मारूती सिमेन्टको व्यापार निरन्तर घट्दो, साढे ५ अर्ब ऋण दबाबमा
काठमाडौं । मारूती सिमेन्टको व्यापार ७१ करोड १० लाखले घटेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०२३ मा कम्पनीको व्यापार सो मात्रा अर्थात १४ प्रतिशतले घटेको हो । आर्थिक वर्ष २०२३ मा कम्पनीले ४ अर्ब ३३ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । जबकी २०२२ मा ५ अर्ब ५ करोड र २०२१ मा ६ अर्ब ९० करोड ८० लाख रुपैयाँ बराबरको व्यापार कम्पनीले गरेको थियो । विगत दुई वर्षको तथ्यांकअनुसार कम्पनीको व्यापार निरन्तर घट्दो क्रममा रहेको देखिन्छ । सन् १९९४ मा स्थापना भएको मारूती सिमेन्टलाई हालको व्यवस्थापनले सन् २००५ मा लिएको थियो । हाल कम्पनीलाई राथी ग्रुप र गोयल ग्रुपका उद्योगी तथा व्यवसायीहरुले व्यवस्थापन गर्दै आएका छन् । कम्पनीको व्यवस्थापकीय टीममा नन्द किशोर राथी, सुनिल खेम्का, दिनबन्दु गोयल, अनुज राथी र शरद गोयल गरी पाँच जना रहेका छन् । कम्पनीमा यी पाँचै जनाको सेयर स्वामित्व बराबर रहेको छ । कम्पनीले हाल उत्पादन र १५ सय एमटीपीडीको क्लिंकर क्षमता र २ हजार एमटीपीडीको ग्रिनडिङ क्षमता भएको सिमेन्ट बिक्री गर्दै आएको छ । नेपालको सिरहाको मिर्चियामा रहेको उक्त कम्पनीले आफ्नो क्लिंकर र ग्रिनडिङ क्षमतालाई वृद्धि गर्दै लैजाने योजना बनाएको छ । कम्पनीले ५ अर्ब ५५ करोड ६५ लाखको ऋणको लागि रेटिङ्ग गराएको छ । कम्पनीले रेटिङ्ग एजेन्सी केयर रेटिङ नेपालमा दीर्घकालीन कर्जाको लागि तीन अर्ब ६५ करोड ८४ लाख र अल्पकालीन कर्जाको लागि एक अर्ब ८९ करोड ८१ लाख रुपैयाँ बराबरको रेटिङ्ग गराएको छ । तर केयर रेटिङले दुबै कर्जाको रेटिङ्गलाई ‘वाच विथ नेगेटिभ इम्प्लिकेशन’ मा राखेको छ । जसले क्रेडिट मूल्याङ्कनमा डाउनग्रेड हुने सम्भावना बढी रहेको बुझाउँछ । यससँगै कम्पनीको उक्त साढे ५ अर्बको ऋण दबाबमा रहेको देखिन्छ ।
सामाजिक सुरक्षा कोषको कार्यान्वयन तहमा देखिएका समस्याका सम्बन्धमा अन्तरक्रिया
विराटनगर । सामाजिक सुरक्षा कोषको परिवर्तित व्यवस्था र कार्यान्वयन तहमा देखिएको समस्या एवं समाधानका सम्बन्धमा कोषका प्रतिनिधि, उद्योगी व्यवसायीबीच अन्तरक्रिया भएको छ । उद्योग संगठन मोरङको आयोजना तथा सामाजिक सुरक्षा कोषको समन्वयमा भएको छलफलमा संगठनका अध्यक्ष राकेश सुरानाले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आवद्ध उद्योगी व्यवसायीले कार्यान्वयन तहमा भोगेका समस्या समाधान गरि नीतिगत स्पष्टता कायम गर्नुपर्ने धारणा राखे । उनले कोषका माध्यमबाट प्रदान गर्दै आएको स्वास्थ्य बिमा सुविधामा परिवारका अन्य आश्रितलाई पनि समेटी दायरा फराकीलो पार्न अनुरोध गरे । त्यसैगरी उद्योगी व्यवसायीलाई समेत सामाजिक सुरक्षाको प्रत्याभूत हुने गरी कोष स्थापना हुनुपर्नेमा अध्यक्ष सुरानाले जोड दिए । कार्यक्रमका कोषका निर्देशक उत्तमराज नेपालले कोषको कानुनी आधारहरुलाई समय सापेक्ष सुधार गरी सामाजिक सुरक्षालाई व्यापक र प्रभावकारी बनाउदै लगिने बताए । उनले कोषमा आवद्ध भएका सबैको सामाजिक जोखिम