सञ्चालनको ६ महिनामै हायात प्लेस बुटवललाई तीनवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

बुटवल । नेपालको लुम्बिनी प्रदेशस्थित पर्यटकीय सहर बुटवलमा सञ्चालित हायात प्लेस बुटवलले सञ्चालनको छोटो अवधिमै तीनवटा प्रतिष्ठित अवार्ड हासिल गरेको छ ।  सञ्चालनमा आएको ६ महिनाभित्रै यस होटलले ‘होटेल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसन’ र ‘वर्ल्डवाइड बेस्ट होटल डट कम’ द्वारा प्रदान गरिने तीनवटा प्रतिष्ठित अवार्डहरू हात पार्न सफल भएको हो । नेपालको उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्यु २०२६, नेपालको उत्कृष्ट होटल अवार्ड २०२६ र नेपालको उत्कृष्ट जनरल म्यानेजर अवार्ड प्राप्त गरेको हो । साधारणतया कुनै पनि होटललाई बजारमा स्थापित हुन र राष्ट्रिय–अन्तर्राष्ट्रिय पहिचान बनाउन वर्षौं लाग्ने गरे पनि हायात प्लेस बुटबलले ६ महिनाको कम उमेरमै सफलता हासिल गरेको हो ।  सम्मानले होटलको विश्वस्तरीय पूर्वाधार, सेवाको गुणस्तर र कुशल व्यवस्थापनलाई प्रमाणित गरेको महाप्रबन्धक तुषार नागरले जानकारी दिए । उनका अनुसार विशेष गरी ‘डेस्टिनेशन वेडिङ भेन्यु’ अवार्डले होटलको भव्य ब्यांक्वेट सुविधा र विवाह जस्ता विशेष समारोहलाई यादगार बनाउने कलालाई उच्च मूल्यांकन गरिएको छ । बुटवलको मुटुमा अवस्थित यस होटलले व्यापारिक तथा पर्यटकीय उद्देश्यले आउने पाहुनाहरूलाई लक्षित गर्दै आधुनिक सुविधाहरू प्रदान गर्दै आएको छ । यो अवार्डसँगै बुटवल क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप मद्दत पुग्ने र यसले नेपालकै हस्पिटालिटी उद्योगमा नयाँ आयाम थप्ने विश्वास नागरको छ ।

फ्लाई नेपा ट्राभल्सलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ अवार्ड

काठमाडौं । नेपाली पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्दै आएको फ्लाइ नेपा ट्राभल एन्ड टुर्सले प्रतिष्ठित ‘विङ्स अण्डर फोर्टी’ अवार्ड अन्तर्गत ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ सम्मान प्राप्त गरेको छ । कम्पनीका संस्थापक तथा प्रबन्ध निर्देशक विनोद अधिकार को नेतृत्वमा नेपालको पर्यटन प्रवद्र्धनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रभावकारी रूपमा प्रस्तुत गरेको भन्दै उक्त सम्मान प्रदान गरिएको हो ।  काठमाडौंस्थित होटल लो मुस्ताङमा आयोजित विशेष कार्यक्रममा अवार्ड वितरण गरिएको थियो । कार्यक्रमको आयोजना ग्लोबल एक्रिडेसन काउन्सिलले गरेको थियो भने सहआयोजकका रूपमा यात्रा म्यागजिन थियो । कार्यक्रममा पर्यटन, आतिथ्यता तथा ट्राभल क्षेत्रमा योगदान पु¥याएका ४० वर्षमुनिका युवा उद्यमीहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो। फ्लाई नेपाले आधुनिक डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय प्रवद्र्धन उपकरण र सिर्जनात्मक अभियानमार्फत नेपाललाई विश्व पर्यटन बजारमा प्रभावकारी रूपमा चिनाउन सफल भएको भन्दै कम्पनीलाई ‘बेस्ट इन ट्राभल मार्केटिङ्’ अवार्ड प्रदान गरिएको आयोजकले जनाएको छ ।  करिब एक दशकअघि स्थापना भएको फ्लाई नेपा ट्राभल्स एण्ड टुर्सले नेपाल भ्रमण, सांस्कृतिक कार्यक्रम, अन्तर्राष्ट्रिय कन्सर्ट तथा पर्यटन प्रवद्र्धनात्मक गतिविधिमार्फत नेपाललाई विश्वसामु चिनाउँदै आएको छ । विशेषगरी अमेरिका र क्यानडामा आफ्नो उपस्थिति विस्तार गरिसकेको कम्पनीले सन् २०२६ मा दुबईमा समेत कार्यालय स्थापना गर्दै आफ्नो अन्तर्राष्ट्रिय सञ्जाल विस्तार गरेको जनाएको छ । अवार्ड ग्रहणपछि प्रबन्ध निर्देशक विनोद अधिकारीले युवा उद्यमशीलता र पर्यटन क्षेत्रको नवप्रवद्र्धनलाई सम्मान गरिएकोमा आयोजकप्रति आभार व्यक्त गरे । उनले नेपालको पर्यटनलाई विश्व बजारमा अझ सशक्त रूपमा स्थापित गर्ने लक्ष्यसहित आगामी दिनमा थप प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।  आधुनिक प्रविधि, अन्तर्राष्ट्रिय पहुँच र नयाँ सोचमार्फत काम गर्दै आएको फ्लाई नेपा ट्राभल्स एण्ड टुर्स नेपाली पर्यटन उद्योगको उदीयमान तथा प्रेरणादायी ब्रान्डका रूपमा स्थापित हुँदै गएको कम्पनीको दाबी छ ।   

