ललितपुर उद्योग वाणिज्य संघको ४५ औं साधारणसभा सम्पन्न
काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको ४५ औं साधारणसभा शुक्रबार सम्पन्न भएकाे छ । कार्यक्रम उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे । कार्यक्रममा स्वागत मन्तव्य दिँदै संघका अध्यक्ष विश्व राज बज्राचार्यले रेमिटेन्समा निर्भर देखिएको देशलाई उद्यमशीलता र उत्पादनमुखी बनाउन स्टार्टअप जस्ता नीतिसँगे राज्यका सबै तहबाट नीजि क्षेत्रमैत्री नीतिगत व्यवस्था निर्माणमा सहकार्य गर्नुपर्नेमा जोड दिए । स्वदेशी उत्पादनले विदेशी व्यवसायसँग प्रस्तिपर्धा गर्नसक्ने अवस्थातर्फ डोहाेर्याउन संघले तय गरेको इमान्दारी, संस्थागत नेतृत्व, सान्दर्भिकता र निरन्तरताका ४ खम्बे रणनीतिलाई कार्यान्वयन गर्नुपर्ने उनकाे भनाइ छ । संघका अध्यक्ष बज्रचार्यले उद्योग व्यवसायमा विकास, समृद्ध ललितपुर नारासहित हस्तकला नगरीको पहिचान वृद्धि गर्न जिल्लाका उद्योग तथा उत्पादन क्षेत्रको पहिचान गर्नुपर्नेमा जाेड दिए । संघको वार्षिक अर्थ स्मारिका २०८१ विमोचनपश्चात सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले आर्थिक मन्दीबाट सम्बृद्धिको यात्रामा लाग्न नेपालीहरूमा छाएको निराशावादी भाष्यलाई चिर्न आवश्यक भएको बताए । उनले प्रादेशिक तथा स्थानीय सरकारको सहभागिता भएको साधारणसभाले राज्यका सबै निकायसँग नीतिगत वा अन्य आवश्यक सहकार्यको स्पष्ट आधार तय गरी अगाडि बढ्न सकोस् भनी शुभकामना व्यक्त गरे । प्रतिनिधिसभा सदस्य प्रेम महर्जनले नीतिगत विकाससँगै युवाहरुको नवप्रवर्तन सोच तथा उद्यमशीलतालाई लक्ष्योन्मुख कार्यान्वयनतर्फ सहकार्यमा निजी क्षेत्रको सक्रिय भूमिका रहनेमा जोड दिए । विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिडपछि युक्रेन-रसियाको युद्ध र राज्यको नीतिगत व्यवस्थाको ग्यापले छाएको निराशालाई चिर्न महासंघले विगत डेढ वर्षमा धेरै सकारात्मक कार्य गरेको बताए । विगतमा सम्पन्न लगानी सम्मेलनले ल्याएका करीब ८ वटा नीतिगत परिवर्तनलाई निजी क्षेत्रकै पहलमा नेपालका सबै राजनैतिक दलको समर्थन जुटाउन सफल भएका कारण नेपालमा निजीक्षेत्रमैत्री वैदेशिक लगानीको सम्भावना बढेको उनले बताए । २०२३ चैत्र ४ गते स्थापित ललितपुर उद्योग वाणिज्य संघले ५७ औं वर्षमा प्रवेशको गर्विलो इतिहाससहित निजी क्षेत्रको छाता संगठनको रूपमा ललितपुर जिल्लाको आर्थिक क्रियाकलापमा अग्रणी भूमिका निर्वाह गरिरहेको छ ।
बिआईएसको औपचारिक सुरुवात, अध्ययन अनुसन्धान र कार्यालय व्यवस्थापनमा प्रयोग गरिने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बिजनेस इन्टेलिजेन्स सिस्टम (बीआईएस) को औपचारिक सुरुवात गरेको छ । महासंघका सदस्यहरूको डाटावेस, अध्ययन अनुसन्धान र कार्यालय व्यवस्थापनमा यसको प्रयोग गरिने महासंघले जनाएकाे छ । यस प्रणालीमा महासंघका सदस्यहरूले समेत प्रयोग गर्न सक्नेगरी सम्पूर्ण सदस्यहरूको जानकारी राखिनेछ । महासंघमा अप्रत्यक्ष-प्रत्यक्ष गरी करिब ६ लाख व्यवसाय आवद्ध छन् । ती सदस्यहरूको विवरण यस प्रणालीमा रहनेछ । यसैगरी, नीतिगत