त्यसपछि सुरु भयो हिमाली अल्लो तथा सुती कपडा उद्योग…

काठमाडौं । सङ्खुवासभाका कुलुङ दम्पती यतिबेला चितवन उद्योग सङ्घको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालित तिजविशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलामा अल्लोको कपडा बेच्नमा व्यस्त छन् । आफ्नै उद्योगमा अल्लोको धागोबाट आफैँले बनाएको कोट, टोपी र झोला बेच्न उनीहरू सङ्खुवासभाबाट चितवन आएका हुन् । चितवन उद्योग सङ्घ महिला उद्यमी मञ्चको निमन्त्रणा पाएपछि आफ्नो व्यवसाय प्रवर्द्धन गर्नुका साथै चितवन पनि घुम्न पाइन्छ भनेर मनकला कुलुङ र उनका श्रीमान् देवेन्द्र कुलुङले चितवन आउने निधो गरेका हुन् । मनकलाले भनिन्, ‘हाम्रो खाँदबारीमा अल्लो व्यवसायी सङ्घ छ । यहाँबाट निमन्त्रणा गएको रहेछ । यसपालि हामी आउने निर्णय भयो, त्यहीअनुरुप आएका हौँ । पहिलोपटक चितवन आएर आफ्नो उत्पादन प्रदर्शन गरी बेच्न पाउँदा निकै खुसी लागेको छ ।’ सिलिचोङ गाउँपालिका पाङसिम्मा स्थायी घर भएका कुलुङ परिवारको अहिले सङ्खुवासभास्थित खाँदबारी नगरपालिका–७ नयाँबजारमा अल्लोको कपडा बनाउने उद्योग छ । मनकलाले सानै उमेरदेखि अल्लोको कपडा बुन्ने काम गर्थिन् । त्यसैको जगमा उनी आज एक व्यवसायी बन्न सफल भएकि छिन् । उनले सुनाइन्, ‘म सानो छँदा मेरो दिदीले गाउँमै अल्लोको कपडा बनाउने गर्नुहुन्थ्यो, त्यहीँ बेला दिदीसँग मैले पनि यो बुन्न सिकेकी थिएँ । पछि विवाह भयो । अनि यसैमा काम गर्न थाले ।’ पहिले मनकलाले गाउँमै रहेका साना उद्योगमा काम गर्दै आइन् । श्रीमान् देवेन्द्र पनि गाउँमै जडीबुटीलगायत काम गर्थे । जब उनीहरूको सन्तानको जन्म भयो तब गाउँको कमाइले घर चल्न र बच्चा पढाउन पुग्लाजस्तो लागेन । गाउँमा बच्चा पढाउने विद्यालयको असुविधाका कारण उनीहरु सदरमुकाम खाँदबारीतर्फ लागे । सदरमुकाम आएर जेनतेन यही काम अरूको उद्योगमा गर्दै आएकी मनकलालाई आफैँ व्यवसायी बनेर उद्योग खोल्ने मन भयो । त्यसो त उक्त निर्णयमा उनका श्रीमानको साथ र आफन्तको सहयोग पनि रह्यो । अनि सुरु भयो, ‘हिमाली अल्लो तथा सुती कपडा उद्योग’ । कुलुङ दम्पतीसँग उद्योगमा सुरुमा धेरै लगानी गर्ने पैसा थिएन । सरसापट र आफूहरूसँग भएको अलिअलि गरी रु एक लाखजति लगानी गरेर सानो उद्योग दर्ता गरेर काम सुरु गरेको मनकला बताउँछिन् । उनी भन्छिन्, ‘कच्चा पदार्थ गाउँमै पाइन्छ । नपुग भएमा छिमेकी जिल्ला सोलुखुम्बुबाट पनि ल्याउँछौँ, अहिले व्यापार राम्रै चलेको छ ।’ अल्लो एक प्रकारको सिस्नोको प्रजाति हो । यो विशेष गरेर मङ्सिर र पुसमा टिप्ने गरिन्छ । सुरुमा जङ्गलमा गएर अल्लो काटिन्छ । त्यसपछि बोक्रा निकालेर सुकाउने काम हुन्छ । सुकेका बोक्रा फेरि पानीमा भिजाएर खरानीसँग पकाउने काम हुन्छ । खरानीमा पकाएको अल्लोलाई बोक्राको कालो जानेगरी धोएर कमेरो माटोमा घोलेर सुकाउने गरिन्छ । कमेरो पखालेपछि अल्लोको धागो तयार हुन्छ । धागोबाट उद्योगमा विभिन्न प्रकारका चाहेअनुसारका कपडा तयार गरिन्छ । कुलुङ दम्पतीलाई उत्पादन गरेका कपडाको बजार खोज्दै हिँड्न पर्देन । उद्योगबाट महिनाको २०० मिटर कपडा तयार गर्ने गरेको उनीहरुको भनाइ छ । उत्पादीत अल्लोको कपडाको बजार इलाम, ताप्लेजुङ, बिराटनगर, धरान र काठमाडौं हो । मनकलाले भनिन्, ‘फोन गरेर अर्डर गर्नुहुन्छ त्यही अनुसार हामिले कपडा पठाउँछौं बिक्री गर्नका लागि कुनै समस्या छैन ।’ कुनैबेला आफैँ कामदार रहेकी मनकलाको उद्योगमा अहिले चार कर्मचारी छन् । सिजनको बेलामा अन्य कामदार थप्ने गरेको उनी बताउँछिन् । अल्लोको कपडाको खास सिजन असोजदेखि वैशाखसम्म हो । आफू कामदार हुँदा र व्यवसायी हुँदा आकाश–जमिन फरक पाएको मनकलाले सुनाइन् । ‘आफ्नो काम गरेको हिसाब हुँदैन जतिबेरसम्म गरे पनि आफ्नै हो, फाइदा आफैँलाई हो,’ उनले भनिन् । श्रीमानकोे निरन्तर साथ र सहयोग तथा आफ्नो खटाइले आज यो स्थानसम्म आइपुगेको मनकलाले बताइन् । देवेन्द्रले मनकलाको सीप र जाँगरलाई आफूले हौसला थप्ने काममात्र गरेको भन्दै सुनाए ‘सबै योजना उनकै (मनकला) हो ।’ उद्योगबाट ठूलो सपना नबोक्नुभएका कुलुङ दम्पतीलाई यतिबेला छोराछोरीको भविष्य राम्रो बनाउने ध्याउन्न छ । उनीहरूका एक छोरी खाँदबारीमै प्राविधिक विषयमा अध्ययनरत छन् भने छोरा विद्यालयस्तरमा अध्ययनरत छन् । चितवनमा लागेको मेलाको कक्षमा बस्दै गर्दा धेरै अनुभव प्राप्त गरेको कुलुङ दम्पती सुनाउँछन् । देवेन्द्रले भने, ‘धेरैलाई अल्लोको कपडा भनेको थाहा रहेनछ । आउनुहुन्छ हेर्नुहुन्छ अनि जानुहुन्छ ।’ ग्राहक आएर किने पनि नकिने पनि अल्लोको कपडाका बारेमा बुझाउन पाउँदा खुसी लागेको उनले बताए । स्वास्थ्यका लागि लाभदायी हुने अल्लोको कपडा उद्योगलाई आगामी दिनमा थप व्यवस्थित बनाएर लैजाने कुलुङ दम्पतीको योजना छ ।

नेपालमा सम्भावना नभएको भए म जस्तो सामान्य मान्छे नेतृत्वसम्म आइपुग्ने थिइनँ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि उल्लेख्य सम्भावना रहेको बताएका छन् । शुक्रबार काठमाौंमा आयोजित एक कार्यक्रममा बोल्द उनले नेपाल लगानीका लागि सम्भावना नै सम्भावना भएको देश रहेको बताएका हुन् । उनले अहिले नेपालमा केही पनि सम्भावना नै छैन भन्ने भाष्य सिर्जना गरिएको भन्दै उक्त भाष्य सही नभएको बताए । उनले नेपालमा केही पनि सम्भावना नभएको भए आफू जस्तो सामान्य व्यक्ति उद्योग वाणिज्य महासंघको नेतृत्वसम्म नआइपुग्ने बताए । अहिले नेपाल बाहिर रहेका नेपालीहरूले नेपालमा कुनै अवसर नरहेको, सबै नराम्रो रहेको भन्ने सोचलाई मात्रै बढी प्रश्रय दिइरहेको उनकाे भनाइ छ । आम नागरिकहरूलाई विश्वासमा लिएर अघि बढ्नसके नेपालमा प्रचुर सम्भावना रहेको उनले बताए । ‘अहिले एउटा भाष्य बनाइएको छ, नेपालमा केही सम्भावना पनि छैन, यहाँको मान्छे पनि राम्रो छैन, हरेक हिसाबले नेगेटिभ मात्रै सोचाइ छ,’ उनले भने,  ‘तर वास्तविकता त्यो होइन, नेपालमा अवसर छैन, थिएन, नेपालमा सम्भावना नभएको भए हामी जस्तो केही पनि नभएको व्यक्ति निजी क्षेत्रको छाता संगठनको जिम्मेवारी लिन असम्भव थियो ।’ अध्यक्ष ढकालले लगानीको वातावरण नै छैन, कानूनहरू नै ठिक छैन मात्रै भन्ने र संशोधनतिर नजाने हो भने कहिले पनि राम्रो वातावरण बनाउन नसकिने उल्लेख गरे ।

विदेशिएका विद्यार्थी स्वदेश फिर्ता ल्याउनेगरी काम गर्न आग्रह

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले विदेशिएका विद्यार्थीलाई स्वदेश फिर्ता ल्याउनेगरी भूमिका निर्वाह गर्न शैक्षिक परामर्श व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को २८औँ वार्षिकोत्सवका अवसरमा इक्यानलाई भूमिका परिवर्तन गर्न अनुरोध गर्दै मुलुकलाई शैक्षिक हबका रुपमा विकास गर्ने योजनामा सहयोग गर्न आग्रह गरे । ‘पछिल्लो समय नेपालमा केही हुँदैन भन्ने भाष्य स्थापना गर्न खोजिएको छ, अब यो निराशावादी भाष्यलाई चिर्दै सकारात्मक सोचका साथ स्वदेशमै अवसर छ भन्ने ढङ्गले सोच्नु आवश्यक छ,’ उनले भने । मन्त्री भण्डारीले उच्च शिक्षाका नाममा विदेशिएका जनशक्तिले स्वदेशकै माटोमा भविष्य खोज्ने समय आएको समेत बताए । नेपालबाट विभिन्न बाहनामा जनशक्ति र पुँजी पलायनको अवस्था रहेको उल्लेख गर्दै यसलाई रोक्नका लागि शैक्षिक परामर्श व्यवसायीहरूको पनि भूमिका रहने उनको भनाइ छ । ‘सरकार युवा जनशिक्तलाई स्वदेशमै रोक्ने नीतिका साथ अगाडि बढेको छ, यसमा निजी क्षेत्र त्यसमा पनि विशेषगरी इक्यान जस्तो संस्थाको भूमिका महत्त्वपूर्ण हुन्छ, म यहाँहरूलाई त्यसका लागि सरकारको योजनामा साथ दिन आग्रह गर्दछु,’ उनले भने । । सरकारले ‘स्टार्टअप’ लगायत नीतिमार्फत युवालाई स्वदेशमै अवसर छ भन्ने सन्देश दिनेगरी काम गरिरहेको बताउँदै मन्त्री भण्डारीले लगानी सम्मेलनमार्फत विदेशबाट पुँजी र प्रविधि ल्याउनका लागि सरकारले पहल गरिरहेको बताए । सरकारले शैक्षिक परामर्श व्यवसायीहरुको भूमिका बुझेको र यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको समेत जनाए । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले शैक्षिक परामर्श मुलुकको सेवामुलक क्षेत्रमा प्रमुखमध्ये एक भएको बताए । ‘लाखौँ विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश पठाउने र हजारौँलाई रोजगारी दिएको यो सेवामुलक क्षेत्रलाई राज्यले महत्त्वका साथ लिनुपर्छ, यस क्षेत्रका समस्या समाधानका लागि सरकारले साथ दिनुपर्छ, सरकारलाई पनि यस क्षेत्रको साथ र सहकार्य जरुरी छ,’ उनले भने । विदेशबाट विद्यार्थी ल्याउन र नेपाललाई शैक्षिक हब बनाउनका लागि इक्यानले देखाएको चासोमा सरकारले प्राथमिकताका साथ सहकार्य गर्ने उनले बताए ।