व्यवसायीको एउटै स्वर : शून्य कर सुविधा हुँदा पनि निर्यात बढेन
काठमाडौं । नेपालती व्यवसायीहरूले अमेरिका निर्यात हुने ७७ वस्तुमा हुँदै आएको कर छुट सुविधालाई निरन्तरता दिन आग्रह गरेका छन् । अमेरिका निर्यात हुने ७७ वस्तुमा कर छुटको सुविधा नेपालले पाइरहेको छ । २०१५ मा भूकम्प गएसँगै अमेरिकाले नेपालका वस्तु निर्यात प्रवर्द्धन गर्नका लागि ७७ वस्तु निर्यात गर्दा शून्य महशुल लगाउने नीति ल्याएको थियो । जुन सुविधा अर्को वर्ष (सन् २०२५मा) सकिँदैछ । उक्त सुविधा सकिनुअघि नै व्यवसायीहरूले म्याद थप गर्न सरकारसमक्ष आग्रह गरेका हुन् । नेपालमा नेपाली वस्तु तथा सेवा निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको ‘व्यापार एवं लगानीसम्बन्धी सम्झौता’ (टिफा) परिषद्को बैठकमा उक्त प्रस्ताव लैजान व्यवसायीले आग्रह गरेका छन् । काठमाडौंमा आयोजित नेपाल–अमेरिका व्यापार र लगानी अवसर र चुनौती विषयक कार्यक्रममा बोल्दै सरोकारवालाहरूले अमेरिकामा निर्यात बढाउन भन्साररहित सुविधाको निरन्तरता आवश्यक रहेको बताएका छन् । कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ, तयारी पोसाक संघ, नेपाल–अमेरिका चेम्बर अफ कमर्स, यूएसएड र निर्यात महासंघले संयुक्त रूपमा आयोजना गरेको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा अत्यधिक माग भएका नेपाली तयारी पोशाकलाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम थप गर्न सरकारले पहल गर्नुपर्ने बताए । उनले अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम (एनटीपीपी)मा समावेश ७७ वस्तुमा तयारी पोशाकलगायत अमेरिकामा अत्यधिक माग भएका वस्तु थप गर्न आवश्यक रहेको बताएका छन् । अध्यक्ष ढकालले अमेरिकाले नेपाललाई नेपाल ट्रेड प्रिफेरेन्स प्रोगाम (एनटीपीपी) अन्तर्गत विभिन्न ७७ प्रकारका नेपाली वस्तु अमेरिका निर्यात गर्दा शून्य भन्सार महशुल सुविधा प्रदान गर्दै आएको बताए । उनले नेपाल र अमेरिकाबीच व्यापारमा चुनौतीहरू रहेको बताउँदै एनटीपीपीबाट नेपालले उच्च प्रतिफल लिन नसकेको दाबी गरे । उनले (एनटीपीपी) को म्याद २०२५ डिसेम्बरमा सकिन लागेको भन्दै म्याद थपको लागि पहल गर्न आवश्यक रहेको उल्लेख गरे । ‘७७ वस्तु अमेरिका निर्यात गर्दा शून्य महशुल छ । २०१६ बाट सुरु भएकाे २०२५ डिसेम्बरमा सकिँदै छ’, अध्यक्ष ढकालले भने, ‘नेपालबाट धेरै निर्यात हुने वस्तुमा सूचीमा नपरेको गुनासो आएको छ भने छुटको अवधि नै सकिन लागेकाले आगामी टिफा बैठकमा हाम्रा विषय स्पष्ट राख्नुपर्छ ।’ उनले अल्पविकसितबाट विकासोन्मुख मुलुकमा २०२६ मा स्तरोन्नति हुँदा नेपाललाई हुने फाइदा र बेफाइदाका विषयमा छलफल गर्न आवश्यक देखिएको धारणा राखे । उनले नेपालबाट निर्यात हुने वस्तु गलैंचा पहिलो नम्बरमा रहेको भन्दै नेपाली तयारी पोशाकमा ७७ प्रतिशतबाट खुम्चिएर १४ प्रतिशतमा झरेको बताए । उनले नेपाली तयारी पोशाकको माग अमेरिकामा दिनप्रतिदिन बढी रहेको पनि दाबी गरे । अमेरिकामा नेपालले निर्यात गर्ने वस्तुमा गलैंचा बढी छ । अहिले दोस्रो वस्तुको रूपमा तयारी पोसाक छ । पछिल्लो समय छुर्पीको समेत निर्यात बढ्दै गएको छ । तयारी पोसाक धेरै निर्यात गर्ने बंगलादेशमा राजनीतिक अस्थिरता हुँदा त्यहाँको उद्योगमा असर पर्न थालेको अध्यक्ष ढकाल बताउँछन् । त्यस्तै, नेपाल–अमेरिका वस्तु व्यापारबारे बोल्दै डा. पारस खरेलले केही वर्षअघि २०० मिलियन डलर रहेकोमा २०२२ मा १५० मिलियन डलरमा सीमित रहेको उल्लेख गरे । नेपालबाट लुगाको व्यापार घट्दा कार्पेट, पस्मिना बढे पनि तयारी पोसाक लगायतको निर्यात घट्दा समग्र व्यापार घटेको उनले बताए । ‘अमेरिका भारतपछि नेपालको दोस्रो ठूलो बजार हो । नेपालबाट निर्यात हुने दुई तिहाइ वस्तु महशुल लाग्दैन’, उनी भन्छन्, ‘अमेरिकाले नेपाली वस्तु निर्यातमा छुट दिए पनि बढाउन सकिएको छैन । घट्दै गएको छ ।’ अमेरिकामा अहिले निर्यात हुने केही टेक्सटाइल र जुत्ताहरूमा कर लगाइरहेको डा. खरेलले बताए । नेपाल अमेरिका व्यापार बढाउने जीएपी, नेपाल ट्रेड प्रिफेरेन्स प्रोग्राम, टिफा काउन्सिल भए पनि निर्यात वृद्धि गर्न नसकेको उनको भनाइ छ । नेपालले २२३ वस्तु निर्यात गर्न सक्ने देखिएको बताउँदै त्यसमा ७५ वस्तुमा मात्रै बढी कर रहेको उनले बताए । ‘कर लाग्ने वस्तुमा औसतमा ११–१२ प्रतिशत कर लाग्ने रहेको छ । यी वस्तुमा अफ्रिकाबाट आयात हुँदा कर छुट रहेको छ’, उनी भन्छन्, ‘आगामी टिफा बैठकमा अरू देशले पाएका छुट नेपालले पनि पाउने माग राख्नुपर्छ ।’ महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अमेरिकामा निर्यात वृद्धि गर्न थप प्रयास गर्न आवश्यक रहेको बताए । अमेरिका निर्यात हुने केही सामानहरूमा शून्य करमा हुँदा पनि तिनीहरूको निर्यात बढाउन नसकेको उनले बताए । ‘शून्य करमा सामानहरू निर्यातको सुविधा हुँदासमेत हामीले उल्लेख्य मात्रामा निर्यात बढाउन सकेनौं,’ उनी भन्छन्, ‘निर्यात बढनउनको लागी जीएपी र एनटीपीपी सुविधालाई निरन्तरता दिन एकदमै जरुरी छ ।’ त्यस्तै, नेपाल तयारी पोसाक संघका अध्यक्ष पशुपतिदेव पाण्डेले अहिले अमेरिकासँग पैरवी गर्ने उपयुक्त समय भएकाले सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए । उनले भने, ‘केही सम्झौताहरू भए तर तिनिहरूको निरन्तरता भएन निरन्तरता दिन जरुरी छ ।’ नेपाल–अमेरिका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष किरण साखले निर्यात बढाउनुका साथ साथै व्यापारका लागि सहायता कार्यक्रममा पनि जोड दिनुपर्ने बताए । त्यस्तै, कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण रावतले निजी क्षेत्रको सुझावअनुरूप अमेरिकासँग छलफल गरिने बताए । आन्तरिक उत्पादनलाई विशेष जोड दिनुपर्ने आवश्यक्ता रहेको उनकाे भनाइ छ । साथै उनले निर्यात बढाउने उदेश्यले पुराना विद्येकहरू संशोधन गर्ने काम पनि मन्त्रमलयले गरिरहेको उनले बताए । ‘पुराना विद्येकहरू अहिलेको समय सान्दर्भिक भएनन् । त्यसैले निर्यात बढाउने उदेश्यले कानुनहरू परिमार्जन गरिरहेका छौं, ‘ उनले भने । त्यस्तै, प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले अमेरिकामा सुविधाको निरन्तरताका लागि सदन र अन्य सम्बन्धित ठाउँमा पहल गर्ने बताएका छन् । साथै उनले कार्यक्रममा उठेका जिज्ञाशा र प्रश्नहरूलाई मन्त्रालयले गम्भीर रूपमा लिएको पनि बताए ।
भन्साररहित सुविधाको निरन्तरताका लागि सरकार र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्छ: ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात बढाउन भन्साररहित सुविधाको निरन्तरता हुनुपर्ने बताएका छन् । महासंघ, तयारी पोशाक संघ, नेपाल अमेरिका चेम्बर अफ कमर्श, युएसएड र निर्यात महासंघले संयुक्त रूपमा आयोजना गरेको नेपाल-अमेरिका व्यापार र लगानी अवसर र चुनौती विषयक कार्यक्रममा उनले उक्त धारणा राखेका हुन् । अमेरिकाले सन २०१६ मा भूकम्पपछि ७७ वटा वस्तुमा दिएको भन्साररहित सुविधा आगामी वर्ष सकिन लागेको र आगामी साता आयोजना हुने व्यापार एवं लगानी सम्बन्धी सम्झौता (टिफा ) परिषदको बैठक महत्त्वपूर्ण रहेको उनको धारणा थियो । उक्त बैठकमा सुविधाको निरन्तरता र हाल निलम्बनमा रहेको जिएसपी सुविधाको निरन्तरतालाई प्राथमिकता दिइनुपर्ने अध्यक्ष ढकालको भनाइ थियो । यसैगरी, नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भैरहेको समयमा भन्साररहित सुविधाको निरन्तरताका लागि सरकार र निजी क्षेत्रले संयुक्त रूपमा काम गर्नुपर्नेमा उनकाे जोड थियो । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण रावतले निजी क्षेत्रको सुझावअनुरूप अमेरिकासँग छलफल गरिने बताए । प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले अमेरिकामा सुविधाको निरन्तरताका लागि सदन र अन्य सम्बन्धित ठाउँमा पहल गर्ने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले अमेरिकामा निर्यात वृद्धि गर्न थप प्रयास गर्न आवश्यक भएको बताए । नेपाल तयारी पोशाक संघका अध्यक्ष पशुपतिदेव पाण्डेले अहिले अमेरिकासँग पैरवी गर्ने उपयुक्त समय भएकाले सरकारले विशेष प्राथमिकता दिनुपर्नेमा जाेड दिए । त्यस्तै, नेपाल–अमेरिका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष किरण साखले निर्यात बढाउनुका साथ साथै व्यापारका लागि सहायता कार्यक्रममा पनि जोड दिनुपर्ने बताए । नेपाल र अमेरिकाबीच सन २०११ मा टिफा सम्झौता भएको थियो । यो सम्झौताको खाका भएको हुँदा द्विपक्षीइ लगानी र व्यापारका लागि सम्झौत गर्नका लागि यसले आधार तयार पार्ने अपेक्षा गरिएको थियो । तर हालसम्म कुनै उपलब्धि हुन सकेको छैन । हाल सुविधा गुम्ने अवस्था आएको हुँदा अमेरिकाको निर्यात घट्न सक्नेमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य हो ।
व्यवसायीहरूले भने- अमेरिकामा निर्यात बढाउँछौं, भन्साररहित सुविधालाई निरन्तरता दिनुपर्छ
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अमेरिकामा निर्यात कायम राखि आगामी दिनमा बढाउनका लागि भन्साररहित सुविधाको निरन्तरता महत्वपूर्ण रहेको बताएका छन् । महासंघ, तयारी पोशाक संघ, नेपाल अमेरिका चेम्बर अफ कमर्श, युएसएड र निर्यात महासंघले संयुक्त रुपमा आयोजना गरेको नेपाल अमेरिका व्यापार र लगानी अवसर र चुनौति विषयक कार्यक्रम उनले यस्तो बताएका हुन् । अमेरिकाले सन २०१६ मा भुकम्पपछि ७७ वटा वस्तुमा दिएको भन्साररहित सुविधा आगामी वर्ष सकिन लागेको र आगामी साता आयोजना हुने व्यापार एवं लगानी सम्बन्धि सम्झौता (टिफा) परिषदको बैठक महत्वपूर्ण रहेको उनले बताए । उक्त बैठकमा सुविधाको निरन्तरता र हाल निलम्बनमा रहेको जिएसपी सुविधाको निरन्तरतालाई प्राथमिकता दिनुपर्ने उनले बताए । नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नति भैरहेको समयमा भन्सार रहित सुविधाको निरन्तरताका लागि सरकार र निजी क्षेत्रले संयुक्त रुपमा काम गर्नुपर्नेमा अध्यक्ष ढकालले जोड दिए । कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण रावतले निजी क्षेत्रको सुझाव अनुरुप अमेरिकासँग छलफल गरिने बताए । प्रतिनिधिसभा सदस्य गणेश पराजुलीले अमेरिकामा सुविधाको निरन्तरताका लागि सदन र अन्य सम्बन्धित ठाउँमा पहल गर्ने बताए । महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले अमेरिकामा निर्यात वृद्धि गर्न थप प्रयास आवश्यक रहेको बताए । नेपाल तयारी पोशाक संघका अध्यक्ष पशुपतिदेव पाण्डेले अहिले अमेरिकासँग पैरवी गर्ने उपयुक्त समय भएकाले सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताए । नेपाल–अमेरिका चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीका अध्यक्ष किरण साखले निर्यात बढाउनुका साथै व्यापारका लागि सहायता कार्यक्रममा जोड दिनुपर्ने बताए । निर्यात व्यवसायी महासंघ नेपालका अध्यक्ष शंकर पाण्डेले अमेरिका तर्फको निर्यातको मात्रा बढाउन आवश्यक भएकोमा जोड दिए । नेपाल र अमेरिकाबीच सन २०११ मा टिफा सम्झौता भएको थियो । यो सम्झौताको खाका भएको हुँदा द्धिपक्षीय लगानी र व्यापारका लागि सम्झौत ागर्नका लागि यसले आधार तयार पार्ने अपेक्षा गरिएको थियो । तर हालसम्म कुनै उपलब्धि हुन सकेको छैन । हाल सुविधा गुम्ने अवस्था आएको हुँदा अमेरिकाको निर्यात घटन सक्नेमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन । अमेरिका नेपालको दोस्रो ठूलो निर्यात गन्तव्य हो ।