अल्लो उद्योगमा ३५ बढी महिलालाई रोजगारी

दाङ । तिलकुमारी पुनले घोराही उपमहानगरपालिका–१३ मा अल्लो व्यवसाय सञ्चालन गरेकी छन् । ‘विश्वासिलो अल्लो धागो तथा कपडा उद्योग’मार्फत उनले व्यवसाय गर्दै आएकी छन् । ४० वर्षिया पुनको घरमा बुवा, आमा, दाई र आफूसहित दुई दिदीबहिनी छन् । आफ्नै खुट्टामा उभिएर स्वरोजगार बन्दै जाँदा बिहे गर्नुपर्छ भन्ने सोचसमेत नआएको उनले बताइन् । विसं २०५७ मा पूर्वी रुकुमबाट दाङ बसाइँ सरेर आएकी पुनले घोराही–१३ मा सञ्चालन गरेको व्यवसायबाट प्रशस्त आम्दानी गर्दै आएकी छन् । सानै उमेरदेखि अल्लो उद्यममा लागे पनि व्यावसायिकरूपमा विसं २०७३ देखि लागेको पुनले जानकारी दिइन् । उनका अनुसार अहिले उद्योगमा ३५ जना बढी स्थानीय महिलाले रोजगार पाएका छन् । उद्योगमा आबद्ध महिला आजभोलि सेवार खोलामा घरेलु प्रविधिबाट प्रशोधन गर्नका लागि जङ्गलमा पाइने अल्लोलाई पानीमा पकाउने, कमेरो माटो लगाउने, घाममा सुकाउने, पिट्नेलगायत काम गर्दै आएका छन् । यी सबै प्रक्रिया पूरा गरेपछि मात्रै धागो काट्नका लागि भुवा तयार हुन्छ । उद्योगमा काम गर्दै आएका महिलालाई उद्योगका प्रमुख तिलकुमारीले आठ घण्टा काम गरेबापत दैनिक ५ सय रुपैयाँ दिने गरेको बताइन् । आवश्यक कच्चापदार्थ दार्चुला, अछाम, बाजुराबाट ल्याउने गरेको उनको भनाइ छ । आफ्नो व्यवसायबाट पूर्ण सन्तुष्टि रहेको बताउँदै उनले वार्षिक ५ लाख रुपैयाँ आम्दानी गर्दै आएको जानकारी दिइन् । अल्लोको कपडामात्रै हैन धागो बेचेर पनि राम्रो आम्दानी भएको उद्यमी पुनले बताइन् । ‘कपडा तयार गर्नसके थोरै धागोबाट राम्रै आम्दानी हुन्छ,’ उनले भनिन्, ‘धागो दाङसहित जिल्ला बाहिर बिक्ने गरेको छ ।’ तयारी कपडा पनि राम्रो बिक्री हुने गरेको भन्दै अल्लोको धागो काठमाडौं र भारतसम्म पठाउने गरिएको उनले जानकारी दिइन् । ‘पहिले घरधन्दामै दिन बित्थ्यो,’ अर्का उद्यमी मनमाया रोकाले भनिन्, ‘अहिले घरको सबै काम सकेर पनि उद्यमले दिएको रोजगारले राम्रो आम्दानी भइरहेको छ ।’ ७० वर्षीया मनमायाले आफूजस्ता धेरै महिलाले फुर्सदको समय सदुपयोग गर्दै आएको बताइन् । बसेर काम गर्दा धेरै दुःख नहुने उनको अनुभव छ । घरमै खाली बसिरहनुभन्दा आफ्नो खर्च आफैँ काम गरेर जुटाउन सफल भएको भन्दै रोकाले खुसी व्यक्त गरिन् । उनका अनुसार उद्योगमा अल्लोबाट कोट, ब्याग, जुत्ता, सललगायत सामग्री पनि उत्पादन हुने गरेको छ । अल्लोको धागोलाई सुकाउने र पकाउने सबै काम मिलेर गर्ने गरेको अल्लो उद्योगमा काम गर्दै आएकी घोराही–१८ का भूमिका रोकाले बताइन् । आजभोलि छोराछोरीको वार्षिक परीक्षा सकिएको हुँदा खाली समयमा यही उद्योगमा काम गर्दै आएको उनको भनाइ छ । खाली समयको पनि सदुपयोग हुने र कमाइ हुने हुँदा आफूजस्ता धेरै स्थानीय महिलालाई सहज भएको रोकाले बताइन् । उनका अनुसार देशका विभिन्न सहरमा सञ्चालन हुने मेला महोत्सवमा प्रदर्शनीका लागि पनि यहाँका उद्यमीले अल्लोका कपडा लैजाने गर्छन् । उद्योगमार्फत अन्य