नेपाल प्याराग्लाइडिङको प्रिमियर लिग धरानमा जारी

काठमाडौं । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग सुरु गरेको छ । सुनसरीको धरान उपमहानगरपालिका-१४ मा शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग वैशाख २८ गतेसम्म सञ्‍चालन हुनेछ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल पर्यटन बोर्डका निमित कार्यकारी प्रमुख हिकमत सिंह ऐर, धरान उपमहानगरपालिकाकी पूर्व उपमेयर मन्जु भण्डारीले संयुक्तरुपमा यस पहिलो प्याराग्लाइडिङ प्रिमियर लिगको उद्घाटन गरेका हुन् ।   धरान–४ छोटी मोरङस्थित प्याराग्लाइडिङ उडानस्थलमा आयोजित समारोहमा नेपाल ,भारत, बंगलादेशका ३२ जना खेलाडीहरुको सहभागिता रहेको यस लिगका संयोजक भोपाल च्यमलुडले जानकारी दिएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले प्रदेशमा साहसिक पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै भने, 'प्याराग्लाइडिङ र माउन्टेनियरिङ जस्ता खेलले साहसिक खेल पर्यटनको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने छ ।’   धरान र आसपासका क्षेत्रलाई प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य सरकारको रहेको मुख्यमन्त्री कार्कीको पनि भनाई थियो । उनले नयाँ आर्थिक वर्षदेखि पर्यटन वर्ष र भ्रमण वर्षलाई जोडेर प्याराग्लाइडिङसहित १० भन्दा बढी विधाका अन्तर्राष्ट्रिय खेल प्रतियोगिता आयोजना गर्ने तयारी भइरहेको बताए । कार्यक्रममा सहभागी भारतीय खेलाडी पाइलटहरूलाई स्वागत गर्दै मुख्यमन्त्री कार्कीले नेपाल र भारत, विशेषगरी सिक्किम बीचको भाषिक तथा सांस्कृतिक निकटताले दुई देश बीचको सम्बन्ध अझ प्रगाढ बन्ने विश्वास व्यक्त गरे । त्यसैगरीका नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख ऐरले यस किसिमका साहसिक खेल गतिविधिले कोशी प्रदेशको पर्यटनलाई महत्वपूर्ण योगदान गर्ने बताए । उनले भने, 'प्याराग्लाइडिङमार्फत् संसारको शिखर सगरमाथा, मकालु, ल्होत्सेजस्ता हिमालहरुको दृश्यावलोकन गर्न सकिने हुँदा पर्यटकको रोजाइमा पर्ने विश्‍वास व्यक्त गर्दछु । नेपाल पर्यटन बोर्डले यसको प्रबर्द्धनका लागि अन्तर्राष्ट्रियस्तरको प्याराग्लाइडिङ खेल प्रतियोगिता आयोजनाका लागि भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गर्दछु ।' धरान उपमहानगरपालिकाकी पूर्व उपमेयर मन्जु भण्डारीले छोटी मोरङ क्षेत्रमा प्याराग्लाइडिङका लागि उपयुक्त उडान बिन्दु पहिचान गरिएको जानकारी दिएकी छन् । प्राविधिक अध्ययनपछि तत्कालीन कार्यपालिकाले उक्त क्षेत्रलाई आधिकारिक उडान तथा अवतरण विन्दुका रूपमा निर्धारण गरेको उनको भनाई थियो । प्रतियोगितामा अन्तर्राष्ट्रिय खुला, पुरुष र महिला तथा राष्ट्रियतर्फ पुरुष र महिला गरी पाँच विधामा प्रतिस्पर्धा भइरहेको आयोजकले जनाएको छ । प्रतियोगीतामा १८ औँ एसियाली खेलकुदमा पदक जितेका खेलाडीहरू पनि सहभागी छन् ।