न्यूनिकरण गरी सामाजिक सुरक्षाको सुनिश्चित गर्ने कार्यमा कोष प्रतिवद्ध रहेको स्पष्ट पारे । कार्यान्वयन तहमा देखिएका कतिपय व्यवहारिक समस्यालाई कोषले आगामी सहज बनाउदै आश्रित परिवारका दायरा थप फराकिलो वनाउने दिशामा कार्य भईरहेको निर्देशक नेपालले जनाए । उद्योग प्रतिष्ठान र सेवा प्रदायक अस्पतालका प्रतिनिधिहरुको सहभागितामा भएको अन्तरक्रियामा उद्योगी व्यवसायीले औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना, दुर्घटना सुरक्षा योजनाका व्यवस्थाको सेवा उपभोगको क्रममा भोग्नु परेको समस्या समाधानका लागि कोषलाई सेवा प्रदायक अस्पतालहरुसंग समन्वय गर्न अनुरोध गरे ।
बजारमा माग बढाउन सरकारले सहयोग गर्नुपर्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको अर्थतन्त्रको बाह्य क्षेत्र सन्तुलित भए पनि बजारमा माग कम भएकाले अर्थतन्त्र चल्न नसकेको बताए । बिहीबार मोरङ उद्योग व्यापार संघको ६७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सो कुरा बताएका हुन् । उनले बजारको माग बढाउन सरकारले सहयोग गर्नु पर्ने बताए । सरकारले लगानी सम्मेलनअघि संशोधन गर्ने भनेको कानुनलाई पनि संशोधन गर्नुपर्ने उनले औंल्याए । उनले समयमै संशोधन नभए यसले सम्भावित लगानीकर्तामा नकारात्मक सन्देश जाने बताए । ढकालले महासंघको सुझावमा १२ वटा ऐन नियम संशोधनको प्रस्ताव गरिएको जानकारी दिए । संशोधनपछि केही जटिल विषय सम्बोधन हुने उनले बताए । ढकालले व्यवसायीलाई दिइँदै आएको सहुलियतपूर्ण कर्जा सुविधा बन्द गरिएको उल्लेख गर्दै सहुलियतपूर्ण ऋण सुविधा पुनः सञ्चालन गर्न सरकारलाई आग्रह गरे । सुविधा ठप्प हुँदा उद्यमशीलतामा असर परेको उनले बताए । उनले आन्तरिक माग कम हुँदा निर्यात गरेर र बढी पर्यटक भित्र्याएर माग बढाउनुपर्ने तर निकासीमा दिइने अनुदान रोकिएको बताए । यस हिसाबले अहिले निर्यातमा प्रोत्साहन नहुने उनले बताए । उनले पूँजीगत खर्च बढाउन र ठेकेदारको बाँकी बक्यौता पनि तिर्न सरकारलाई आग्रह गरे । सरकारले व्यवसायीहरुको मनोबल बढाउनु पर्नेमा अध्यक्ष ढकालले जोड दिए । यसैबीच अध्यक्ष ढकालले मोरङ उद्योग व्यापार संघले चेम्बर आन्दोलन र देशको आर्थिक विकासमा पुर्याएको योगदानका लागि बधाई दिए । उनले मोरङ उद्योग व्यापार संघले यस क्षेत्रमा उद्यमशीलता प्रवर्द्धन, साना तथा मझौला उद्योगलाई टेवा पुर्याउन र व्यवसायको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न निर्णायक भूमिका खेलेको उल्लेख गरे । सो अवसरमा मोरङ उद्योग व्यापार संघका अध्यक्ष नवीन रिजालले कर्जाको ब्याजदर घटाउन सहयोग पुर्याएकोमा ढकाल र महासंघलाई धन्यवाद दिए । तर, बजारको माग कम भएकाले व्यवसायीले केही समस्या भोग्नु परेको जानकारी गराए । बजारमा छिट्टै सुधार आउने र अर्थतन्त्रले गति लिने उनको भनाइ थियो । मोरङ उद्योग व्यापार संघलाई पहिले मोरङ व्यापार संघ भनिन्थ्यो । संस्थाको नाममा यो परिवर्तन बिहीबार गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य तथा प्रतिनिधिसभा सदस्य शेखर कोइराला थिए ।