छाया सेन्टरको व्यापार ९० करोड, आईपीओको मूल्य ४ सय

काठमाडौं । ठमेलस्थित छायादेवी कम्प्लेक्स (छाया सेन्टर)को व्यापारमा वृद्धि आएको छ । पाँच तारे होटल र व्यावसायिक मल समेत रहेको छायादेवी कम्प्लेक्स लिमिटेडले सन् २०२५ मा ९० करोड ४० लाख रुपैयाँ बराबरको कारोबार हो । कम्पनीले गत वर्षको भन्दा ६.३५ प्रतिशत अर्थात् ५ करोड ४० लाख रुपैयाँ बढी व्यापार गरेको हो ।  जबकि सन् २०२४ मा कम्पनीले ८५ करोड रुपैयाँको कारोबार गरेको थियो । यस्तै, सन् २०२३ मा ८३ करोड ७० लाख रुपैयाँ, सन् २०२२ मा ८४ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्प्लेक्सको कुल क्षेत्रफलमध्ये ५१ प्रतिशत क्षेत्र होटल सञ्चालनको लागि छुट्याइएको छ भने बाँकी क्षेत्र व्यावसायिक परिसरको लागि छुट्याइएको छ । जनवरी २००८ मा स्थापना भएको छायादेवी कम्प्लेक्सले १६७ कोठा भएको पाँचतारे होटल अलफ्ट सञ्चालक गरिरहेको छ ।  छायादेवी कम्प्लेक्सको सञ्चालक समिति अध्यक्ष पृथ्वीबहादुर पाँडे छन् । उनी नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष समेत हुन् । यस्तै, कम्पनीको सञ्चालकमा सुमन बिक्रम पाण्डे, सहृदराज घिमिरे र महेश प्रकाश श्रेष्ठ रहेका छन् ।  कम्पनी जुन २५, २०२१ मा पब्लिक लिमिटेडमा रुपान्तरण भई आईपीओ निष्काशनको प्रक्रिया समेत अघि बढाइसकेको छ । छायादेवी कम्प्लेक्सले अंकित मूल्य १०० रुपैयाँमा ३०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४०० रुपैयाँका दरले आईपीओ जारी गर्ने भएको हो ।  कम्पनीले १४ लाख ३७ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा समेत आवेदन दिइसकेको छ । कम्पनीले आईपीओ जारी गरेर सर्वसाधारणबाट ५७ करोड ५० लाख रुपैयाँ संकलन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धमा प्रभु क्यापिटल रहेको छ । पौने २ अर्ब रुपैयाँ बैंकको ऋण  कम्पनीले कम्प्लेक्स निर्माणका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट पौने २ अर्ब रुपैयाँ ऋण लिएको छ । कम्पनीले निर्माणका लागि विभिन्न बैंकबाट २ अर्ब ऋण लिए पनि विस्तारै चुक्ता गरेर हाल १ अर्ब ८५ करोड रुपैयाँमा झारेको छ ।  पछिल्लो तथ्याङ्क अनुसार कम्पनीले १ अर्ब ८० करोड ७० लाख रुपैयाँ दीर्घकालीन र ४ करोड ३० लाख रुपैयाँ अल्पकालीन गरी कुल १ अर्ब ८५ करोड रुपैयाँ ऋण चुक्ता गर्न बाँकी छ । रेटिङ कम्पनी सेयर रेटिङ नेपालले दीर्घकालीन ऋणका लागि त्रिपल बी माइनस र अल्पकालीन ऋणका लागि ए ३ रेटिङ प्रदान गरेको छ ।

हायात होटलको बीमा शिखर इन्स्योरेन्समा, क्षतिको विवरण आउन बाँकी

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी) को बीमा शिखर इन्स्योरेन्समा रहेको पाइएको छ । हायातले लामो समयदेखि शिखरमा बीमा गर्दै आएको शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपप्रकाश पाण्डेले जानकारी दिए।  पाँचतारे होटल हायात गत भदौको जेनजी आन्दोलनका कारण क्षतिग्रस्त बन्न पुग्यो ।  होटलले बीमा दाबी गरिसकेको र अहिले क्षतिको मूल्याङ्कन गर्ने कार्य चलिरहेको हुँदा कति दाबी पर्छ भनेर तत्काल भन्न नसकिने सीईओ पाण्डेले बताए ।  होटलले केही दिनअघि नै विज्ञप्ति जारी गरेर एक वर्षसम्म सञ्चालनमा आउन नसक्ने कुरा जानकारी दिइसकेको छ । होटलका अनुसार जेनजी आन्दोलनकारीहरूले होटलमा तोडफोड, लुटपाट तथा आगजनी गर्दा अतिथि कक्ष, कार्य कक्ष, रिसेप्सन, लबी, रेष्टुरेन्ट, ब्यांकेट, चैत्यलगायत संरचनामा ठूलो क्षति पुगेको छ । 

बाक्लो सङ्ख्यामा देखिन थाले चितवन राष्ट्रिय निकुञ्जमा बाघ

चितवन । सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले प्रत्यक्ष बाघ अवलोकन गर्ने अवसर पाए । गत साता हल्याण्डका पर्यटकले पनि बाघ देखेपछि उत्साहित हुँदै खुशी व्यक्त गरेका थिए ।  पर्यटक र निकुञ्जका कर्मचारी, सुरक्षाकर्मीले पनि हिजोआज विगतका तुलनामा बढी बाघ देख्न थालेका छन् । लामो समय निकुञ्ज बन्द रहेर जीप सफारी खुलेसँगै वन्यजन्तुको गतिविधि बढेकाले पर्यटकले देख्न पाएका हुन् ।  सौराहस्थित वनबास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपानेका अनुसार दिनभर निकुञ्जको जीप सफारीमा निस्किएका पर्यटकले बाघ देखेर फर्किएपछि खुशी हुँदै प्रतिक्रिया दिने गरेका छन् । दुर्लभ एकसिङ्गे गैंडासहित बाघ देखेपछि पर्यटक निकै रमाउने गर्दछन् ।      सोमबार भिम्ले पोष्ट नजिकै बेलायती जोडीले बाघ देखेपछि खुशी भएर ‘टिप्स’ दिएको पथ प्रदर्शक सरोज चौधरीले बताए । उनले भने, 'बाघ देखेपछि स्वदेशी र विदेशी दुवै पर्यटक निकै खुशी हुन्छन् ।' ठाउँठाउँमा बाघ देखिन थालेपछि घुम्न आउने पर्यटक उत्साहित हुने गरेको चौधरी बताउँछन् ।      निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले पर्यटक र कर्मचारीहरुले हिजोआज बाघसहितका वन्यजन्तु धेरै देख्ने गरेको बताए । उनले ढड्डीहरु सुकेर सुख्खापन बढ्दै गएपछि निकुञ्ज खुल्ला हुने र थप वन्यजन्तु देख्न सकिने बताए ।      यस वर्ष यहाँ बाघ गणना गरिँदै छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघ १२८ वटा छन् । आहारा प्रजातिको सङ्ख्या बढ्दै जाँदा बाघको सङ्ख्या पनि बढ्दै गएको छ । रासस