दिदीबहिनीलाई पनि खाली समयको सदुपयोग गर्दै स्वरोजगारमा जोड्न पाएका पुनको भनाइ छ । उद्योगमा काम गर्दा आर्थिक आम्दानी हुनुका साथै खाली समयको समेत सदुपयोग भइरहेको उद्योगमा सहभागी महिलाको भनाइ छ । अर्काको देशमा दुःख पाउनुभन्दा स्वदेशमा स्वरोजगार बन्न आवश्यक रहेको पुनले बताइन् । महिलालाई स्वरोजगार बनाउन स्थानीय सरकारले विशेष योजना तथा कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिइन् ।

जापानमा फस्टाउँदै नेपाली रेष्टुरेन्ट व्यवसाय

टोकियो । जापानमा नेपाली मौलिक खानाको परिकारसहित सञ्चालनमा आएका रेष्टुरेन्ट व्यवसाय फस्टाउँदै गएको पाइएको छ । राजधानी टोकियोका अधिकांश रेल स्टेशनमा सञ्चालित रेष्टुरेन्टमा समेत दाल, भात, गुन्द्रुकको अचारसहितको खानाको स्वाद लिन पाइन्छ । जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) का पदाधिकारीसँग केही समयअघि भएको भेटमा जापानमा हाल करिब आठ हजारको सङ्ख्यामा नेपाली रेष्टुरेन्ट सञ्चालनमा रहेको जानकारी दिए । वैदेशिक रोजगारीका सिलसिलामा सुरुआती दिनमा भारतीयद्वारा सञ्चालित रेष्टुरेन्टमा भान्सेका रुपमा पुगेका नेपाली नागरिक पछिल्लो समय आफैँ उक्त व्यवसाय सञ्चालन गर्दैआएका छन् । अहिले नेपाली रेष्टुरेन्ट सञ्चालकले उल्टै ठूलो सङ्ख्यामा भारतीय र पाकिस्तानी नागरिकलाई रोजागारी प्रदान गरेको पाइएको छ । नेपालीले जापानका विभिन्न ठाउँमा कम्पनीकारुपमा रेष्टुरेन्ट खोल्ने र नेपालबाटै कामदार मगाउने क्रमसँगै जापानमा नेपाली रेष्टुरेन्टको सङ्ख्या ह्वात्तै बढेको छ । रेष्टुरेन्टमा काम गर्ने नेपाली भान्सेको मासिक सरदर न्यूनतम रु एक लाख ५० हजारसम्म कमाइ हुने गरेको छ । नेपाली व्यवसायीले लगानी र सञ्चालनका आधारमा मुनाफा प्राप्त गर्दैआएका छन् । पछिल्लो समय जापानमा एउटै नेपालीले २० वटासम्म रेष्टुरेन्ट सञ्चालन गर्दैआएको पाइएको छ । त्यसभन्दा कम रेष्टुरेन्ट सञ्चालन गर्ने नेपाली व्यवसायीको सङ्ख्या उल्लेख्य रहेको छ । रेष्टुरेन्ट व्यवसायीले नेपालबाट कामदार मगाउँदासमेत शुल्क लिने गरेकाले यो व्यवसाय दोहोरो रकम आर्जनको माध्यम बनेको छ । जापानमा रेष्टुरेन्ट व्यवसायमा देशका अरु भागको तुलनामा खासगरी बागलुङ, पर्वत, स्याङ्जा, गुल्मी, अर्घाखाँचीलगायतका जिल्लाका बासिन्दा बढी संलग्न छन् । विदेशमा रहेर पनि नेपाली परिकार खान पाइने भएकाले साँझ र बिहान त्यस्ता नेपाली रेष्टुरेन्टमा नेपालीको उपस्थिति बाक्लो देख्न पाइन्छ । नेपाली रेष्टुरेन्टमा ८० प्रतिशत ग्राहक भने जापानी नै हुने गरेको पाइएको छ । नेपाली रेष्टुरेन्टमा भारतीय खाना ‘नान’ र ‘करी’ पनि उत्तिकै लोकप्रिय छ । जापानमा अध्ययनका सिलसिलामा आएका हजारौँ विद्यार्थी पनि आफ्नो पढाइ सकिएपछि रेष्टुरेन्ट व्यवसायमा संलग्न हुने गरेका गैरआवासीय नेपाली समाजका अभियन्ता भुषण घिमिरे बताउँछन् । जापानको टोकियोमा होस् वा ओकिनावामा, यहाँ सञ्चालित रेष्टुरेन्ट व्यवसायका माद्यमबाट नेपाली