा बढी जलविद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । जलविद्युत उत्पादनको लक्ष्य हासिल गर्न वैदेशिक लगानी आवश्यक पर्ने भएकाले जलविद्युतमा संयुक्त लगानी परियोजना विकास गर्न साझेदारीका लागि समेत अध्यक्ष ढकालले आग्रह गरे । पर्यटन क्षेत्रमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालको आफ्नै मौलिक विशेषताहरु भएकाले होटेल रिसोर्ट तथा केबलकार परियोजनाहरूमा आफूले लगानी बढाएको उदाहरण दिँदै अध्यक्ष ढकालले बाह्य लगानीकर्ताहरूका लागि पर्यटन बजार पनि आकर्षण रहेको बताए । सूचना प्रविधि र व्यावसायिक कृर्षिमा बढ्दो बजार मागले पनि लगानीकर्ताहरुलाई थप अवसरहरु सृजना गरी रहेकोले यसतर्फ ध्यान पुर्याउन पनि अध्यक्ष ढकालले आग्रह गरे । बाह्य लगानीलाई सहज बनाउन महासंघले लगानी र व्यापार नीतिको मस्यौदामा सरकारसँग नजिक रहेर काम गरिरहेकाले नीतिगत समस्याहरूमा अप्ठ्यारो महसुस नगर्न पनि अध्यक्ष ढकालले साउदीका लगानीकर्ताहरुलाई आश्वस्त पारे । महासंघले वैदेशिक लगानी हेल्प डेस्क मार्फत लगानीकर्ताहरूलाई सेवाहरू प्रदान गरिरहेको जानकारी गराउँदै अध्यक्ष ढकालले यसले लगानीकर्ताहरुलाई थप सहज बनाएको बताए । आगामी वैशाखमा हुन गइरहेको नेपाल लगानी सम्मेलनमा लगानीका प्रतिबद्धता सहित सहभागी हुन पनि अध्यक्ष ढकालले साउदीका लगानीकर्ताहरुलाई आग्रह गरे । लगानी वेविनारमा लगानी बोर्डका प्रमुख कार्यकारी सहित साउदी अरबको लगानी मन्त्रालय, साउदी चेम्बर र नेपाल स्थित साउदी अरब राजदूत सहित साउदी अरब तथा नेपालका लगानीकर्ताहरूको सहभागिता रहेको थियो ।

आर्थिक एजेण्डामा एकमत हुन महासंघका अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा एकमत हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । नेपाल तयारी पोसाक उद्योग संघको वार्षिक साधारण सभामा अध्यक्ष ढकालले उक्त कुरा बताएका हुन् । अबको करिब एक महिनामा आयोजना हुने महासंघको ५८औ वार्षिक साधारसभामा सबै राजनीतिक दललाई उक्त आग्रह गरिने अध्यक्ष ढकालले जानकारी दिए । उनले अहिले बजारमा माग कम भएर बजार चलायमान हुन नसकेको अवस्थामा सबै पक्षको एैक्यवद्दता आवयशक रहेको उनले बताए । यसैगरी, निजी क्षेत्रको मनोबल बढाउन मर्यादाक्रममा निजी क्षेत्रलाई समावेश गर्न पनि उनले आग्रह गरे। गाउँ र सहरमा रकम प्रवाह गर्न पुनर्कर्जा सुविधा र पूँजीगत खर्च बढाउनु पर्नेमा पनि उनले जोड दिए ।

धुलो दूध र नौनीले भरिएपछि बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा

चितवन । चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा आएको छ । प्रशोधन गरिएको धुलो दूध र नौनीले गोदाम भरिएपछि गत माघ २२ गतेदेखि उद्योग बन्द भएको थियो । किसानको दूध नबिकेपछि प्रशोधन गरिएका सामग्री सम्बन्धित संस्थाले लैजानेगरी उद्योग सञ्चालनमा ल्याइएको हो । आजबाट उद्योग सरसफाइ गरेर सञ्चालन गरिने उद्योगका प्रबन्धक दुर्गा पराजुलीले बताए । बीस हजार लिटर दूध आइसकेको छ । उद्योग सञ्चालन गर्न ४० हजार लिटर दूध आवश्यक पर्दछ । धेरै संस्थाले फोन गरिरहेकाले थप दूध आउने भएपछि मेसिन तताउन थालिएको उनले जानकारी दिए। उद्योगले दूध प्रशोधन गरेर उत्पादन हुने धुलो दूध र बटर लैजान भनेको छ । प्रशोधन गरेबापत उद्योगले शुल्क लिने गर्दछ । यसअघि नै डेरी एशोएिएसन, सहकारी, निजी डेरी, फार्महरूलाई उद्योगले पत्र पठाएर आजबाट उद्योग सञ्चालन हुने जानकारी गराएको थियो । उद्योगले डेरी, सहकारी र व्यावसायिक फार्महरूको दूध भाडामा प्रशोधन गर्दै आएको छ । पछिल्लो समय दूध ल्याएका संस्थाले प्रशोधित दुग्धजन्य पदार्थ बिक्री नभएर लैजान छाडेपछि भण्डारमा थन्किएसँगै राख्ने ठाउँको अभावमा उद्योग बन्द भएको थियो । प्रबन्धक पराजुलीका अनुसार रु ७५ करोडभन्दा बढीको प्रशोधन गरिएका नौनी र धुलो दूध भण्डारणमा थन्किएको छ । पाँच सय टन नौनी घ्यू भण्डारणमा रहेको भन्दै उहाँले उद्योगमा तीन सय र ५०–५० टनका तीनवटा चिस्यान केन्द्र तथा तिनका चार प्यासेज घ्यूले भरिएका जानकारी दिनुभयो । पाउडर दूधले गोदाम, क्यान्टिन, घ्यू तथा दही बनाउने ठाउँ, चिनीको गोदाम, कपडा फेर्ने ठाउँ सबै भरिएको छ । विसं २०६४ मा स्थापना गरिएको उक्त उद्योग विसं २०७२को विनाशकारी भूकम्पपछि बन्द भएको थियो । विसं २०७५ देखि उद्योगले डेरी र सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्ने काम गरिरहेको छ । प्रतिलिटर पाउडर दूधको रु एक सय १३ र घ्यू ९बटर० को प्रतिकिलो रु ५५ लिएर उद्योगले प्रशोधन गर्दै आएको छ । एकतीसवटा डेरी उद्योग, निजी फार्म र सहकारीको दूध भण्डारण भएर बसेको छ । अब दूध ल्याउनेले सामग्री तयार भएसँगै तुरुन्तै लैजाने शर्तमा काम गर्न थालिएको हो । पछिल्लो समय दूधको खपत नहुँदा किसान समस्यामा परेका छन् । उद्योग सञ्चालन भएसँगै केही हदसम्म किसान लाभान्वित हुनेछन् । रासस