सुझाव तयार पार्न वा अन्य आवश्यकताअनुसारको अध्ययन गर्न यस प्रणालीबाट सर्वेक्षण गर्न सकिने महासंघले जनाएकाे छ । नलेज प्ल्याटफर्मका रूपमा महासंघले गरेका अध्ययन र अन्य तथ्यांक र प्रकाशन यस प्रणालीमा राखिनेछ, जुन सर्वसाधारणको पहुँचमा रहनेछ । यो प्रणालीको उद्घाटन गर्दै महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको अध्ययन अनुसन्धान र नीतिगत पैरवीमा यसले सहजता प्रदान गर्ने बताए । सो बीआईएस पोर्टल नेपाल उद्योग वाणिज्य महासंघका लागि एसिया फाउन्डेसन नेपालको प्राविधिक सहयोग र स्मार्ट सोलुसन्स टेक्नोलोजी प्रालिले तयार पारेको हो । राष्ट्रिय वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ।
गम्भीर संकटमा भारतीय हीरा उद्योग, धमाधम मृत्यु रोज्दै व्यवसायी
काठमाडौं । भारतको हीरा क्षेत्रले गम्भीर संकट सामना गरिरहेको छ । पछिल्लो तीन वर्षमा भारतमा हीरा आयात र निर्यात दुवैमा भारी गिरावट आएको छ । यही कारण समयमा भुक्तानी हुन नसक्दा कारखाना बन्द हुन पुगेको र ठूलो संख्यामा रोजगारी गुमेको आर्थिक अनुसन्धान संस्थान जीटीआरआईले जानकारी दिएको छ । इकोनोमिक रिसर्च इन्स्टिच्युटले विज्ञप्ति जारी गर्दै निर्यात आम्दानी बढे पनि अर्डरमा गिरावट र प्रयोगशालाबाट उत्पादन हुने हीराको बढ्दो प्रतिस्पर्धाले प्रशोधन नगरिएका ‘रफ’ हिराको मौज्दात बढ्दै गएको जनाएको छ । ग्लोबल ट्रेड रिसर्च इनिसिएटिभ (जीटीआरआई) का संस्थापक अजय श्रीवास्तवले भने, ‘यसले भुक्तानी नहुने, फ्याक्ट्री बन्द र ठूलो मात्रामा रोजगारी गुमाएको छ । दुःखको कुरा, गुजरातको हीरा उद्योगसँग सम्बन्धित ६० भन्दा बढी व्यक्तिले आत्महत्या गरेका छन्, जसले भारतको हीरा उद्योगमा परेको गम्भीर आर्थिक र भावनात्मक तनावलाई झल्काउँछ ।’ यी समस्या समाधान गरी यस क्षेत्रको भविष्य सुरक्षित गर्न तत्काल पहल गर्नुपर्ने उनको भनाइ छ । इकोनोमिक रिसर्च इन्सिच्युटको तथ्यांकअनुसार सन् २०२१/२२ मा रफ हीरा आयात १८ अर्ब ५० करोड अमेरिकी डलरबाट २०२३/२४ मा १४ अर्ब ५० करोड डलरमा झरेको छ । यो २४.५ प्रतिशत गिरावटले कमजोर विश्वव्यापी बजार र न्यून प्रशोधन आदेश (अनुबन्ध) प्रतिविम्बित गर्छ । संस्थापक श्रीवास्तकले रुस–युक्रेन द्वन्द्वले विश्वव्यापी हिरा आपूर्ति शृङ्खलालाई पनि असर गरेको बताए । प्रमुख रफ हीरा उत्पादक रुसविरुद्धको प्रतिबन्धले व्यापारलाई अझ जटिल बनाएको छ र विश्वव्यापी हीराको व्यापार सुस्त बनाएको छ । श्रीवास्तवले प्रयोगशालाबाट उत्पादन भएको हीराको बढ्दो उपभोक्ता मागले प्राकृतिक हीराको मागलाई असर गरिरहेको बताए । प्रयोगशालामा उत्पादन गरिएको हीरा अधिक किफायती र टिकाउ हुन्छन् भन्ने विश्वास गरिन्छ । जीटीआरआईले दुबईले हीरा उत्पादन गर्दैन, तर पनि भारतको रफ हीरा आयातमा यसको हिस्सा निरन्तर बढिरहेको बताएको छ । दुबईले बोत्स्वाना, अंगोला, दक्षिण अफ्रिका, रुसबाट रफ हीरा आयात गर्छ र त्यसपछि भारतमा निर्यात गर्छ । भारतीय हीरा उद्योगमा हीरा काट्ने, पालिस गर्ने र निर्यात गर्नेजस्ता विभिन्न गतिविधिमा संलग्न ७ हजारभन्दा बढी कम्पनी छन् । -एजेन्सी