कला, संस्कृति, वेशभूषा, खानपान र भाषाको प्रवर्द्धनमा उलेख्य योगदान पुगेको छ । रेष्टुरेन्टको नाम पनि रातोमाटो, नमस्ते, एभरेष्ट, गोधुली, मनकामना, लुम्बिनी, निम्तो, चिनो, आँगन, हार्दिक र चमेलीजस्ता नेपाली मौलिक नाम राखिएको पाइन्छ । त्यसो त कतिपय जापानी रेष्टुरेन्टको अग्रभागमा काम गर्नेसमेत नेपाली नै रहेका हुन्छन् । हाल जापानमा अध्ययनसहित विभिन्न पेसा व्यवसायमा रहने नेपालीको सङ्ख्या करिब एक लाख ६३ हजार रहेको छ । दालभात, तरकारीका अलवा कोदो र फापरको ढिँडो, मःमजस्ता परिकार तथा ब्यञ्जनले नेपाली खानालाई जापानमा परिचित बनाएको छ । अहिले जापानमा रेष्टुरेन्ट व्यवसायी, भान्से अथवा ‘वेटर’मात्र नभई विभिन्न क्षेत्रमा स्थापित रही ख्याति कमाउनेको सङ्ख्या पनि थुप्रै छ । टोकियो होस् वा अरु कुनै सहरका रेष्टुरेन्टमा फहराइएको नेपाली झण्डाले मुलुकको चिनारी र पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याइरहेको सहजै अनुमान गर्न सकिन्छ । नेपाली रेष्टुरेन्टमा तयार हुने चिकेन, मटन, छोइला, हल्का पेयपदार्थ जापानी युवायुवतीमाझ लोकप्रिय बन्न पुगेको छ । जापानमा अध्ययनरत नेपाली विद्यार्थीलाई पनि साँझ÷रातिको समय मिलाएर त्यस्ता रेष्टुरेन्टमा काम गर्ने अवसर मिलेको छ । उनीहरुले त्यो समयमा काम गरेबापत अतिरक्ति आम्दानीसमेत प्राप्त गर्दै आएका छन् । होकाइडोदेखि ओकिनावासम्म त्यस्ता नेपाली रेन्टुरेन्ट छयाप्छाप्ती छन् । जापानमा कुनै पनि कम्पनी खोलेपछि रेष्टुरेन्टलगायत व्यवसाय सञ्चालन गर्न सहज हुने गर्छ । कम्पनीअन्तर्गत अधिकांशले सजिलोका लागि रेष्टुरेन्टलाई नै लिने गरेको पाइएको छ । जापानमा ५० लाख रुपैयाँ ऐन धरौटी राखेपछि कम्पनी खोल्न पाइन्छ । जापानमा लगानीअनुरूप खाना खुवाएबापत रेष्टुरेन्टबाट राम्रै आम्दानी प्राप्त हुने भए पछि नेपालीहरुमा रेष्टुरेन्ट सञ्चालनको मोह बढेको हो । पछिल्लो समय यस व्यवसायमा प्रतिस्पर्धा भएसँगै खानाको गुणस्तर र दररेट भने खुम्चिएको पाइएको छ । टोकियोको सिञ्जुस्थित सिनोगुवोमा नेपाली नागरिक बसोबास गर्ने तथा रेष्टुरेन्ट सञ्चालन गरिएको क्षेत्र हो । जापानीमा भात नै रेष्टुरेन्टको एउटा मुख्य मेनु भएकाले नेपाली रेष्टुरेन्टमा दालभात तरकारी नै प्रायः खाने गरेको पाइन्छ । जापानमा सञ्चालनमा रहेका रेष्टुरेन्टमा कम्तीमा तीनदेखि पाँच जनासम्म कामदारले रोजगारीको अवसर प्राप्त गरेको पाइएको छ । जापानमा कुनै पनि कामदारलाई मासिक एक लाख ८० हजार रुपैयाँभन्दा कम तलब दिन मिल्दैन । तर, नेपालबाट भर्खर गएका र आवश्यक सीप हाँसिल गरिनसकेका ‘वेटर’ले भने सालाखाला एक लाख ३० हजार रुपैयाँ तलब सुविधा प्राप्त गरेको पाइयो । अरु स्थानका तुलनामा टोकियो महँगो सहर भएकाले यहाँका ग्रामीण क्षेत्रमा काम गर्नेको कमाइ बढी हुने गरेको छ । सिनोकुवामा रेष्टुरेन्टका सबै मेनुमा नेपाली खाना रहने गरी खोलिएको भूषण घिमिरेको नेपाली मःम रेष्टुरेन्ट पनि त्यस क्षेत्रको लोकप्रिय रेष्टुरेन्टको सूचीमा छ । नेपाली रेन्टुरेन्टमा ग्राहकले नेपाली खानाको मूल्य एक हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्म तिर्ने गरेको पाइयो । एउटा रेष्टुरेन्टले सामान्य हिसाबले सञ्चालन गर्न मासिक न्यूनतम ३० लाख रुपैयाँसम्मको कारोबार गर्नुपर्छ । नेपाली खानाका अतिरिक्त जापानी, भारतीय, थाईलैण्ड र भियतनामका परिकार पनि त्यस्ता रेष्टुरेन्टमा बढी पाइन्छ । ठूला महल र व्यापारिक चोकमा भाडा तथा खाना महँगो पर्छ । होटल तथा विभिन्न कम्पनीमा काम गर्ने नेपाली महिलाको सङ्ख्या पनि उल्लेख्य छ । टोकियोको मध्यभागमा नेपाली मौलिक परम्परागत काठ र रातोका सामग्रीबाट सजावट गरिएको रातोमाटो रेष्टुरेन्टका सञ्चालक शिवहरि पौडेलले आफ्नो रेन्टुरेन्टमा नेपाली परिकारको स्वाद लिन युवायुवतीको बाक्लो उपस्थिति रहने गरेको प्रतिक्रिया दिए । जापानमा पछिल्लो समय रेष्टुरेन्टलगायतका व्यवसाय बढेको र आफूले १२ नेपालीलाई रोजगारी प्रदान गरिरहेको अभियन्ता घिमिरे बताउँछन् । एक दशकअघिसम्म जापानको कमाइले नेपालका ठूला सहरमा घरजग्गा किन्न सकिने भएपनि पछिल्लो समय भने नेपालमा बढेको महँगीले सकस भएको उनको भनाइ छ । पछिल्लो समय नेपालमा भएको महँगी र बेरोजारीको समस्याले अप्ठ्यारोमा पारेको अभियन्ता घिमिरे बताउँछन् । विदेशबाट फर्केका कैयौँ नेपाली स्वदेश फर्किएपछि पुनः विदेशिन परेका प्रशस्त उदाहरण छन् । जापानमा रहेका विदेशीमध्ये छैटौं ठूलो जनसङ्ख्या नेपाली रहेको तथ्यांक छ । जापानमा रहेका नेपालीमा सबैभन्दा बढी विद्यार्थी छन् । नेपाल र जापानबीच सन् १९५६ सेप्टेम्बर १ तारिखमा औपचारिकरुपमा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । तर करिब डेढ सय वर्षअघिदेखि नै दुवै देशबीच सम्बन्ध ऐतिहासिक र प्रगाढ रहीआएको छ । नेपालको विकासमा सहयोग गर्ने मुलुकमा जापान अग्रस्थानमा पर्छ । रासस

उद्योगी व्यवसायीले अर्थतन्त्र सकारात्मक छ भन्ने सन्देश दिन जरुरी छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीहरुले अर्थतन्त्रको सकारात्मक सन्देश दिनसके अर्थतन्त्र तत्काल लयमा आउने बताएका छन् । शुक्रबार नेपाल निर्माण व्यवसायी महासंघको हेटौँडामा भएको २५ औं वार्षिक साधरण सभामा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले उद्योगी व्यवसायीहरुले मनोवल कमजोर भयो, व्यवसायी वातावरण भएन भन्दा पनि सकारात्मक रुपमा सोच्न आवश्यक रहेको बताए । उनले मुलुकभरका उद्योगी व्यवासायीहरुलाई मुलुकको अर्थतन्त्र सकारात्मक दिशामा रहेको सन्देश दिनसके छोटो समयमा व्यवसायीहरुले चाहेको जस्तो आर्थिक विकास हुनसक्ने विश्वास व्यक्त गरे । अब उद्योगी व्यवसायीहरुले निरासको मात्रै कुरा गरेर, व्यवसायिक वातावरण छैन भनेर निरास हुन आवश्यक नभएको बताए । मुलुकको वाह्य अर्थतन्त्र विदेशी विनिमय सञ्चिति, रेमिट्यान्स, पर्यटक वृद्धि र बैंकमा तरलता सकारात्मक रहेको जानकारी दिए । अध्यक्ष ढकालले सरकारले आगामी बजेट र मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले निर्माण क्षेत्रमा निश्चित प्रतिशत लगानी गर्नुपर्ने अनिवार्य व्यवस्था गर्न माग गरे । बैंक तथा वित्तीय संस्थाहरुले कृषि, जलविद्युत लगायत अन्य क्षेत्रमा जस्तै निर्माण क्षेत्रमा पनि प्राथमिकताका साथ लगानी गर्ने व्यवस्था गर्दा विकास निर्माण चलायमान हुनसक्ने जानकारी दिए । ‘बैंक तथा वित्तीय संस्थाहरुले लगानी गर्ने प्राथमिक क्षेत्रहरु छन् । ती क्षेत्रहरु बाहेक निर्माण क्षेत्रलाई पनि प्राथमिकतामा राख्नुपर्छ । बैंकहरुले कृषिमा १५,जलस्रोतमा १० प्रतिशत भन्ने छ । त्यस्तै निर्माण क्षेत्रमा पनि लगानी गर्नको लागि बैंक र बीमाहरुको फण्डहरु छ । मुलुकको वाह्य अर्थतन्त्र विदेशी विनिमय सञ्चिती, रेमिट्यान्स, पर्यटक वृद्धि र बैंकमा तरलता सकारात्मक रहेको छ । व्यवसायीहरुले नकारात्मक भन्दा पनि सकारात्मक सन्देश दिनसक्दा मात्रै व्यवसायीहरुले चाहेको आर्थिक विकास हुनसक्छ’, उनले भने । नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले मुलुकको वाह्य अर्थतन्त्रमा सुधार आएपनि आन्तरिक अर्थतन्त्रमा सुधार हुन नसकेको बताए । उनले मागमा वृद्धि र निजी क्षेत्रको मनोवल पनि माथि उठ्न नसकेको अवस्थाले उद्योगी व्यवसायीहरुले नयाँ लगानीका योजनाहरु अघि बढ्न नसकेको जानकारी गराए । उनले निजी क्षेत्रको मनोबल बढाउन र अर्थतन्त्र चलायमान बनाउन मौद्रिक नीति थप लचिलो बनाउनुपर्ने आवश्यकता रहेको बताए । सरकारले पुँजीगत खर्च बढाएर अर्थतन्त्रलाई गतिशिलता दिन आवश्यकता रहेको उल्लेख गरे । अर्थतन्त्र चालयमान बनाउन सक्ने उपाय प्रभावकारी बजेट कार्यान्वयन भएको भन्दै प्रभावकारी बजेट कार्यान्वयनबाट पुँजीगत खर्च बढ्ने र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने धारणा राखे । उपाध्यक्ष पाण्डेले सरकारले पुँजीगत खर्च बढाउन नसक्दा विकास निर्माणका काम अघि बढ्न नसकेको दाबी गरे । उनले चालु आर्थिक वर्षको ८ महिना पूरा हुँदा पनि पुँजीगत खर्च ३० प्रतिशत भन्दा माथि नगएको बताए । ‘मुलुकको वाह्य अर्थतन्त्रमा सुधार आएको छ । तर वाह्य अर्थतन्त्रमा सुधार आएपनि आन्तरिक अर्थतन्त्रमा सुधार हुनसकेको छैन । अर्थतन्त्र चालयमान बनाउन सक्ने उपाय भनेको प्रभावकारी बजेट कार्यान्वयन हो । सरकार आगामी वर्षको बजेट बनाउन जुटेको छ । आगामी बजेटले स्वदेशी उद्योगहरुलाई प्रवद्र्धन गर्ने रणनीति लिनुपर्छ । स्वदेशी उद्योगहरुको प्रवद्र्धन गर्दै स्वदेशी उत्पादनमा आत्मनिर्भर हुन आगामी बजेट कोषेढुङ्गा सावित हुनेगरी आउनुपर्छ’, उनले भने । उनले निर्माण व्यवसायीहरुले पाउनुपर्ने रकम भुक्तानी भए अर्थतन्त्र चलायमान बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । सरकार आगामी वर्षको बजेटमा स्वदेशी उद्योगहरुलाई प्रवद्र्धन गर्ने रणनीति लिनुपर्नेमा जोड दिए । स्वदेशी उद्योगहरुको प्रवद्र्धन गर्दै स्वदेशी उत्पादनमा आत्मनिर्भर हुन आगामी बजेट कोषेढुङ्गा सावित हुनुपर्ने परिसंघको माग रहेको बताए ।